क्याल्कुलेटर (बालकविता)

-रमेशचन्द्र घिमिरे

हिसाब गर्थे बाजेले अौँला भाँचेर

हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर

`यति मुरी धान भयो कोदो यति पाथी

यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´

अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले

कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ

जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि

हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी

`सर, मिसले दिनुभा´को गृहकार्य टन्न

सकेपछि भन्छु एेले सक्तिनँ म भन्न´

यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ

क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ

बाहिर अाई भनेँ -`बल्ल गृहकार्य भ्याएँ

धान-कोदोको हिसाब पनि मिलाएर ल्याएँ´

हजुरबाले सोध्नुभयो- `कसो गरिस् तैँले´

तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले

भनेँ मैले -`उत्तर मिल्यो साह्रै छक्क परेँ

हो हजुर्बा मैले पनि त्यसै त्यसै गरेँ´

लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो

अौँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो

´ हाँसी-हाँसी भन्नुभयो `क्याल्कुलेटर झिक्

तेरो मिसिनभन्दा बरु मेरै बुद्धि ठीक्´

-भोर्लेटार, लमजुङ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *