गाउँशहरमा ब्यापक गाँजा फडानी, तीन टन गाँजाका बोट नष्ट

बेसीशहर, भदौ ७ गते ।
बेसीशहर नगरपालिकाको वडा नंं ३ गाउँशहरमा ब्यापक रुपमा गाँजा फडानी गरिएको छ । स्थानीय जनज्योति स्काइ क्लवले स्थानीय थुम्काडाँडा र वरपरका क्षेत्रमा गाँजा फडानी गरेको हो ।
क्लवको सक्रियता र क्लवका सहसंयोजक अस्मीता मजाकोटीकोको नेतृत्वमा गाउँमा विक्री गर्ने उद्देश्यले लगाइएका र कतिपय स्थानमा आफै उमे्रका गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो । सबै ठाउँबाट गरी झण्डै तीन टन गाँजा एकत्रित गरी जलाएर नष्ट गरिएको गाउँशहर निवासी नगर कार्यपालिकाका सदस्य अजय मजाकोटीले जानकारी दिनुभयो ।
गाउँमा गाँजाको खोजी गर्दै बजारक्षेत्रबाट भर्खरका किशोर र बयस्क युवाहरुसमेत गाउँशहर जान थालेपछि यसको प्रभाव गाउँघरमा समेत पर्न थालेपछि अभियानकै रुपमा गाँजा फडानी गरिएको मजाकोटीले बताउनुभयो । गाँजा फडानी गर्ने क्रममा केही स्थानीयले विरोधसमेत गरेकामा विरोधको सामाना गर्दै गाँजा फडानी गरिएको उहाँले बताउनुभयो । केहीसमय यता गाउँमै पनि युवाहरु गाँजाको लतमा परेको भेटिए पछि युवाहरुलाई कुलतमा लाग्न नदिन पनि अभियान चालिएको उहाँले प्रष्टयाउनुभयो ।
गाउँशहरको थुम्काडाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयहरु लागि परेका बेला यस्ता गतविधिले गाउँमा नकरात्मक प्रभाव पर्ने भन्दै गाउँमा सामाजिक सुधारका कार्यमा क्लव लागि परेको छ । क्लवले विकृति विसंगतिको अन्त्यका लागि जनचेतनामूलक कार्य गर्नुका साथै सरसफाइ तथा वातावरण संरक्षणको क्षेत्रमा समेत काम गर्दै आएको छ । यसैक्रममा जनचेतना अभिबृद्धि र विकास अध्ययन समितिसंगको सहकार्यमा क्लवले गाउँमा बिहीबार बृक्षारोपणसमेत सम्पन्न गरेको छ । स्थानीय पहिचान ऐतिहासिक संग्राहलय परिसरमा मयुर तथा टेम्पल धुपी, अशोका, बेगमबेली लगायतका विरुवा रोपिएको क्लवले जनाएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *