हाम्राे बारे


अहिलेको युग सूचना प्रबिधिको हो । सूचना विना हाम्रो जीवन नै अधुरो हुन्छ । हामीलाई दैनिक काम, खानपीन, मनोरञ्जन र आरामको जरुरत पर्छ, त्यस्तै सूचनाको पनि पर्छ । देशभित्र र बाहिर, प्रदेश, जिल्ला र गाउँ तथा शहरमा के के भइरहेको छ यसको चासो हरेकलाई हुने गर्दछ । देश र दुनियामा भए गरेका घटनाहरुका सूचना त धेरैले दिदै आएका पनि छन् । तर हामी त्यसका अतिरिक्त दुर दराजका गाउँहरुका सूचना पनि खोज्ने जमर्कोमा छौं ।
सूचनाले हाम्रो जीवनमा ठूलो अर्थ राख्छ । सूचनाको हकका ग्यारेन्टी हाम्रो संविधानले नै गरेको छ । सूचनाप्रविधिको पछिल्लो विकास क्रममा नागरिकहरुलाई सूचना दिन अनलाइन पत्रकारिता सबैभन्दा छिटो र भरपर्दो माध्यम बनेको छ । मुलुक संघीयतामा गएसंगै विकास र समृद्धि अब हामी सबैको मुख्य र साझा एजेण्डा हो । सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई अक्षुण्ण राख्दै देश विकास र नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने अभियानमा हामी पनि जोडिएका छौं ।
कुनै युग थियो, पशुपक्षीलाई सूचना आदन प्रदानको माध्यम बनाइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । अहिले विश्वका कुनै पनि कुनामा भएका घटनाबारे क्षणभरमै थाहा पाउन सकिन्छ । कुटवाल, छापाखाना, आकाशवाणी, रेडियो टेलिभिजन हुँदै अहिले मोबाइल र इन्टरनेटको विकास भइसकेको छ । सूचना प्रििधको विकासले सिंगो विश्व नै एउटा घर भएको छ ।

भौगोलिक रुपमा लमजुङ मध्यपहाडी क्षेत्रमा र मनाङ जिल्ला हिमाली जिल्ला हो । लमजुङ सरकारको दृष्टिमा सुगम जिल्लामा परे पनि कतिपय गाउँहरु अझै विकट छन्, सबै ठाउँमा यातायात र सञ्चारको पहुँच पुग्न सकेको छैन । मनाङ झन हिमालपरीको जिल्ला हो । विकासको रेखामा भर्खरै बामे सर्ने जमर्कोमा छ ।
यी दुवै जिल्लामा अथाह सम्भावना छ । कृषि, जडिबुटी, जलश्रोत र पर्यटन यहाँका सम्भावना हुन् । यी सम्भावना उजागर गरी विकासको पथमा लैजान पहल गर्ने र यहाँका नागरिकहरुलाई समृद्धिको दिशामा अघि बढ्न प्रेरित गर्ने जमर्को स्वरुप हामीले यो अनलाईनको विकास गरेका छौं ।
अहिले मुलुक संघीय संरचनामा गैसकेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई नागरिकहरुका कुरा पु¥याउनु र सरकारका कुराहरु जनसमक्ष ल्याउनु हाम्रो कर्तब्य हो । परिआएमा सरकार र जनतालाई समेत झकझकाउनु हाम्रो कर्तब्य हुनेछ ।
अनलाइन पत्रकारिता समयको माग हो । यही मागलाई दृष्टिगत गर्दै हामीले लमजुङ मनाङ डटकम अनलाइन सञ्चालनमा ल्याएका छौं । यस अनलाइनमार्फत देश र दुनियाका सूचना तपाइँहरुसमक्ष प्रस्तुत गर्ने जमर्कोमा हामी छौं । यो तपाइँकै अनलाइन हो, यसमा तपाइँ पनि प्रत्यक्ष जोडिन सक्नुहुन्छ । तपाइँ र तपाइँको ठाउँमा घट्ने हरेक घटना र प्राप्त हुने सूचना तथा गतिबिधिहरु उपलब्ध गराइ सहयोग गर्न सक्नुहुन्छ । हामीले दिने सूचना तथा सामग्रीहरु पढेर मूल्यवान सुझावहरु दिनु हुनेछ भन्ने आशामा छौं ।