बाढी र पहिरोका कारण कोतोबासीको भोक निद्रा गायब

नवीन लामिछाने
चामे (मनाङ) ११ भदौ । विगत दुई हप्तादेखि लागतार खसेको पहिरोका कारण मनाङको चामे गाउँपालिकाको एउटा गाउँ नै जोखिममा परेको छ ।
बेसीशहर चामे सडक अन्तर्गत चामे गाउँपालिकाको वडा नं. ३ कोतो गाउँ जोखिममा परेको हो । गाउँमुन्तिरबाट बहेको मस्र्याङदी नदीमा आएको बाढीले गाउतर्फको भागमा कटान गरेपछि दुई हप्ता अघि कोतोमै बेसीशहर चामे सडक समेत भासिएको छ । नदीको कटान जारी रहेको र पहिरो पनि खस्ने क्रम नरोकिएका कारण गाउँनै लैजाने हो कि भन्ने चिन्ताले गाउँलेहरुलाई पिरोलेको छ ।
लगातारको पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् । दिन जसोतसो कटाए पनि जब साँझ पर्छ उनीहरुको चिन्ता बढ्ने गर्दछ । बाढी आएर पुनः पहिरो गयो भने बस्ती नै सखाप बनाउने भयले उनीहरुलाई न दिनको भोक नै छ, न रातमा निद्रा नै ।
स्थानीय पासाङ विष्टका अनुसार त्यहाँ विगत १५ दिनदेखि पहिरो खसि रहेको छ । पानी पर्न अझै कम नभएकाले पहिरोको जोखिम अझै उच्च छ । जुनसुकै बेला मस्र्याङदी नदीको बाढीले थप विध्वंश गर्न सक्ने भयले स्थानीयलाई सताइरहेको छ । यस्तै अवस्था कायम रहिरहे वस्ती स्थानान्तरण गर्नु पर्ने अवस्था रहेको विष्टले बताउनुभयो ।
बाढी र पहिरोका कारण जोखिममा परेको वस्ती जोगाउन स्थानीयवासीले स्थानीय तहमा गुहार लगाएका छन् । बाढी पहिरोबाट जनधनको क्षति हुन नदिन स्थानीय तह र स्थानीय प्रशासनले सक्दो प्रयास गरेको बताएका छन् । तर प्रयास पर्यप्त हुन नसकेको गुनासो स्थानीयको छ । बस्ती जोगाउन र नदीमा तटबन्ध लगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।
“पहिरो निरन्तर खसिरहेकोले काम गर्न कठीनाइ भएको छ” – प्रजिअ पन्तले भन्नुभयो । पहिरोले सडक भासिए पछि केही दिन सवारी आवागमन समेत बन्द भएकामा सेना, प्रहरी र स्थानीयको समेत सहभागितामा वैकल्पिक मार्ग बनाएर यातायातसम्म सुचारु गरिए पनि जोखिम भने कायमै छ ।
मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले सवारीसाधन मुश्किलले सञ्चालन गर्न सकिएको तर सडक मर्मतका लागि दीर्घकालीन योजना आवश्यक पर्ने बताउनुभयो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *