निजामति सेवा दिवसमा लमजुङमा विविध कार्यक्रम सम्पन्न

बेसीशहर भदाै २० ।
निजामति सेवा दिवसका अवसरमा लमजुङमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यस अवसरमा बुधवार बिहान पुरुष र महिला कर्मचारीबीच छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा महिलातर्फ ६ प्रतियोगितामा जिल्ला समन्वय समितिका लक्ष्मी परियार प्रथम, कारागार शाखाका मनिषा चन्द द्वितीय र कृषि ज्ञान केन्द्रका स्नेहा गिरीले तृतीय स्थान प्राप्त गरे ।
त्यस्तै पुरुषतर्फको खुल्ला दौडप्रतियोगितामा ५० सहभागिलाई उछिन्दै सुन्दरबजार नगरपालिकाका जीतबहादुर कुमाल प्रथम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका गणेश घिमिरे द्वितीय र डिभिजन वन कार्यालयका भीमबहादुर घर्तीले तृतीय स्थान हासिल गरे ।
प्रतियोगिताका लागि मनाङे चौताराबाट फूलबारीसम्मको दुरी कायम गरिएको थियो ।
निजामति सेवा दिवसकै अवसरमा भदौ १६ देखि १९ सम्म आयोजना गरिएको खुल्ला ब्याडमिण्टन प्रतियोगितामा सुनिल दवाडी र पवन न्यौपानेको जोडी प्रथम, निलकण्ठ ढकाल र दीपेन्द्र बिमलको जोडी द्वितीय र दीलबहादुर गुरुङ र राजेन्द्र अधिकारीको जोडीले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा निजामति कर्मचारी, स्वास्थ्य सेवा, प्रहरी र स्थानीय तहका कर्मचारीहरु सम्मिलित १२ टीमसहभागि थिए ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा गत भदौ ५ गते बसेको कार्यालय प्रमुखको बैठकले विविध कार्यक्रमका साथ निजामति सेवा दिवस मनाउने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा भएको वैठकले जनतासंग प्रत्यक्ष संवाद गर्न, सूचना आदानप्रदान गर्न र गुनासो सम्बोधन गर्न सबै कार्यालयहरुले खोलेका सामाजिक सञ्जालमा एकरुपता कायम गर्न सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५ अनिवार्य रुपमा कार्यान्वयन गर्ने निर्णय पनि वैठकले गरेको थियो ।
जिल्लास्थित सबै कार्यालयहरुले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी आ आफ्नो कार्यालयबाट प्रवाह गरिने सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउने र प्रचलित नियम कानून बमोजिम आ आफ्नो कार्यालयको जिन्सी निरीक्षण कार्य समयमै सम्पन्न गरी मिन्हा, लिलामी लगायतका कार्य प्रक्रिया अगाडी बढाउने निर्णय वैठकले गरेको थियो ।
साथै सबै कार्यालयहरुले कार्यालय परिसर अनिवार्य रुपमा सरसफाइ गरी कार्यालयको परिसर आकर्षक र भौतिक वातावरण सेवाग्राहीमैत्री बनाउने, विद्युत वितरणलाई प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्र र लमजुङ विद्युत उपभोक्ता संस्थालाई निर्देशन दिने समेत निर्णय भएको थियो ।
वैठकले बजारमा उपभोग्य वस्तु तथा सेवाको उपलब्धता, आपूर्ति, गुणस्तर लगायतका विषयको अनुगमन गरी उपभोक्ता हक अधिकार संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय, सम्बद्ध स्थानीय तह, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लगायतका कार्यालय र लमजुङ उद्योग वाणिज्य संघ, उपभोक्ता हित सम्बद्ध संघसंस्था एवं नेपाल पत्रकार महांसंघ लमजुङ शाखाका का प्रतिनिधि सम्मिलित कार्यटोली गठन गरी यस जिल्लाका प्रमुख बजारहरु अनुगमन गर्ने पनि निर्णय गरेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *