पर्यटकीय भुजुङमा गाउँमा रितिस्थिती बसाउन भदाैसभा, अन्न तथा ज्यालामा पुरानै भाउ सदर

मिलन शर्मा दनाइ

बेसीशहर, २६ भदाै ।

गाउँमा अबको एक बर्षका लागि नीति नियम र रितस्थिति बसाल्न, स्थानीय उत्पादनहरुको भाउ तोक्न लमजुङको पर्यटकीय भुजुङमा आयोजित परम्परागत भदौसभा तीनदिनसम्म चलेर सम्पन्न भएको छ ।

गत शुक्रबारदेखि शुरु भएको भदौ सभा आइतबार सम्पन्न भएको हो । भदौ सभाले हरेक बर्ष गाउँमा उत्पादन हुने कृषि उपज, हस्तकलाका सामग्रीको मूल्य तोक्नुका साथै ज्याला मजदुरी आदिको पारिश्रमिक निर्धारण गर्ने गर्छ । तर यस बर्ष भने अन्नपात, घरेलु हस्तकलाका सामानको मूल्य र मेलापात र सिकर्मी डकर्मीको ज्यालामा अघिल्लो बर्षकै दर रेटलाई सदर गरिएको छ ।
भुजुङमा परम्परादेखि नै भदौ सभाले यस्ता निर्णय गर्ने गरेको छ । गाउँका अगुवा, भद्रभलाद्मी, जनप्रतिनिधि, आमा तथा बाबा समूह, युवा क्लव र प्रत्येक घरमुलीलाई भदौ सभामा अनिवार्य रुपमा उपस्थित गराएर निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गरी निर्णय गर्ने चलन छ । केही विषयमा कसैको विमति भएमा त्यसमा समेत गहन छलफल गरी निर्णयमा लिने गरिएको छ ।

त्यहाँ गठन भएको रितिस्थिति ब्यवस्थापन समितिले सभाको आयोजना गर्छ । यस बर्ष पनि समितिका अध्यक्ष कालबहादुर गुरुङको अध्यक्षतामा भदौ सभा सम्पन्न भयो । सभा गर्दा सबै गाउँलेहरुको बीचमा तामाको ताउलो राखिएको हुन्छ । ताउलामा पाती र खुकुरी राखिन्छ । तामाको ताउलो र खुकुरीको धार समाएर स्थानीयहरु गाउँको नियम कानुन मान्ने सपथ लिन्छन् । साथै गएको बर्ष आफू र आफ्नो परिवारबाट गाउँको रितिस्थिति तोड्ने कुनै कार्य नभएको र अन्जानमा भएको भए कसुर अनुसार सभाले तोकेको जरिवाना तिर्न मञ्जुर रहेको आशयको सपथ खाने चलन छ ।

स्थानीय लालीगुराँस युवा क्लवका सचिव यमबहादुर गुरुङका अनुसार भुजुङमा यो चलन सदियौं पहिलेदेखिको हो । त्यस ठाउँमा गुरुङहरुको वस्ती बसेदेखि नै यो चलन चलेको विश्वास गरिन्छ । गाउँको आन्तरिक रितिस्थति बसाउन र बारबन्देज लगाउन यस्तो सभाको शुरुवात भएको हो ।
गुरुङ भन्छन्– भौगोलिक रुपले विकट र खोंचमा वस्ती भएकाले पहिला सरकारको पहुँच पनि गाउँमा नपुगेर होला, हाम्रा पुर्खाहरुले गाउँमा आफैले कानुन बनाएको हुनुपर्छ । सरकारको पहुँच नभएकाले गाउँमा रितिस्थिति बसाउन र सबैलाई अनुशासनमा राख्न त्यतिबेला गाउँको कानुन बनाइएको हो र अहिले पनि त्यो परम्परा कायमै छ ।” गुरुङ थप्छन्– पुरानो रिती भए पनि गाउँको हितमै छ, फेरि हाम्रो सभाले सरकारको कानुनसंग बाझ्ने गरी नियम बनाउँदैन ।

भुजुङ गाउँको बीचभागमा एउटा ठाँटी छ । गाउँमा कुनै विशेष कार्यक्रम, समारोह, नाचगान, वैठक भेला आदि हुँदा सबै त्यहाँ जम्मा हुन्छन् । त्यही ठाँटीमा भेला भएर भदौसभा गरिएको हो । सभामा वितेको बर्ष गाउँको कानुन उल्लंघन भए नभएको बारे पनि छलफल भयो । अघिल्लो बर्ष कसैले नियम विपरित काम गरेको भए सभाले दण्डको ब्यवस्था गर्छ । कसैले नियम विपरित केही गरेको भए त्यसको प्रकृति अनुसार दण्ड जरिवाना गरिन्छ । यस्तो दण्ड जरिवाना गर्दा प्रचलित कानुनलाई चुनौति दिने काम भने हुँदैन ।

क्व्होंलासौंथर गाउँ पालिका वडा नंं ४ भुजुङका वडाध्यक्षसमेत रहेको समाजसेवी खिमबहादुर गुरुङका अनुसार यसपालीको भदौसभाले गाउँमा खासै नयाँ रितिस्थिति तोकेको छैन । सभाले अघिल्लो बर्षकै दररेटलाई यस बर्षका लागि पनि कायम हुने गरी निर्णय लिएको छ । उनले भने– “वरपरका गाउँहरुमा समेत भारापर्म, अन्नपात, स्थानीय राडीपाखी, मान्द्रा, भकारी, डोको डालो, थुन्से आदिको मूल्यमा परिवर्तन भएको नदेखिएकाले अघिल्लो बर्ष अनुसार नै हुने निर्णय गरियो । ”

गुरुङका अनुसार अघिल्लो बर्ष दक्ष सिकर्मी डकर्मीको दैनिक ज्याला ५ सय ५० रहेकोमा सोही सदर भएको छ । सामान्य डकर्मी सिकर्मीको ज्याला दैनिक ४ सय ५० छ । गाउँमा सामान्य मेलापातका लागि २ सय ५० ज्याला तोकिएको छ । घिउ तथा महको मुल्य प्रति कुरुवा माना ५ सय तोकिएको छ । त्यस्तै धान, मकै, गहूँ, आलु जस्ता अन्नवाली, राडीपाखी, बख्खु, डोका, थुन्से, डालो, नाङलो जस्ता घरायसी प्रयोगका सामग्री आदिको पनि मुल्य निर्धारण गरिएको छ । अन्नवाली तथा घिउ महको भाउ माना पाथीको आधारमा तय गरिएको छ ।

यद्यपी महशिकारका लागि भने यसपाली नयाँ निर्णय गरिएको उनले बताए । उनका अनुसार गाउँमा महशिकार प्रत्येक बर्ष २÷२ वडाले पालो पालो गरी मह काड्ने गरिन्थ्यो । सामान्यतया एकपटक मह काढ्दा १ सय टीन मह उत्पादन हुन्थ्यो । अब भने गाउँमा कुनै संघसंस्था तथा विदेशी पर्यटक आएर महशिकार गर्ने भएमा एकमुष्ट रकम दिनेलाई महशिकार गर्न दिने निर्णय गरिएको छ । यसका लागि महशिकार गर्ने गराउनेले न्यूनतम ६० हजार रुपैयाँ तिर्नुपर्ने वडाध्यक्ष गुरुङले जानकारी दिए ।
पहिले एक गाविस एक गाउँको रुपमा परिचित भुजुङ गाउँ अहिले क्व्होंलासौंथर गाउँ पालिकाको वडा नंं ४ भएको छ । यो गाउँमा झण्डै ४ सय घर एकै ठाउँमा गुजमुज्ज छन् । ग्रामीण पर्यटनको अवधारणा अनुसार अघि बढेको यो गाउँ देश विदेशसम्म ख्याती कमाउने लमजुङका कमै गाउँमध्ये पर्छ ।

यहाँका बासीन्दाहरु निकै सरल र सोझा छन् । कसैको विगार गर्दैनन् । गाउँको विकासका लागि, परम्परागत भाषा, संस्कृति, भेषभुषा र रहनसहन संरक्षणका लागि एकजुट भएर लाग्छन् ।

भुजुङ गाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यक्षेत्रभित्र पर्छ । यहाँ एक्यापको इलाका संरक्षण कार्यालय पनि छ । यसले मुख्यतः प्रकृति संरक्षणमा काम गर्ने भए पनि गाउँको विकासका लागि अग्रणी भूमिका खेलेको छ । स्थानीय बासीन्दाको चेतनास्तर बढाउन मात्र होइन, गाउँलाई पर्यटकीय गाउँको चिनारी दिलाउन एक्यापको भूमिका उल्लेखनीय छ ।
हिजोसम्म विकट गाउँको परिचय बनाएको भुजुङ अहिले सुगम छ ।

सदरमुकामबाट मोटरमा भुजुङ गाउँ पुग्न केही घण्टा मात्र लाग्छ । भुजुङ गाउँमा अधिकांश गुरुङ छन् र केही घर दलितहरुका पनि छन् । त्यहाँका बासीन्दाको मुख्य पेशा कृषि र पशुपालन हो । युवाहरु भर्ती भएर लाहुरे हुने प्रचलन धेरै पहिलेदेखिको हो । अहिले वैदेशिक रोजगारका लागि खाडी तथा मलेशियातिर जानेहरुको संख्या पनि निकै छ । गाउँमा बृद्धबृद्धा र बालबालिका बढी छन् । धेरै युवा युवती अध्ययन र रोजगारीका लागि गाउँबाहिर भए पनि गाउँ नै छोडेर जाने क्रम चाहिँ अन्यत्र जस्तो भुजुङमा छैन ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *