जनतासंग साक्षात्कार गर्दै मनाङका कांग्रेस सांसदहरु

नवीन लामिछाने
चामे, भदौ २५ गते ।
चुनाव जितेपछि आफ्ना मतदातालाई विर्सने नेताहरुको बानी हुन्छ । चुनाव अघि विभिन्न आश्वासन दिन गाउँ गाउँ डुल्ने नेताहरु चुनाव जितेपछि जनतामाझ कमै पुग्छन् । तर मनाङमा नेपाली कांग्रेसका सांसदहरु भने यतिबेला गाउँ गाउँ डुलेर जनतासंग साक्षात्कार गरी रहेका छन् । उनीहरुका गुनासा सुन्ने र आफ्नो तर्फबाट हुन सक्ने कुराको प्रतिबद्धता जनाइरहेका छन् ।

नेपाली कांग्रेस मनाङका नेता तथा संघीय संसदका सदस्य कर्म घले र गण्डकी प्रदेशका सांसद चिन्ताबहादुर घले यतिबेला मनाङका विभिन्न भागमा घुम्दै जनताका पीर मर्का बुझ्दै छन् । भर्खरै निस्याङ गाउँ पालिका (माथिल्लो मनाङ) को भ्रमण सकेर उनीहरु तल्लो मनाङ अर्थात सदरमुकाम रहेको चामे गाउँ पालिका फर्कदैं छन् ।

जनतासंगको भेटमा सांसदद्वयले आफ्ना लागि मत दिएकामा फेरि पनि धन्यवाद दिएका छन् । उनीहरुले सिंगो मनाङको विकासका लागि आफूहरु सदैव लागि पर्ने भन्दै मनाङको विकासका लागि पूर्वाधार र पर्यटनको विकासमा आफूहरुले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

निस्याङ गाउँ पालिकामा सांसदहरुले मतदाताका अलवा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुसंग त्यस क्षेत्रका समस्याका बारेमा छलफल गरेका छन् । उनीहरुले त्यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासका लागि स्थानीय सरकारबाट हुन सक्ने काम गर्न र संघ तथा प्रदेशबाट हुन सक्ने कामका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सांसदहरूले मनाङमा अायाेजित शिक्षा दिवसकाे कार्यक्रममा पनि सहभागिता जनाए ।

नेताहरुसंग जनताका अपेक्षा पनि धेरै हुन्छन् । अझ ग्रामीण र दुर्गम भेगका जनताका समस्याका पोका अन्यत्रको तुलनामा धेरै हुनु स्वभाविक पनि हो । त्यसमाथि मनाङ जिल्ला हिमाल पारीको दुर्गम जिल्ला भएकाले विकासको दृष्टिकोणले निकै पछि छ । जिल्लाको विकास निर्माणका लागि विभिन्न स्थानमा स्थानीयले सांसदहरुलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

तस्वीरहरू ः थुतेन लामा


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *