दुई दशक अघि बनेको सडक कालोपत्रे, स्थानीय खुशी

बेसीशहर, भदाै ७ । बेंसीसहरको भीमसेनस्थानबाट क्याम्पस रोड जोड्न भर्खरै कालोपत्रे गरिएको सडकको बुधवार उद्घाटन गरिएको छ । दुई दशक अघि ट्रयाक खोलिएको सो सडक हालै कालोपत्रे गरिएको हो । बेसीशहर नगरपालिका र स्थानीयको साझेदारीमा सडक कालोपत्रे भएपछि स्थानीय निकै खुशी भएका छन् ।
कालोपत्रे नहुँदा सो सडकमा मान्छे हिँड्नै समेत समस्या पर्ने गरेको थियो भने फाटफुट रुपमा मोटरसाइकल सम्म चल्ने गरेका थिए । अब भने सो सडकमा साना सवारी साधनहरु चल्न सक्ने छन् । ‘धेरै दुःख भएकाे थियाे, बल्ल कालाेपत्रे भयाे’- खुशी हुँदै स्थानीय ऋषि थापाले भन्नुभयाे ।
सडकमा दायाँबायाँ नाली भने बनाइएको छैन । पहिल्यैको मापदण्डको सडक भएको र सडकको दायाँबायाँ नाली बनाउनका लागि जग्गा दिन कोही तयार नभएपछि सडकको बीचमा नाली राखिएको स्थानीयले बताए ।
सो सडकको बुधवार एक समारोहबीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले सडक विकासको पूर्वाधार भएकाले सडक बनाउन र बनेका सडकको स्तरोन्नतिका लागि नगरपालिकाले ध्यान दिने बताउनुभयो । उहाँले स्थानीयसंगको सहकार्यमा यस बर्ष पनि बेसीशहरका केही सडक कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो ।
कूल ३८ लाख रुपैयाँको लागतमा कालोपत्रे गरिएको सडक ५ मिटर चौडाइ र १ सय ५५ मिटर लम्बाइको छ । सडकमा नगरपालिकाले ६० प्रतिशत र स्थानीयले ४० प्रतिशत लगानी गरेका वडा नं. ८ की वडाअध्यक्ष पवित्रा रानाले जानकारी दिनुभयो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *