मध्यपहाडी लोकमार्ग अन्तर्गत धमिलीकुवादेखि पाउँदीसम्म कालोपत्रे गरिने

बेंसीसहर जेठ ७ गते
सरकारले राष्ट्रिय गौरवको योजना भनि निर्माण शुरु गरेको मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अन्तर्गत धमिलीकुवादेखि पाउँदी बजारसम्मको खण्डमा कालोपत्रे गर्न लागिएको छ ।
गोरखाको ठाँटीपोखरी हुँदै धमिलीकुवाको गरमवेसी, हर्राबोट हुँदै पाउँदीसम्मको सडक खण्डलाई कालोपत्रे गर्न लागिएको हो । सडकको ग्रेड मिलाउने, फराकिलो बनाउने, ग्याविन वाल, स्ल्याब, कल्भर्ट र पाइप कल्भर्ट राख्ने काम काम सकिएपछि १६ किलोमिटर कूल दुरी रहेको सो खण्डको सडकमा ग्राभल भइ गरी बेस हाल्ने काम अन्तिम चरणमा पुगेको छ । सडक केन्द्रदेखि ३१ मिटरको मापदण्ड कायम रहेको सो सडक अन्तर्गत विवाद नरहेको सो खण्डमा कालोपत्र गर्न लागिएको हो । जस अनुसार सडकको ७ मिटर चौडाइमा कालोपत्रे गरिने छ । सडक विभागका अनुसार गोरखा खण्डको ६ किलोमिटर र लमजुङतर्फ साढे ९ र गोरखातर्फ साढे ६ किमि पर्छ  । सडकको ७ मिटर चौडाइ कालोपत्रे गरिने भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत १६ किमीको यो खण्डमा ३५ करोडमा बज्रगुरु–द कञ्चनजंघा–शंकरमाली जेभीले ठेक्का पाएको छ  । सडक विभागका इन्जिनियर सन्तोष थापाका अनुसार विगत तीन बर्षयता यो सडक खण्डमा काम हुँदै आएको छ । उहाँले भन्नुभयो “केही दिनमै सडक कालोपत्रे गर्ने काम शुरु गर्छौं । बेसको काम सकिनेवित्तिकै कालेपत्रे शुरु हुन्छ ।”
लमजुङमा मध्यपहाडी लोकमार्गको कूल लम्बाइ ४५ किलोमिटर पर्छ । ४५ किलोमिटर सडकलाई लमजुङमा ४ खण्ड गरेर निर्माण थालिएको छ । जसमध्ये पाउँदीदेखि सत्रसयसम्मको सडक खण्डमा सडक मापदण्डका विषयमा विवाद छ । सडकले दायाँबायाँ गरी ६२ मिटर मापदण्ड लिने भएकाले शहरी बस्ती रहेको सुन्दरबजार र भोर्लेटार क्षेत्रमा विवाद उत्पन्न भएको हो । सडक मापदण्डका कारण वस्ती नै भत्कने स्थिति आएपछि स्थानीयले विकल्प खोज्न आग्रह गर्दै आएका छन् ।
मध्यपहाडी लोकमार्गको कूल लम्बाइ १ हजार ७ सय ८७ किलोमिटर छ । पाँचथरको चियो भन्ज्याङबाट शुरु हुने यो राजमार्ग बैतडीको झुलाघाट पुगेर टुंगिन्छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *