जङ्गलको भान्छा (बालकथा)

रमेशचन्द्र घिमिरे
लमजुङको सुन्दर गाउँ भोर्लेटारनजिकै पिस्ती खोला बगेको छ । त्यहीँमाथि बाघमारे वन छ र त्यहाँभन्दा पनि माथि डाँडामा भोर्ले नामको सानो र चुटुक्क परेको गाउँ छ । एकपटक भोर्ले गाउँमा रमाइलो पिकनिक गर्ने भनेर जङ्गली जनावरको योजना बन्यो । खरायोले रिहिने वन, रानीवन, गुम्बा-हल्लेसी वन र लामसोतीको वनमा गएर कटुवालले झैँ कराउँदै हिँड्यो, “ए, जङ्गलका साहेब हो ! भोलि वनभोजको लागि छलफल गर्नुपर्ने भएकाले सबै बाघमारे वननजिकैको सिसौघारीमा बेलुकी पाँच बजे भेला हुनुपर्नेछ है, साहेब हो ! ”
भोलि कतिखेर आउला र कतिबेला पाँच बज्ला भनेर सबै उत्सुक थिए । भोलिपल्ट हाइस्कुलको चार बजेको घण्टी लागेर विद्यार्थीहरू झोला बोकी घरतर्फ जाँदै गरेको देखेपछि सबै जनावरहरू अब जाँदै गर्दा ठीक होला भनेर हाँसीखुसी सिसौघारीतर्फ सोझिए । “हौँ, हौँ….” कुकुरले भुक्दै बोलायो, ” जाने हैन साथी हो ? जाऔँ, जाऔँ … ।” एउटा रुखको हाँगाबाट अर्को रुखको हाँगामा हाम फाल्दै ढेडु बाँदरले सबैलाई चर्तिकला देखाउँदै गन्तव्य ताक्यो । ङ्याउ-ङ्याउ गर्दै बिरालो पनि त्यतै लाग्यो । ब्वाँसोदेखि कमिलासम्म, फ्याउरोदेखि कुखुरासम्म अनि स्यालदेखि फट्याङ्ग्रासम्म ठूलासाना जनावर जम्मै त्यहाँ ओइरिए ।
जङ्गली जनावरको भेलामा कोही सभापति र कोही प्रमुख अतिथि थिएनन् । सबै आ-आफ्ना थान्कामा उत्तिकै समान हैसियतका थिए । कटुवाल खरायोले कार्यक्रम सुरु गर्ने अनुमति माग्यो । दिवंगत भइसकेका साना-ठूला जनावर र पशुपन्छीको सम्झनामा एक मिनेट मौनधारण गरियो । मौनधारणको समय सुरु भएको र सकिएको सङ्केत कुखुराले दियो । मौनधारण गरिन्जेल सबैले शिर झुकाए । त्यसपछि जङ्गली राष्ट्रिय गान सुरु भयो । मयुरले रचेको उक्त गीतलाई कोइलीले आफ्नो भाकामा सुनायो, झुर्ना पिट्दै पुन्टे मुसाले त्यसलाई सङ्गीतमा साथ दियो ।
“सबैजना पशुपन्छी मिलेर रमाइलो जङ्गली पिकनिक गरौँ” भन्ने खरायोको प्रस्तावलाई सबैले एकै स्वरमा सहमति जनाए । चराहरू चिर्बिराएर, कुकुरले भुकेर अनि कसैले हात ठड्याएर, कसैले खुट्टा बजारेर वा जे भन्दा आफ्नो अभिव्यक्ति सुनिन्छ त्यही-त्यही भनेर सबैले समर्थन व्यक्त गरे । जेठको पच्चीस गते बिहान सात बजे नै भेला हुने र रमाइलो नाचगानसहित वनभोज सम्पन्न गर्ने तीन बुँदे साझा सहमति बनेपछि सबै आ-आफ्ना घरतर्फ लागे ।
पिकनिकको दिन आयो । भान्छा हेर्नका लागि तीन सदस्यीय वनभोज व्यवस्थापन समिति पनि बन्ने भयो । समितिमा को-को रहने भनेर एकछिन छलफल भयो । ब्वाँसोले भन्यो, “हामी जनावरको नाममा मान्छेले धेरै उखान बनाएका छन् । जस्तै : कुकुरलाई मासु पैँचो दिनु, बाँदरको हातमा नरिबल, अनि दूधको साक्षी बिरालो । त्यसै हुनाले मूल समितिमा कुकुर, बाँदर र बिरालो राखौँ अनि अल्छी ब्वाँसो, धूर्त फ्याउरो र चन्चले कमिला भनेर पनि हामीलाई अनेकका उपाधि दिएका छन् । त्यसैले हामी ब्वाँसो, फ्याउरो र कमिलोलाई पनि सहयोग समितिमा राखेदेखि ती मान्छेलाई हाम्रो मित्रता
र काम देखाइदिन पाए तिनको मुख थुन्ने बाटो हुन्थ्यो ।” यसरी ब्वाँसोको उक्त रमाइलो प्रस्तावलाई सबैले स्वीकारे ।
हतार नगरी सरसामान जुटाउन लागियो । बिरालाले खिर पकाउने जिम्मा लियो । खिरमा राख्नको लागि नरिबलको व्यवस्था बाँदरले गर्ने भयो । जनावरको मित्रताको लागि गरिएको उक्त भोजमा मासुको व्यवस्था भने थिएन र गर्नु हुँदैनथ्यो पनि । “आफ्नै साथीलाई काटेर हामी केको रमाइलाले खाने त नि ! ” कुकुरले भन्यो । “हाम्रो आजको भोजमा हामी सबै शाकाहारी हुने, सलादको व्यवस्था म गर्छु । दाल-तरकारी पनि आफै किनेर ल्याउँछु ।”
आज कुखुराले मुख धानेरै बस्यो । चामल खानु त के चाख्नसम्म पनि चाखेन । कमिलाले चिनी देखेर पनि र्‍याल चुहाएन । ब्वाँसोले अल्छी नमानी जिरा पिन्न थाल्यो । वातावरण निकै रमाइलो देखिन्थ्यो । यो देखेर कोइलीलाई यस्तो गीत फुरिहाल्यो :
`कुखुराले चामल ल्यायो कमिलाले चिनी
अल्छी ब्वाँसो थाक्यो होला जिरा पिनी-पिनी ।´
कोइलीको गीत सुनिसकेपछि सर्बत बनाइयो । जामसहितको पाउरोटी सबैलाई चखाइयो । कसैकसैले चिया पनि खाए । दिउसो एक-एक गर्दै सबै सामान जुटाइयो । बिस्तार-बिस्तार भातेभोजको भान्छा तयार भयो । खाना खानुअघि सबैले आफ्नो प्रतिभा देखाउनका लागि नाच्नुपर्ने वा गाउनुपर्ने भयो । खरायोको नेतृत्वमा नाचगान हुने भयो । स्यालले मादल बजाउन र ट्यार्र-ट्यार्र भए पनि धोद्रो स्वरमा भ्यागुताले गीत गाउन थाल्यो । हुलमुलमा कसले नाचेको कसले हेरोस् ? सबैका नाच आ–आफ्ना ठाउँमा राम्रै थिए । त्यहाँ नाच्नलाई कसैले लाज मानेनन्, गाउनलाई कसैले मुख बन्द गरेनन् ।
नाचगान सकेर भोजन गर्नुअघि बाँदरले अब जनावरको संविधान बनाउने र संविधानलाई आफूले पनि पालन गर्ने कुरा बतायो भने कुकुरले सबै साथीभाइसँगको सरसापटी र पैँचो तिरी आजै ऋणमुक्त हुने कबुल गर्यो । त्यही खुसीमा कोइलीले तुरुन्तै गीत झिकिहाल्यो :
`जनावरको संविधानमा बाँदर पनि छिर्‍यो 
कुकुरले साथीभाइको पैँचो आजै तिर्‍यो ।´
गीत सँगसँगै नाच भयो । भोकले सबैको मुख मलिन भएको र थकाइले सबैलाई गलाएको महसुस गरेर फ्याउरोले झ्यापझुप खाइहाल्ने प्रस्ताव ल्यायो । स्व-इच्छित भोजन अर्थात् बफे सिस्टम भएकाले त्यहाँ सबै लाइनमा बसे । त्यहाँ भातको लागि सालको पातको थाल, दालका लागि फ्याउसेको पातको बटुको, तरकारी र अचारका लागि कटुसका पातको प्लेटको व्यवस्था गरिएको थियो । सौहार्द्रपूर्ण ढङ्गमा खानपिन भयो । खानपिन सकेपछि आफ्नो जिम्माको काम सकेर सबै आ-आफ्ना बासस्थानतर्फ लागे ।
– भोर्लेटार, लमजुङ


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *