विपीको पथमा हिँडन सके कांग्रेस फेरि जुर्मुराएर उठ्ने

बेसीशहर २४ भदौ ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटो अबलम्बन गरे नेपाली कांग्रेस फेरि जुर्मुराएर उठ्ने लमजुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई जस्ता युगपुरुषहरुले बनाएको पार्टी उनीहरुले देखाएको मार्गमा नहिँड्दा अहिले दुर्घटनामा परेको उनीहरुले बताएका छन् ।
१०५ औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस बेसीशहर नगर कार्य समितिले आइतबार बेसीशहरमा आयोजना गरेको नगर सम्मेलनमा बोल्ने सबै वक्ताहरुले अझै पनि समय भएकाले पार्टीका नेता कार्यकर्ता सबैले विपी कोइरालाको त्याग र बलिदानलाई सम्झेर उनको मार्गदर्शन अनुसार चल्न सके अब आउने निर्वाचनमा फेरि कांग्रेस ठूलो पार्टी बन्न सक्ने जिकिर गरे ।


उनीहरुले अहिले पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै पार्टीभित्र गुटबन्दी र तछाडमछाडले अहिलेको अवस्था सृजना भएको बताए । अहिलेको कांग्रेसको स्थिति नेताहरुको कारण भएको भन्दै कार्यकर्ताहरुले पनि गुटबन्दीमा रमाउने नेताहरुको पछि लाग्न नहुने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दीलबहादुर घर्तीले विपीले जहिले पनि देशको समृद्धि र जनताको सुख चाहेको स्मरण गर्दै गरिव किसान र मजदुरको हैसियत बने मात्र देशमा समृद्धि आउने विपीको विचार आज पनि मननीय भएको भन्दै विपीदे देखाएको मार्गमा हिँड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
गएका तीनै तहका निर्वाचनमा कांग्रेसले हार ब्यहोरे पनि कत्ति विचलित नभै जनताको मन जित्न नेता कार्यकर्ताहरुले लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले विपीको तस्वीर मात्र हेर्र्ने र उनको नाममा ब्यापार गर्नेहरुबाट सावधान हुनु पर्ने बताउनुभयो । स्वर्गिय कोइराला एशीयाकै नेता भएको चर्चा गर्दै घिमिरेले विश्व समाजवादी आन्दोलनमा विपीको स्थान अग्रणी रहेको चर्चा गर्नुभयो ।
नेता घिमिरेले अहिलेका नेताहरुले मुलुक र पार्टी चलाउन नजानेकै कारण कांग्रेस पछि परेको दावी गर्नुभयो । देश र जनता र पार्टीका लागि विपीले आफ्नो ज्यानको बाजी लगाएको स्मरण गर्दै उहाँले एकले अर्कालाई सिध्याउने खेल खेलिएकै कारण कांग्रेस पछि परेको भन्दै त्यस्तो प्रवृत्ति छोडेर एक अर्कालाई सम्मान गर्न सके मात्र पार्टी बलियो हुने धारणा उहाँले राख्नुभयो ।
कार्यक्रममा वक्ताहरुले विपी कोइरालाका बहुआयामिक ब्यक्तित्वका बारेमा चर्चा गर्नुका साथै नेपाली कांग्रेसको अहिलेको अवस्थाबारे पार्टी नेता कार्यकर्ता सबैले आत्ममूल्यांकन गरी अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, संघीय संसदका सदस्य प्रकाश स्नेही लगायतले बोल्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस बेसीशहर नगर समिति सभापति तिलकबहादुर थापाको अध्यक्षतामा भएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *