बाढी र पहिरोमा परी लमजुङमा मृत्यु हुनेहरुको संख्या ४ पुग्याे

बेसीसहर भदौ २८ गते ।
बुधवारको भारी बर्षापछि आएको बाढी र पहिरोमा परी लमजुङमा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ ।
बाढीमा परी बेपत्ता भएकी मस्र्याङदी गाउँ पालिका वडा नं. ५ श्रीचौरकी ललितमाया गुरुङ आज बिहीबार मृत अवस्थामा फेला परेपछि मृतकहरुको संख्या ४ पुगेको हो । ललितमायालाई अर्खले बेसीमा रहेको तोप्रो खोलाले हिजो बगाएको थियो ।

अर्खलेकाे ताेप्राे खाेलामा बनाइएकाे अस्थायी पुल । तस्वीर निरज अधिकारी

लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी बुधवार मस्र्याङदी गाउँपालिका– ३ खुदी तरापु पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरिष थापा पहिरो छल्न भाग्दै गर्दा सख्त घाइते भएकामा बुधवार राती मृत्यु भएको हो । त्यस्तै अर्की मृतक मस्र्याङ्दी गाउँपालिका ५ की विष्णुकली गुरुङको बाख्रा चराउन जाँदा पहिरोमा परेकी थिइन ।
बुधवारको बाढीमा परी तीनजना अझै बेपत्ता छन् । मस्र्याङदी गाउँपालिका अन्तर्गत अर्खलेको तोप्रो खोलाले बगाएका सोही गाउँपालिका वडा नं. ४ का राजु लामा र बेसीसहर नगरपालिका अन्तर्गत ११ नम्बर वडामा पर्ने रामचोकबेसीमा निर्माणाधीन दोर्दी खोला जलविद्युत आयोजनामा काम गर्ने बलिराम चौधरी र लक्ष्मण थारु अझै बेपत्ता छन् । ३२ बर्षका चौधरी र २५ बर्षका थारुलाई मस्र्याङदीको बाढीले बगाएको हो । उनीहरु क्रमशः बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं. ५ का बासीन्दा हुन् ।
बाढी र पहिरोबाट भएको क्षतिको एकीन विवरण अझै आइसकेको छैन । बाढीपहिरोले सडक अबरुद्ध भएकाले उद्दारमा जान पनि समस्या परेको जिल्ला प्रशासन कार्यालयको विपद ब्यवस्थापन शाखाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले मस्र्याङदी गाउँपालिकाको घोप्टेभीर, च्याम्चे क्षेत्रबाट बाढी पहिरोमा परी घाइते भएका तथा यात्राका क्रममा फसेका केहीलाई आज हेलिकोप्टरबाट उद्दार गरिएको बताए । तीमध्ये चारजना घाइतेहरुलाई उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा राखिएकोमा एकजना उपचारपछि फर्किएका छन् ।

अस्पतालमा घाइतेकाे अवस्थाबारे जानकारी लिदै संविधानसभा सदस्य जमीन्द्रमान घले र लमजुङका प्रजिअ झंकनाथ ढकाल ।

बाढी पहिरोमा परी घाइते हुनेमा मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ घर भइ अर्खले बेसीमा बस्दै आएकी बर्ष १८ की पार्वती गुरुङ, सोही वडाको च्याम्चेकी बर्ष ८१ की उरमाया तामाङ,३ वडा नंं ४ कै फूलमाया गुरुङ, श्रीचौरकी नयनमाया गुरुङ, र च्याम्चेकै बलबहादुर गुरुङको अहिले सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपहिराेमा परी घाइते भएकी अर्खले बेसीकी पार्वती गुरूङ सामुदायिक अस्पतालमा उपचार गराउँदै ।

उद्दारका लागि हेलिकोप्टरबाट उत्तरी लमजुङ पुगेका संविधानसभाका सभासद जमीन्द्रमान घलेले बाढी पहिरोले नराम्रो क्षति गरेको बताए । “ मस्र्याङ्दी गाउँपालिकाको वडा नंं ३, ४, ५ र ६ मा बढी क्षति भएको छ तर क्षतिको कुनै लेखाजोखा छैन, मानिसहरु असाध्यै डराएका छन् ।”उनले भने ।
बाढीले १ ट्याक्टर, ३ वटा मोटरसाइकल, एउटा मिनीट्रक र एउटा जीप बगाएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले पहिरोले सडक अबरुद्ध भएपछि गाउँपालिका वडा नंं ४ ताघ्रिङको घोप्टेभीरमा पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि गएको हेलिकोप्टर ल्याण्ड गर्न नसकेपछि आकासबाटै खानेकुरा र पानी फालेर फर्केको थियो । पछि रामबजार र अर्खलेबेसीमा ल्याण्ड गरी त्यहाँका घाइतेहरुलाई उद्दार गरिएको थियो ।
अहिले थप उद्दारका लागि नेपाली सेनाको एउटा टोली पैदलमार्ग हुँदै त्यसतर्फ गएको छ । मस्र्याङ्दी गाउँपालिका ६, बाहुनडाँडामा ४ वटा घर पहिरोले बगाएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *