लमजुङका अलैंची किसान अलैंची टिप्न व्यस्त, अाम्दानी राम्राे हुने अाशा

शान्ता कमली
लमजुङ २० भदौ
लमजुङका विभन्न गाउँमा  किसानहरु अलैंची टिप्न ब्यस्त छन् ।
जिल्लाका भुलभुले, भोजे, घनपोखरा, खाँचे, छिनखोला लगायतका क्षेत्रमा लगाइएको अलैंची टिप्ने बेला भएकाले किसानहरुलाई अहिले भ्याइ नभ्याइ छ । समुद्री सतहदेखि सात सय देखि १ हजार २ सय मिटर उचाईमा हुने अलैंची खेती लमजुङको प्रमुख नगदे बाली हो ।
मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ७ ताराचोक शेराका किसानहरुले अघिल्लो सातादेखि अलैची टिप्न सुरु गरेका छन् । ताराचोक शेरामा ३५ जना किसानले ५० रोपनी क्षेत्रफलमा अलैची खेती गरेका छन् । यतिवेला गाउँका सबै किसनाहरु अलैची टिप्न व्यस्त छन् । धान गोडेर कोदो रोपेर सकियो अब अलैची टिप्न सुरु भयो ‘ताराचोकका अलैची किसान सन्तबहादुर अधिकारीले भने यो वर्ष छिटै अलैची पाक्यो त्यसैले छिटै टिप्न थालेका हौ ।’ उनीसँगै उनकी श्रीमती पनि अलैची टिप्न व्यस्त छिन् । धानखेत मासेर २० रोपनी क्षेत्रफलमा लगाइएको अलैचीले आम्दानी राम्रै दिनेमा उनीहरु ढुक्क छन् ।
“धानबारी मासेर अलैची खेती गरियो । ३ मुरी धान खेती हुने बारीबाट गतवर्ष १ लाख रुपैया कमाएकोमा यो बर्ष आम्दानी दोब्बर हुने आशा छ ।”–अधिकारीले भने ।
शेराकै गुम बहादुर तामाङ पनि अहिले अलैंची टिप्न व्यस्त छन् । गुमबहादुरले १२ रोपनी क्षेत्रफलमा अलैंची खती गरेका छन् । गतवर्ष उनले डेढ क्वीण्टल अलैंची त्रिवmी गरी १ लाख रुपैया आम्दानी गरेका थिए । यसवर्ष उनले पनि २ क्वीन्टल अलैंची उत्पादन गरी २ लाख आम्दानी हुने आशा पालेका छन् ।
अलैंची लगाइएका गाउँका किसानहरु अहिले अलैंची टिप्न तल्लीन छन् । स्थानीय डम्बरसिं अधिकारीले भने ‘युवायुवती, वृद्धवृद्धा तथा बालबालिका सबै हामी अलैंची टिप्न व्यस्त छौँ ।’ उनका अनुसार ‘अलैंची टिप्न सहर बजारमा बसोबास गर्दै आएका स्थानीयहरु पनि गाउँ फर्केका छन् । अलैंची खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बसाइँ सरेर गएका समेत गाउँ फर्कन थालेका छन् । ताराचोक शेरा गाउँभरि १ सय ५० रोपनी क्षेत्रफलमा अलैची खेती गरिएको छ । ताराचोक शेराका इन्द्र बहादुर तामाङले भने, “दिनभर अलैंची टिप्न व्यस्त हुन्छौं, रातमा छोडाउँछौं ।” अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने तामाङको भनाई छ ।
लमजुङका विभिन्न भागमा डम्बर शाही, जिर्मले र साउने जातको अलैची लगाइएको छ । नेपाल अलैची व्यावसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङका अनुसार जिल्लामा लगाईएका अलैची तीन चरणमा टिप्ने गरीन्छ ।सात सय देखि १२ सय उचाईमा लगाइएको अलैची भदौको दोस्रो साता टिपीन्छ । यस उचाईमा साउने, जिर्मले र डम्बरशाही रोपिन्छ । १ हजार २ सय देखि १ हजार ६ सय मिटर उचाईमा गोलशाही जातको अलैची रोपीन्छ जुन असोजको पहिलो सातापछि पाक्छ । त्यस्तै १६ सय देखि २२ सय मिटर उचाईमा रामशाही र भलाङ्गे जातको अलैची कार्तिकको पहिलो हप्ताबाट टिप्न सुरु गरिन्छ ।
लमजुङमा अलैंचीको राम्रो खेती र सम्भावना रहेका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैची जोन सञ्चालनमा छ । त्यहाँका वरिष्ठ कृषि अधिकृत गोविन्दराज कोइरालाका अनुसार लमजुङमा ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरीएकोमा ६ सय ५० हेक्टर क्षेत्रफलको अलैचीले उत्पादन दिन थालेको छ ।
गत वर्ष अलैची विक्रीबाट लमजुङका किसानले ४ करोड ६८ लाख रुपैया आम्दानी गरेका थिए । यो बर्ष उत्पादन अझ बढ्ने देखिएको भन्दै कोइरालाले आम्दानी थप हुन सक्ने बताए ।
नेपाल अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङका अनुसार नगदे बाली भएकाले अलैंची खेतीमा कृषकको आकर्षण बढ्दो रहेको र लमजुङको अलैची विर्तामोड हुदै भारत, पाकिस्तान ,बंगलादेश हुदै खाडी मुुलुकमा खपत हुने गरेकोे छ । लमजुङ जिल्लामा पहिलोपटक खाँचेका कालुबहादुर तामाङले ३१ वर्षअघि अलैंची खेती सुरु गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *