भारतमा सिकेको सीपले स्वदेशमा मनग्य आम्दानी गर्दै चिजामाया

श्यामशितल परियार
सुन्दरबजार, जेठ ५

सुन्दरबजार मिलनचोककी चिजामाया गुरुङका श्रीमान् भारतीय सेनामा हुनुहुन्छ । केही वर्षअघि उहाँ श्रीमान्को साथ लागेर भारत जानुभयो, घुम्ने बहानामा । घुमफिर गर्न भारत पस्नुभएकी गुरुङलाई सीप सिक्ने रहर मनमा पलायो ।
त्यसपछि, उहाँले भारतकै फौज घरमा ऊनीका विभिन्न कपडा बनाउने सीप सिक्न थाल्नुभयो । फौज घरमा उहाँले ऊनीका टोपी, मोजा, लेडिज स्वीटर, जेन्स स्वीटर लगायतका विभिन्न कपडा बनाउन सिक्नुभयो ।
लगत्तै, उहाँ आफ्नै घर फिर्ती हुनुभयो । घरमै ऊनीका विभिन्न कपडा बनाउन सुरु गर्नुभयो । घरमै अत्याधुनिक निटिङ मेशिन (ऊनीका कपडा बुन्ने यन्त्र) ल्याउनुभएको छ । उहाँ अझै ऊनीका कपडा बनाउनुहुन्छ । उहाँले निटिङ मेशिन पनि भारतबाटै ल्याउनुभएको हो । ‘हातले बनाउँदा नि हुन्छ तर मेशिनको प्रयोग गर्दा थोरै समयमा धेरै कपडा बनाउन सकिन्छ,’ उहाँले स्पष्ट पार्नुभयो ।
पैसा कमाउन ‘आईतबार’ कुर्नुपर्दैन
गतवर्ष मात्रै झण्डै ५० वटा ऊनीका स्वीटर बनाएर बेचेको चिजामाया बताउनुहुन्छ । ‘एउटा स्वटीरलाई २ हजारदेखी ३ हजार रुपैयाँसम्म बेँचे,’ उहाँले भन्नुभयो, ‘ऊनीका कपडाको माग र मूल्य बजारमा उच्च छ ।’
उहाँका अनुसार ऊनीको गुणस्तर र तौलका आधारमा ऊनीको कपडाको मूल्य निर्धारण गरिन्छ । गर्न सके ऊनीकै कपडा बनाएर वार्षिक लाखौँ कमाउन सकिन्छ । जाडो महिनामा झन् ऊनीका कपडाको माग बढि हुन्छ । कपडा तयार गर्न सके राम्रो आम्दानी हुन्छ ।
उहाँले ‘मुग्लान’मा सिकेको सीप उपयोग गर्दै घरमै बसिबसि राम्रो आम्दानी गर्नुभएको छ । दुईचार पैसाको लागि अरुको भर पर्नुपरेको छैन, चिजामायालाई ।
उहाँले आफुले सिकेको सीप आफुजस्तै अन्य महिलाहरुलाई पनि सिकाउँदै आउनुभएको छ ।
‘विगत एक वर्षदेखी महिलाहरुलाई ऊनीका कपडा बनाउन सिकाउँदै आएको छु, हातमा सीप भए, मनमा जोसजाँगर भए पैसा कमाउन आईतबार कुर्नुपर्दैन,’ तालिम हलमा सहभागी प्रशिक्षार्थीहरुलाई ऊनीका कपडा बनाउन सिकाउन व्यस्त रहनुभएकी चिजामायाले जोसिलो पारामा भन्नुभयो । उहाँका अनुसार एउटा स्वीटर तयार गर्न २÷३ दिन लाग्छ ।
आफ्नै खुट्टामा उभिन्छौँ
यस्तै, लमजुङ, सुन्दरबजारकी ईन्दिरा चौधरीले खासै धेरै पढ्नुभएको छैन । उहाँले पराई घर समेत सम्हालि सक्नुभएको छ । श्रीमानको कमाईको भरमै बाच्ँदै आउनुभएकी उहाँलाई ‘आफैँले केही सीप सिकी व्यावसायिक काम गरी आय–आर्जनको बाटोमा हिँडी आफ्नै खुट्टामा उभिनुपर्छ’ भन्ने ‘ईख’ मनमा पलाएको छ ।
खेर गएको समय अहिले उहाँले सीपमुलक तालिम सिक्न खर्चनुभएको छ । सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको आयोजना र जिल्ला शिक्षा कार्यालय लमजुङको सहयोगमा सञ्चालित ३ महिने होजियरी (ऊनीका कपडा तयार पार्ने) तालिममा सीप सिक्न उहाँ व्यस्त हुनुहुन्छ । तालिमपछि व्यावसायिक रुपमा अघि बढ्ने २५ वर्षिय ईन्दिराको योजना छ ।
‘खासै पढ्न लेख्न सकिएन, हातमा केही सीप छैन, सीप सिक्न आएको छु, तालिमपछि व्यावसायिक रुपमा काम गर्छु,’ उहाँले प्रतिवद्धता जनाउनुभयो ।
व्यावसायिक रुपमा अघि बढ्छौँ
यसअघि कुनै पनि सीपमुलक तालिम लिनुभएको छैन, सुन्दरबजार–६, की शर्मिला कोईरालाले पनि । तालिम सकिएको भोलीपल्टै व्यावसायिक रुपमा ऊनीका विभिन्न कपडा तयार पार्ने काम थाल्ने शर्मिलाको अठोट छ ।
‘सीप सिकि व्यावसायिक रुपमा काम गरी आत्मनिर्भर बन्ने सपना बोकेर तालिम लिन आएको हुँ, तालिम सकिएपछि घरमै व्यावसाय सञ्चालन गर्ने हो,’ तालिम हलमा काँटीले ऊनीको टोपी बुन्दै उहाँले भन्नुभयो ।
जीवनस्तर उकास्ने उद्धेश्य
आर्थिक रुपमा पछाडि परेका, हातमा केही सीप नभएका, फुर्सदी महिलाहरुलाई सीपमुलक तालिम दिई उनीहरुलाई व्यावसायमा लाग्न प्रेरणा जगाउनुका साथै उनीहरुको जीवनस्तर उकास्ने उद्धेश्यका साथ ३ महिने ऊनीका कपडा तयार पार्ने तालिम दिईएको सुन्दरबजार सामुदायिक सिकाई केन्द्रकी सामुदायिक परिचालक रश्मी पौडेलले बताउनुभयो । उहाँका अनुसार तालिममा सुन्दरबजार नगरपालिकाभित्रका ८ जना महिला सहभागि छन् ।
उनीहरुले सैद्धान्तिक, प्रयोगात्मक दुवै रुपमा ऊनीका विभिन्न कपडा बनाउने सीप सिकेका छन् । सहभागीलाई अत्याधुनिक ‘निटिङ मेशिन’को प्रयोग गरी ऊनीका मोजा, टोपी, स्वीटर, ब्लाउज, चौबन्दी चोली लगायतका कपडा बनाउन उनै चिजामाया गुरुङले सघाउनुभएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *