लमजुङमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल रहने

बेसीशहर भदौ ८ ।
संघीयतासंगै खारेज भएका भनिएका लमजुङका दुई सरकारी कार्यालय भिन्न नाममा पुनः अस्तित्वमा आएका छन् । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय भिन्न नामका साथ बुधबार बेसीशहरमा उद्घाटन गरिएको छ । कृषि कार्यालयलाई कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यालयलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नाम दिइएको छ । दुवै कार्यालयले तत्कालका लागि लमजुङ र मनाङ जिल्ला हेर्ने छन् ।
नवस्थापित दुईवटै कार्यालय प्रदेश सरकारको मातहत रहने छन् र प्रदेश सरकारकै प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछन् । दुवै कार्यालयको बुधवार एक समारोहबीच उद्घाटन समेत गरिएको छ । प्रदेश सरकारका कृषि, सहकारी तथा भूमि ब्यवस्था मन्त्री लेखबहादुर थापाले कार्यालय उद्घाटन गर्दै अबको तीनबर्षभित्र कृषि र पशुपालनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको भन्दै समृद्धिका लागि दुवै कार्यालय कोशेढुंगा बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले कार्यालयका साइनबोर्डमात्र फेरिएको होइन भन्दै कार्यालयको सेवा सुविधा पनि फेरिएको स्पष्ट पार्नुभयो । कार्याक्रममा प्रदेश सभासदस्य मधुमाया अधिकारीले जिल्लका विकट तथा ग्रामीण क्षेत्रका किसानहरुले पनि सेवा पाउने विश्वास दिलाउन सकिए मात्र कार्यालय स्थापनाको औचित्य हुने भन्दै सचेत गराउनुभयो । कार्याक्रममा बेसीशहरका मेयर गुमानसिंह अर्यालले कृषि क्षेत्रको आधुनिकीकरण र ब्यवसायीकरणमा यी कार्यालयले भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नवस्थापित भेटेरिनरी अस्पताल तथा पशु सेवा ज्ञान केन्द्रका प्रमुख डा लक्ष्मण ढकालले अबका दिनमा लमजुङमै पशुहरुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न प्रयोगशाला स्थापना हुने र यसबाट किसानहरुले मनग्गे फाइदा लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता सुनिल सुनार, नेपाली कांग्रेसका नेता गमप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, साविक कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसअघि कार्यालय खारेज गरी स्थानीय निकायको मातहत शाखाको रुपमा राखिएकोमा ती शाखाहरु पनि स्थानीय निकाय अन्तर्गत सञ्चालनमा छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *