पर्यटनलाई आर्थिक सम्वृद्धिसँग जोड्नुपर्छ : रक्षामन्त्री पोखरेल

शान्ता कमली

लमजुङ, २३ वैशाख

रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सम्वृद्धि र विकासका लागि पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सार्क राष्ट्रको नमूना पर्यटकीय घलेगाउँको १९ औं ‘घलेगाउँ महोत्सव’को आइतबार उद्घाटन पछि यस्तो बताएका हुन् । मन्त्री पोख्रेलले जनताको जिवनस्तर उकास्न, जीवनलाई सुखी बनाउन, आर्थिक विकास र सम्वृद्धिलाई पर्यटसँग जोड्दै सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
‘अब जुनसुकै पार्टीले पनि जनताको जीन्दगीलाई सुखी बनाउने हो ।’ उनले भने, ‘अब सबै मिलेर जनताको सम्वृद्धि र विकासको लागि एकजुट भएर लाग्नुपर्छ ।’ मन्त्री पोख्रेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने बताए । उनले जनताको जीवन र रोजगारसँग नगाँसिएको पर्यटन अघि बढ्न नसक्ने बताएका छन् ।

घलेगाउँलाई दक्षिण एसियामा मात्र नभई विश्वभर चिनाउने हो भने आफ्नो पहिचानलाई उत्पादन, सम्वृद्धि र रोजगारीसँग जोड्नेगरि आफ्नो गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । ‘जहिलेसम्म पर्यटनलाई जनताको जीवनसँग गाँसिदैन यो शोखको विषय र चर्चाको विषय भएर टिक्न सक्दैन’ उनले भने, ‘जनताको जीवनसँग, रोजगारसँग, सम्वृद्धि र विकाससँग गासिनुपर्छ, तबमात्र पर्यटनले विकास गर्नसक्छ ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सुर्य थापा, पूर्व सांसदहरु जमिन्द्रमान घले, डा. भिष्मनाथ अधिकारीले मन्तब्य राख्दै घलेगाउँको पर्यटन विकासले लमजुङको सम्वृद्धिमा टेवा पुगेको बताए । गाउँलाई सुखी र समृद्ध बनाउन आयोजना गरिएको महोत्सव बैशाख २५ गतेसम्म सञ्चालन गरिने पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादरु घलेले जानकारी दिए ।

हिमालै हिमालको काखमा रहेको करिब छ सय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ । यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावर आदि घलेगाउँका आकर्षणहरु हुन् । १३ घरबाट सुरु भएको घलेगाउँको होमस्टे अहिले ३५ घरमा विस्तार भएको छ । दक्षिण एसियाकै नमुना गाउँका रूपमा विकास भएको घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ ।

हाल दैनिक तीनसय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए । ‘घलेगाउँमा बार्षिक ३० हजार बढी पर्यटक आउने गरेका छन’ उनले भने, ‘पर्यटकबाट मात्रै गाउँमा करोड बढी रकम भित्रिएको छ । गाउँमै कृषि उपजको विक्री र रोजगारीको अवसर समेत खुलेको छ ।’

समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट लमजुङ हिमाल, मनासुलु, माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली लगायतका हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादी लगायतका नदीको मनोरम दृष्य देख्न सकिन्छ । पाहुनाहरुको न्यानो सत्कार गरिने घलेगाउँ पुग्ने पर्यटकलाई दही चामलको अक्षता र फूलमालाले स्वागत गर्दै दुलही झै भित्राउने चलन छ ।

एक दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण यसियामै नमुना ग्रामिण पर्यटकीय गाउँका रुपमा प्रख्यात बनाएको छ । घलेगाउँको त्यो पर्यटकिय ज्वरोले लमजुङका काउलेपानी, घनपोखरा, भुजुङ, पसगाउँ, ढंगै, सिउरुङ, ताघ्रिङ, हिलेटक्सार, खासुर, रागिनासकोट लगायतका गाउँमा समेत पर्यटकिय चहलपहल बढाएको छ ।

नागरिकको आर्थिक स्तर उकास्नुका साथै उनीहरुको मौलिक संस्कृति र परम्पराले पनि ख्याति कमाएको छ । पर्यटकलाई सहज रुपले भित्र्याउन तथा आकर्षित गर्न नयाँ–नयाँ पदयात्रा मार्ग पनि निमार्ण भैरहेका छन् ।
महोत्सवमा मनमोहक हिमश्रृङ्ला, गुरुङ संग्राहलयको अवलोकन, परम्परागत गुरुङ संस्कृती, नृत्यहरुको प्रद्र्धशनी, पौराणिक हस्तकलाका सामाग्रीहरुहको प्रस्तुती, सुर्योदय र सुर्यास्तको दृश्यावलोकन एवं पश्चिमाञ्चलकै नमुना चिया बगानको अवलोकन लगायत अवलोकन गर्न सकिने बताइएको छ । ‘ग्रामिण पर्यटन प्रवद्र्धन गरी घलेगाउलाई सुखी र समृद्ध बनाऔं, १९ औं घलेगाउ महोत्सव भब्यताका साथ सफल पारौं’ भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो । ०५७ देखि घलेगाउँका वासिन्दाले महोत्सवको आयोजना गर्दै आएका छन् ।

ग्रामिण पर्यटन संगै गाउँ सार्क राष्ट्रको नमूना गाउँमा छनोट भएपछि पछिल्लो समय युवाहरुले गाउँप्रति चासो दिन थालेको घलेगाउँ ग्रामीण पर्यटन विकास समितीका सचिव उमल बहादुर विकले बताए । ग्रामिण पर्यटनको कारण गाउँमा बुढापाका, आमा समुह र युवायुवती सबैले काम गर्ने अबसर पाएका छन् । कुल ८० घर गुरुङ र २५ घर दलित परिवारको वस्ती रहेको घलेगाउँमा ३२ घरमा होमस्टे सञ्चालनमा छन् ।
बेंसीशहरबाट सवारी साधनमा साढे २ घण्टा र पैदल जान चाहनेका लागी ५ घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *