३१ प्रतिशत किशोरी विस बर्ष अघि नै बच्चा जन्माउँछन्

निरज अधिकारी

बेसीशहर भदाै १३ ।

लमजुङको नौथरकी बुद्धमायाँ गुरुङको उमेर १७ बर्ष पुग्यो । उनको एक बर्षकी छोरी छ । ‘बेलैमा नानी हुर्काएपछि आफू कामका लागि फुर्सदिलाे भइन्छ,’ लजाउँदै उनले भनिन्’ धेरै पछि किन कुर्ने काम सकिएपछि ढुक्क ।’ बुद्धमायाँले दुई बर्षअघि आफुखुसी बिहे गरेकी थिइन् । बिहे गरेको १० महिनामा उनले बच्चा जन्माइन् । यी प्रतिनिधि पात्रमात्र हुन, पछिल्लो समय लमजुङमा कलिलो उमेरमा बच्चा जन्माउनेको संख्या बढ्दो छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालको तथ्याङ्क हेर्दा ३१ प्रतिशत किशोरीले विसवारीमै बच्चा जन्माउँछन् । ‘विसवारीमै गर्भवती हुनेहरु बढी अस्पताल आईरहेका छन्, अस्पतालका प्रशासकिय प्रमुख युवराज देवकोटाले भन्नुभयो, उमेर बुझ्दा त १६÷१७ बर्षमै बिबाह भएकाहरु छन् ।’
जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत गाउँ(गाउँमा सचेतना मुलक कार्यक्रमहरू गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझैं उमेर नपुगी विवाह गर्नेहरुको संख्यामा कमी देखिएको छैन् । यो प्रक्रिया नरोकिदा आमा सुरक्षा कार्यक्रम सफल पार्न समेत चुनौती बढेको जनस्वास्थ्य प्रमुख केशवप्रसाद चापागाँईले बताउनुभयो । ‘जिल्लामा त देखिने तथ्याङ्क मात्र हो, जिल्ला बाहिर गएर बच्चा जन्माउने पनि अत्याधिक संख्यामा छन्, अस्पतालका स्त्री रोग बिशेषज्ञ डा. सृजना हमालले भन्नुभयो, गाउँमा चेतनाकै अभाव छ, छोरीलाई छिटै विवाह गरिदिने र शिक्षाबाट बन्चित गराउने पद्धतिको विकास नै भएको छ ।’ सानो उमेरको विवाहले पार्ने असर कम गर्न विद्यालय तहकै वालवालिकालाई बढी सचेत गराउनुपर्ने उहाँ बताउनुहुन्छ ।
अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउने मध्ये केही त १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका सुचना अधिकारी शान्तिराम राईले जानकारी दिनुभयो । ‘यस्ता विषय स्वास्थ्यको दृष्टिले चिन्ताजनक भएकाले उनीहरूलाई सम्झाइ बुझाइ पठाउने गरेका छौँ, राईले भन्नुभयो, विशेष गरी ग्रामीण क्षेत्रका दलित र जनजाति समुदायका किशोरीहरुमा यो समस्या उच्च छ ।’
२० देखि ३५ वर्ष उमेरसम्म मात्र गर्भवती हुँदा स्वास्थ्य राम्रो हुने अस्पतालका नर्सिङ्ग प्रमुख राममायाँ ठकुरीले बताउनुभयो । उहाँका अनुसार ३५ भन्दा माथिको उमेर पनि प्रसूतिका लागि उपयुक्त छैन् । १९ वर्षभन्दा कम र ३५ भन्दा माथिको उमेरमा गभर्वती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण तथा मृत्युको जोखिम समेत धेरै हुने विषयको जानकारी ग्रामीण तहसम्म पु¥याउन संयन्त्र बनाइएपनि प्रभावकारी हुन नसकेको ठकुरीले जानकारी दिनुभयो । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा गरी ६ सय ६९ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरूबाट आमा सुरक्षा कार्यक्रमलाई अगाडि बढाइएको छ । तर, किशोरीहरु विसवारीमै गर्भवती हुनेको संख्यामा कमी नदेखिँदा कार्यक्रमको प्रभावकारीता भने देखिएको छैन् ।
तथ्याङक हेर्दा जिल्ला सामुदायिक अस्पताल लमजुङमा आर्थिक वर्ष २०७४÷७५ मा १ हजार १ सय ९० जनाले अस्पतालबाट प्रसुती सेवा लिएकोमा २० वर्ष मुनीका ३ सय ६३ जना रहेका छन् । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय २ जनाले प्रसुती सेवा लिएकोमा २ सय २५ जना २० वर्ष मुनीका रहेको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा भने, १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिइएकोमा २ सय ५६ जना २० वर्ष मुनीका रहेको अस्पतालको तथ्याङ्कमा छ । लमजुङमा आर्थिक वर्ष ०७३÷७४ मा ४१ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएका छन् जसमध्ये करिब ३० प्रतिशतले जिल्ला सामुदायिक अस्पतालबाट सेवा लिएको जिल्ला सामुदायिक अस्पतालका इमरजेन्सी अफिसर गणेश गुरुङले बताउनुभयो । लमजुङ, मनाङ, तनहुँ र गोरखा क्षेत्रमा पायक पर्ने अधिकांश महिलाहरु स्वास्थ्य संस्थाबाट सेवा लिने गरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *