लमजुङमा स्वास्थ्य कार्यालय स्थापना, लमजुङ र मनाङ दुइ जिल्ला हेर्ने

शान्ता कमली

बेसीशहर भदाै २९ गते ।

लमजुङ र मनाङ दुइ जिल्ला हेर्ने गरी लमजुङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ । गणडकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीबार स्वास्थ्य र आयुर्वेद कार्यालयको उद्घाटन गरिन् । कार्यालय साविककाे जिल्ला जनस्वास्थ्य कार्यालयमा रहने छ ।

गण्डकी प्रदेशमा ५ वटा मात्र स्वास्थ्य कार्यालय रहने प्रावधानअनुसार लमजुङले दुई जिल्ला हेर्ने जिम्मा पाएको मन्त्री पुनले बताइन् । संघीय मन्त्रिपरिषद्मा ११ वटै जिल्लामा कार्यालय राख्ने प्रस्ताव पठाएको उनले बताइन्  ।

‘हामीले शिक्षा र स्वास्थ्य सेवा निशुल्क र अनिवार्य हुनुपर्छ भनेर संघीय सरकारसम्म कुरा लगेका छौं,’ उनले भनिन् ‘त्यसका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त पनि बनाउनुपर्छ ।’

पाँच कार्यालयले मात्र प्रदेशका सबै जिल्लामा प्राविधिक सहयोग तथा समन्वयको काम गर्न नसक्ने उनको भनाइ छ । मन्त्री पुनले प्रदेशको स्वास्थ्य ऐन बन्न लागेको भन्दै स्वास्थ्य क्षेत्रको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी ऐन बन्ने बताइन् ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले मुलुक अहिले संघीयताको कार्यान्वयनको चरणमा रहेको हुँदा कर्मचारीले उच्च मनोवलका साथ काम गर्न सुझाव दिईन्।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक तारानाथ पौडेलले जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा दिनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरुले उच्च मनोवलका साथ निस्वार्थ रुपमा खट्न निर्देशन दिए ।

‘अब म संघीय सरकारको कर्मचारी हुँ वा प्रदेश सरकारको भनेर छुट्याई रहनु पर्ने आवश्यकता छैन,’ उनले भने, ‘हामी स्वास्थ्यकर्मी हौं, हाम्रो काम, कर्तव्य र जिम्मेवारी सेवा दिने हो भन्ने मात्रै संझिनु पर्छ।’

त्यस्तै, बेसीसहर नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका कार्यालय संयोजक कृष्णप्रसाद अधिकारी, नेपाली काँग्र्रेसका सचिव हरिप्रसाद बराल लगायतले पनि स्वास्थ्य कार्यालयको स्थापनाले थप प्रभावकारी सेवा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यालयमा वरिष्ठ जनस्वास्थ्य अधिकृत सहित ११ कर्मचारीको दरबन्दी छ । कार्यालयले औषधि, विशेषज्ञ सेवा, खोप व्यवस्थापन र स्थानीय तहमा प्राविधिक सहयोग लगायतका काम गर्नेछ ।

कार्यालयले दुइवटै जिल्लाको आधारभूत स्वास्थ्य सेवा, प्राविधिक सहयोग र व्यवस्थापकीय काम हेर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत केशबप्रसाद चापागाइँले बताए ।

लमजुङको ७५ वडामध्ये ५ वटा वडामा स्वास्थ्य संस्था नभएको र मनाङको २८ वडामध्ये १२ वडामा स्वास्थ्य संस्था नभएको चापागाइँले बताए । हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर सहितको सेवा र दरबन्दी पु-याउने, स्वास्थ्यचौकीमा आवश्यक दरबन्दी र प्रभावकारी उपचार सेवा लैजाने काममा पहल गर्ने चापागाइँले प्रतिबद्धता जनाए ।

लमजुङमा १ लाख ७१ हजार १ सय ५ सय र मनाङमा ६ हजार ३ सय ९५ जनसँङ्ख्या रहेको छ । मनाङमा एउटा सरकारी अस्पताल र १३ स्वास्थ्य चौकी,३ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन्।

लमजुङमा दुई वटा सरकारी अस्पताल, दुई वटा प्राथामिक स्वास्थ्य केन्द्र, ५७ वटा स्वास्थ्य चौकी, ७ वटा नगरस्वास्थ्य केन्द्र, ८ वटा सामुदयिक स्वास्थ्य इकाई र ६ वटा निजी अस्पताल रहेको चापागाइँले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *