लमजुङमा विपदमा परी मृत्यु हुनेका परिवारलाई चारदिनभित्रै राहत वितरण, हराएका तीनजना अझै बेपत्ता

भदौ ३०, लमजुङ
लमजुङको मस्र्याङदी गाउँ पालिकाका विभिन्न भागमा गत बुधवारको अविरल बर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई राहत वितरण गरिएको छ ।
जिल्ला विपद ब्यवस्थापन समिति र मस्र्याङदी गाउँपालिकाले छुट्टछुट्टै रुपमा पीडित परिवारलाई राहत वितरण गरेका हुन् ।
गत बुधवार लमजुङको मस्र्याङदी गाउँपालिका वडा नंं ३ खुदीको तरापु पल्लोटारीका एकाघरका दुईजना र वडा नंं ४ अर्खले बेसी तथा श्रीचौरमा एक÷एकजनाको मृत्यु भएको थियो ।
जिल्लामा विपदबाट मृत्यु भएका चारैजनाको परिवारलाई जनही १ लाख रुपैयाँ राहत रकम वितरण गरिएको जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाले बताए । मस्र्याङदी गाउँपालिका वडा नंं. ३ तरापु पल्लो टारीका मृतक अतिरूपा थापा र सिरस थापा तथा सोही गाउँपालिकाको वडा नंं ४ अर्खलेबेसीका मृतक ललितमाया गुरूङका परिवारलाई बिहीबार र सोही वडाको श्रीचौरका मृतक विष्णुकली गुरूङका परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो ।

बाढीपीडित परिवारलाइ राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी तथा प्रनाउ खुदी पल्लाेटारीमा ।

यसैगरी मस्र्याङदी गाउँपालिकाले पनि विपदमा परी मृत्यु भएकाहरुको परिवारलाई राहतस्वरुप प्रतिमृतक ५० हजारका दरले रू. २ लाख राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले बताएका छन् ।
भदौ २७ को भीषण वर्षाको कारण मर्स्याङ्दी गाउँपालिकालाई परेको बिपत ब्यवस्थापनको सिलसिलामा मृतकहरुलाई राहत बितरण, घाईतेहरुको उद्धार र उपचार लगभग अन्तिम चरणमा पुगिएको र यो दुःखद घडिमा राहत र उद्धारमा सम्लग्न हुनुहुने सम्पुर्ण जनसमुदाय, सरकारी तथा गैरसरकारी निकायहरु प्रति अध्यक्ष गुरुङले आभार प्रकट गरेका छन् ।

बाढीपीडित परिवारलाइ राहत वितरण गर्दै मर्स्याङदी गाउँपालिकाका प्रमुख उपप्रमुखलगायत ।

अध्यक्ष गुरुङले बाढपहिरोमा परेका घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैे बाढी र पहिरोका कारण क्षतिग्रस्त बेशीशहर चामे सडक खण्डको यथाशीघ्र मर्मत गरि सडक सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यसैबीच जिल्ला विपद ब्यवस्थापन समितिले विपदबाट घर क्षति भएका परिवारलाई राहत वितरण गर्ने कार्यको समेत शुरूवात गरिएको जनाएको छ । यस क्रममा घर पूर्ण रूपमा क्षति भएका मर्स्याङदी ४ का ललितमाया गुरूङ र बलराम गुरूङका परिवारलाई प्रकोप पिडित उद्वार तथा राहत सम्बन्धी मापदण्ड बमोजिम जनही रू. ५० हजारका दरले रू.१ लाख राहत रकम वितरण गरिएको अध्यक्ष ढकालले बताए ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाले समेत बाढीपहिरो पीडितकाहाँ पुगेर त्रिपाल लगायतका गैरखाद्य सामग्री वितरण गरेको छ ।

बाढीपहिराे पीडितलाइ राहत वितरण गर्दै रेडक्रसकर्मीहरू

लमजुङमा भदौ १७ को बाढी र पहिरोमा परी हराएका ३ जना अझै फेला परेका छैनन् । मस्र्याङदी गाउँपालिकाको वडा नं. ३ अर्खलेबेसीबाट राजु लामा बेपत्ता भएका छन् । त्यस्तै बेसीशहर नगरपालिकाको वडा नं. ११ रामचोकबेसीमा निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाका मजदुर बलिराम चौधरी र लक्ष्मण थारुलाई बाढीले बगाएको छ ।
बाढीमा परेका उनीहरुको खोजीकार्य जारी रहेको छ । अर्खलेबाट बाढीमा परी बेपत्ता भएका राजु लामाको खोजीका लागि बिहीबार मध्य मस्र्याङदी जलविद्युत केन्द्रको बाँध थुनेर तल्लो तटीय क्षेत्रमा सुरक्षाकर्मि, आयोजनाका कर्मचारी र परिवारका सदस्य समेतको सहभागितामा खोजी कार्य गरिएको थियो ।
चैविस घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै प्रारम्भिक राहात वितरण
लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै राहत वितरण गरिएको छ । बाढी पहिरोमा परी मृत्यु भएका ४ जनाका परिवार र विपदको कारण घर क्षति भएका १२ परिवारलाई प्रकोप पिडित उद्धार र राहात सम्बन्धी मापदण्ड (छैठौं संशोधन), २०७४ अनुरूप राहत वितरण गर्ने कार्य सम्पन्न भएको प्रजिअ ढकालले बताए । प्रतिकूल मौसम, सयौं स्थानमा सडक अवरूद्ध भएको अवस्थामा समेत राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिई राहत रकम पिडितको घर आंगनमा समयमा नै पु¥याउन सकेकामा जनस्तरबाट विपद ब्यवस्थापन समितिको सरहना भएको छ ।
राहत वितरण संगै अवरुद्ध सडक खुलाउने प्रयास तीब्र पारिएको छ । प्रजिअ ढकालले खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको र बेशीशहरदेखि ङादीसम्म सडक सुचारु भएको बताए । बेशीशहर चामे सडक खण्डको रामबजारबाट उत्तर तर्फको अवरुद्ध सडक समेत खुलाइ सकिएको र ङादी देखि माथि तर्फको सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *