लोपोन्मुख दुरा भाषाको संरक्षणमा कोशेढुंगा, विद्यालयमा भाषा पढाई शुरु

लमजुङ न्युज डटकम
बेसीशहर, बैशाख १८

लोपोन्मुख दुरा भाषाको संरक्षणका लागि लमजुङमा यसको विद्यालय स्तरमा पाठ्यक्रम बनाई पढाइ शुरु गरिएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ११, तुर्लुङकोटस्थित देवीसदन प्राविमा यसै शैक्षिक सत्रदेखि दुरा भाषाको पढाइ शुरु गरिएको हो ।
दुरा सेवा समाजका अध्यक्ष भक्तबहादुर दुराको सक्रियतामा दुराभाषाको पढाइ शुरु गरिएको हो । स्थानीय शिक्षिका जुना दुराले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दुरा भाषा पढाउने गर्नु भएको छ । दुरा भाषासम्बन्धी तालिम लिएकी जुनाले सन्दर्भ सामाग्री खोजेर पढाउने गरेको विद्यालयको प्रधानाध्यापक बुद्धिराम दर्जीले बताउनुभयो ।
गुरुङहरुको जस्तै दुराहरुको उद्गमस्थल पनि लमजुङ हो । दुरा थरबाटै लमजुङको दुराडाँडा क्षेत्र देशैभर प्रख्यात छ । दुराहरुको उद्गमथलो भए पनि दुराहरु नै आफ्नो भाषा संस्कृतिबाट विमुख हुन थालेपछि भाषा र संस्कृतिको संरक्षणका पढाई शुरु गरिएको दुरा अगुवा यमबहादुर दुराको भनाई छ ।
उहाँका अनुसार भाषा संस्कृति संरक्षणका लागि यसअघि ठूलोस्वाँराको देवीसदन प्राविसँगै देवीसदन माविमा पनि दुरा भाषा पढाउन सुरु भएकोमा विविध कारणले निरन्तरता दिन सकिएको थिएन, तर भाषा संस्कृति हराए जातै हराउने डरले दुरा सेवा समाज र यसका अध्यक्ष भक्तबहादुरको सक्रियतामा यसलाई फेरि निरन्तरता दिइएको हो ।
भक्तबहादुरकी श्रीमती गंगामाया दुराले देवीसदन प्राविमा पढ्ने ३५ विद्यार्थीलाई कापी, कलम र दुरा भाषाका सन्दर्भ सामग्री वितरण गरेर भाषा कक्षा शुभारम्भ गर्नुभएको थियो । ससाना बालबालिकालाई भाषा सिकाए पछि मात्र भाषाको विकास हुने भएकाले अहिले प्रावि तहबाट भाषा कक्षा शुरु गरिएको बताइएको छ । यस कार्यका लागि सुन्दरबजार नगरपालिकाले पनि सहयोग गरेको छ ।
भाषा कक्षालाई प्रभावकारी बनाउन र दीगो रुपमा सञ्चालन गर्न स्थानीयबासी, विद्यालय र अन्य सरोकारवाला संस्थाबीच समझदारी गरी हस्ताक्षर समेत गराइएको छ । दुरा सेवा समाजका प्रतिनिधिी, स्थानीय तहका जनप्रतिनिधि र विद्यालय सञ्चालक समितिबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । जस अनुसार भाषा शिक्षकलाई मासिक २ हजार, सुपरीवेक्षकलाई १ हजार र सहजकर्तालाई ५ सय रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ । यस प्रयोजनका लागि भक्तबहादुर दुराले ४२ हजार रुपैयाँ एकमुष्ठ प्रदान गर्नु भएको  प्रधानाध्यापक दर्जीले जानकारी दिनुभयो ।
जनगणना २०६८ अनुसार लमजुङको दुराडाँडा क्षेत्र भनि चिनिने चन्द्रेश्वर, तुर्लुङकोट, सिन्दुरे, नेटा, धुसेनी, कुन्छा, भोर्लेटारमा दुरा जातिको बसोबास छ । यसबाहेक पोखरा, काठमाण्डौं, चितवन लगायतका स्थानमा बसाइ सरी जानेको संख्या पनि निकै छ ।
विगतमा दुराहरु लाहुरे हुन गुरुङ थर लेखाउने गरेका कारण कतिपय दुराका सन्तानहरु गुरुङ बनिसकेको भए पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको जगेर्नाका लागि अहिले सबै दुराहरु एकजुट हुन थालेका छन् । सबैको प्रयासका कारण फेरि दुराहरुको भाषा, संंस्कृतिको जगेर्ना गर्न विद्यालयस्तरमा भाषा पढाई शुरु गरिएको र यो भाषा तथा संस्कृति संरक्षणका लागि कोशेढुंगा सावित हुने स्थानीयको भनाई छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *