अबरुद्ध बेसीशहर चामे सडक खण्डमा यातायात सुचारु

-गम्भीरजंग
चामे, भदाै ७ । विगत एकसातादेखि अबरुद्ध बेसीशहर चामे सडक अन्तर्गत कोतो-चामे खण्डमा यातायात सुचारु भएको छ । अघिल्लो साता चामे गाउँपालिकाको ३ नम्बर वडा पर्ने कोतो नजिकै सडक भासिएपछि यातायात अबरुद्ध भएको थियो । अविरल बर्षाका कारण बढेको मस्र्याङदी नदीले गरेको कटानपछि करीब डेढसय मिटर सडक भासिएको थियो ।
एकसातापछि क्षतिग्रस्त सडकमा डोजर लगाएर सडक बनाइए पछि यातायात सुचारु भएको छ । सडक अबरुद्ध हुँदा मनाङबासी र मनाङ जाने पर्यटकका साथै कर्मचारीहरुलाई निकै असजिलो भएको थियो । चामे गाउँपालिकाले दुईवटा डोजर लगाएर सडक मर्मत गरेको हो । यद्यपी हाललाई अस्थायी रुपमा सडक सुचारु गरिए पनि पुनः बर्षा भएमा सडक भासिने अवस्था रहेको बताइएको छ ।
सडक भासिएर नदीतर्फ खसेपछि पैदलयात्रुलाई समेत समस्या भएको थियो । मान्छे हिँड्नै समस्या भएपछि मनाङमा कार्यरत नेपाली सेनाको रणदल गुल्म, जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयबासीन्दाको समेत सहयोगमा बैकल्पिक मार्ग बनाइएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *