मनाङमा २५ करोड लगानीमा ‘उन्नत स्याउखेती’, ५ सय टन फलाउने लक्ष्य

निरज अधिकारी
भ्राताङ, मनाङ, १८ भदौ ।
नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटि एप्पल फार्म’ शुरु गरेको मनाङको एग्रो मनाङ स्याउ फार्मका कामदारहरु यतिवेला स्याउबोटको स्याहार–सुसारमै व्यस्त छन् । मनाङको नेस्याङ गाउँपालिका १, भ्राताङमा ७ सय ५० रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ ।
मनाङबाट प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ र ट्रिपल पी गुरुङको लगानी रहेको फार्ममा इटाली र सर्बियाबाट धेरै फल दिने फुजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको छ । ‘धेरै स्याहार गर्न सके एउटै बोटले ४० देखी ४५ किलोसम्म फल दिन्छ, एग्रो मनाङका सुपरभाईजर राजु तामाङ्ले भन्नुभयो,– ‘मल व्यवस्थापन, हाँगा कटिङ र लगातारको स्याहारले उत्पादन बढाउँदै लान्छ ।’ स्याउको उत्पादन बढाउन स्याउ बोटमा क्षमता अनुसार स्केल कटिङ समेत गर्दै आईएको फिल्ड सहायक मिन प्रसाद गुरुङले बताउनुभयो । स्याउको प्रकार अनुसार क्षमता थाहा हुने र क्षमता अनुसार स्केल कटिङ गरिने उहाँले जानकारी दिनुभयो ।
माथिल्लो मनाङको मनाङ, टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाको सगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेती थालिएको हो । यसबर्ष स्याउ उत्पादन राम्रो भएको एग्रो मनाङ प्रालिले जनाएको छ । भदौ अन्तिम साताबाट स्याउ टिप्न शुरु गरिन्छ । गतबर्ष ३ सय टन स्याउ उत्पादन गरि ३ करोड कमाउन सफल भएको एग्रो मनाङले यसबर्ष ५ सय टन स्याउ फलाउने दावी रहेको एग्रो मनाङ प्रा.लीका निर्देशक समराज गुरुङले बताउनुभयो ।


उक्त स्याउ फार्ममा हाल ५० जना कामदारहरु कार्यरत छन् । २७ बर्षका लागी जग्गा लिजमा लिएर ३ जातका स्याउ लगाइएको यस स्याउ फार्ममा २५ करोडसम्मको लगानी रहेको छ । स्याउ खेतीसँगै पिसाङ मै जुुस उद्योग र कोल्डस्टोर समेत खोलीएको छ । स्याउको चिप्स समेत कम्पनी आफैले बनाउँदै आएको छ ।
स्याउको बोटले दुई वर्ष देखिबाटै फलदिन सुरु गर्ने र प्रत्येक बर्ष उत्पादन बढ्दै जाने कम्पनीले जनाएको छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कम्पनीको दावी छ । उत्पादित स्याउ पोखरा देखी काठमान्डौसम्म बिक्री हुने गरेको छ । यी जातका स्याउ समुद्री सतहबाट १८ सय मिटरमाथि राम्रो फल्ने भएको र भ्राताङ २८ सय ५० मिटर उचाइ रहेकाले राम्रो फल दिने एग्रो मनाङ प्रालिले जनाएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *