बेसीशहरमा फरक र उदाहरणीय तीजको दरखाने कार्यक्रम

बेसीशहर, भदौ १९ ।
कृष्ण जन्माष्टमी तथा हरितालिका तीज हिन्दू नेपालीहरुका मौलिक चाड हुन् । यी दुवै पर्वका छुट्टाछुट्टै पौराणिक महत्व र विशेषता छन् । फरक तिथीमितिमा पर्ने भए पनि नेपाली संस्कृतिमा यी दुवै चाडको बेला माइत जाने, दरखाने, माइती, आफन्त र संगीसाथीसंग दुःख सुख साट्ने समान विशेषताहरु छन् ।
माइत जाने रहर कसलाई नहोला ? माइतीमा गएर आमा, बा, दाजुभाइ, दिदीबहिनी, संगीसाथी सबैसंग भेटघाट गर्ने दुःख सुखका कुरा गर्ने र मीठो मसिनो खाने हामी नेपालीको परम्परागत संस्कार नै हो । अझ हिन्दू संस्कार र परम्परा अनुसार जन्माष्टमी तथा तीजमा छोरी चेलीलाई लिन माइतीपक्ष छोरीचेलीको घरसम्मै पुग्ने चलन केही बर्ष अघिसम्म थियो । हिजोआज त्यो अलि कम भएको भने छ ।
आफ्नो माइती हुनेहरु माइत जानु, रमाइलो गर्छन् तर माइती नहुनेलाई तीज, जन्माष्टमी जस्ता पर्वले के रमाइलो देला र ? माइती नहुनुको पीडा महिलालाई तब हुन्छ जब अरु संगीसाथीहरु ठाँटिएर माइत जान्छन् ।
यस्तै माइती नहुनेलाई पनि माइतीको कमी महशुस हुन नदिन बेसीशहरमा एक फरक खालको र उदाहरणीय तीजको दरखाने कार्यक्रम आयोजना गरिएको छ । बेसीशहरस्थित कार्कीडाँडा सेवा समाजले कार्कीडाँडा माइती भइ बेसीशहरका विभिन्न भागमा विभिन्न पेशा ब्यवसाय गरी बसेका कार्कीडाँडे चेलीहरुलाई भेला गराएर सामूहिक दर खुवाएको छ । बेसीशहरको बालमन्दिरमा दर खुवाउनुका साथै समाजले चेलीबेटीहरुलाई तीज गीतमा रमाइलो गरी नचायो, सामूहिक तस्वीर खिचायाे र दुःख विर्सायो ।
हिजो आज सबैजना ब्यस्त छन् । ब्यस्त दैनिकीका कारण माइती भएकाहरु चाहेर पनि माइत जान सकेका हुँदैनन् । कसैका माइती नै छैनन् । त्यसैले हामीले कार्कीडाँडा माइती भएर बेसीशहरमा बस्ने दिदी बहिनीहरुलाई एकै ठाउँमा भेला गरेर रमाउने वातावरण समाजले बनाएको समाजका अध्यक्ष शिव सिलवालले बताउनुभयो ।
दरखाने कार्यक्रममा कलिला बालिकादेखि युवतीदेखि ८० कटेका ज्येष्ठ नागरिकहरु सहभागी भएका थिए । सान्नानी धिताल, जीरा अधिकारी, सान्नानी घिमिरे जस्ता उमेर खाएका बृद्धाहरु माइतीले दर खान बोलाउँदा कम्ती खुशी थिएनन् । सानैमा विवाह गरेर गएका उनीहरु माइतीका कतिलाई चिनेका पनि थिएनन् । “दिनदिनै बजारमा आफैसंग ठोक्किएर हिँड्ने कति माइतीलाई त मैले चिनेकै रहेनछु, सबै भेटघाट भइ परिचय आदनप्रदान गर्दा माइती चिन्ने अवसर त मिल्यो नै, दर खाँदै, नाच्दै रमाउँदाको रमाइलो कसरी बयान गर्नु र ?” – बेसीशहरकी सान्नानी घिमिरेले भन्नुभयो ।
”दरखाने कार्यक्रम कत्ति तडक भडक भएन । सहभागी दिदीबहिनीहरु सामान्य लवाइ र साजसज्जामा थिए । खानपीन पनि गाउँघरकै थियो । सबै जातजातिका महिला दिदीबहिनीलाई दर खान बोलाएका थियौं । सक्नेहरु आउनुभयो । हामीले विकृति र विसंगतिलाई चिर्दै परम्परा धान्ने कोशिस गरेका हौं” समाजका अध्यक्ष सिलवालले भन्नुभयो ।
कार्यक्रममा सहभागी कार्कीडाँडा निवासी नेपाली कांग्रेसका नेता शंकरकान्त जोशीलाई पनि हर्षित बनाएको छ । कार्कीडाँडा समाजले पहिलोपटक आयोजना गरेको यस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा उहाँको जोड छ ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *