बेसीशहर चामे सडक अझै सुचारु हुन सकेन, सिजनका बेला पर्यटन ब्यवसायी मारमा

नवीन लामिछाने

चामे, मनाङ, भदाै ३१ ।

गत भाद्र २७ गते आएको बाढी, पहिरोका कारण अवरुद्ध बेसीशहर चामे सडक अझै सुचारु हुन सकेको छैन ।
प्रतिकूल मौसम, बाढी र पहिरोले सयौं स्थानमा सडक अवरूद्ध भएका कारण सडक मर्मतमा कठीनाइ भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङको सक्रियतामा अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय दमौलीले तीब्र प्रयास गरे पनि सडक मर्मतको काममा सफलता मिलेको छैन ।

बाढीपहिराेले साना खाेल्साहरूमा पनि सडककाे नामाेनिशान मेटिदिएकाे छ । तस्वीर खिला शर्मा धिमिरे

बेसीशहरबाट च्याम्चेसम्मको सडक अधिकांश ठाउँमा बाढी पहिरोले सडकलाई नराम्ररी क्षति गरेको छ । यद्यपी बेसीशहर नगरपालिकाको बेलौतिबिसौना नजिकैको उत्तिसघारी खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइ यातायात ङादीबजारसम्म सुचारु गरिएको छ । त्यस्तै ताघ्रिङको रामबजारबाट उत्तर तर्फको अवरुद्ध सडक समेत खुलिसकेको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।
ढकालका अनुसार शनिबारदेखि ङादी–अर्खले सडक खुलाउने प्रयास भइरहेको छ । त्यस्तै नराम्ररी क्षतिग्रस्त भएको काप्रेभीर, घोप्टेभीर सडक खण्डमा माथिल्लो मस्र्याङ्दी ए को ठेकेदार बुटवल पावर कम्पनीको काम गर्ने सिनो हाइड्रोका ठूला उपकरण ल्याएर सडक खुलाउने प्रयास गरिएको छ ।


मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले काप्रेभीर तथा घोप्टेखोलामा बाढीपहिरोले नराम्ररी सडक विगारेको छ । सो ठाउँमा बम ब्लाष्ट नगरी सडक बनाउन सकिने अवस्था आफूले नदेखेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी ढकालले अर्खलेबेशी नजिकको खोलामा ठुलो ढुंगाले सडक अवरुद्ध गरी निर्माणका लागि माथितर्फ लैजानुपर्ने मेशिन लैजान नसकिएकाले समस्या भएको बताउनुभयो । सो ढुंगालाई विष्फोट गराइ मेसिन उपकरण माथिल्लो क्षेत्रमा लैजाने तयारी भैरहकेको उहाँले बताउनुभयो ।
स्थानीय समाजसेवी नरबहादुर गुरुङले घोप्टेभीरमा बाढीपहिरोले विगारेको सडक सानो मेहनेतले नबन्ने बताउनुभयो । उहाँले भन्नुभयो– “बाढी र पहिरोले सडकको नामो निसान राखेको छैन, खोलामा विशाल चट्टान मात्र छ, सडकको ट्रयाक परिवर्तन गरेर वा सोही विशाल चट्टानलाई बिष्फोट गरे मात्र सडकलाई पल्लो किनरासंग जोडन सकिन्छ ।”

घाेप्टेखाेलामा स्थानीयले बनाएकाे कच्ची फड्रकेबाट खाेला तर्दै यात्रुहरू । क्षातिग्रस्त सडक मर्मतमा यहीनेर सबैभन्दा धेरै चुनाैति छ । तस्वीर नरबहादुर गुरूङ ।

बेसीशहर चामे सडक बाढीपहिरोका कारण अबरुद्ध भएपछि लमजुङको मस्र्याङदी गाउँपालिका अन्तर्गत स्यांगे, श्रीचौर, जगत, च्याम्चे लगायत उत्तरी क्षेत्रका बासीन्दा समस्यामा परेका छन् ।
मनाङलाई जोड्ने एकमात्र मार्ग रहेको यो सडक क्षतिग्रस्त भएपछि मनाङीहरु समेत निकै समस्या परेका छन् । भएपछि मनाङ जिल्लामा खाद्यान्न लगायत अति जरुरी सामग्री ढुवानी हुन सकेको छैन ।
सडक क्षतिग्रस्त हुँदाको मार पर्यटकलाई पनि उत्तिकै परेको छ । अन्नपूर्ण पदयात्रा मार्गमा यतिबेला पर्यटकहरुको चहलपहल हुने समय हो । सेप्टेम्बर र अक्टोबर चक्रीय अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकहरु खचाखच हुनु पर्ने भए पनि यतिबेला लमजुङ र मनाङका होटलमा पर्यटकको चाप छैन । बाढी पहिरो आउनु अघि केही चहलपहल भए पनि अहिले सडक भत्केपछि पर्यटक आउन छोडेका छन् । “मनाङ छिर्ने मुख्य नाका नै लमजुङ भएकाले बाढी पहिरोको कारण नाका नै वन्द भएको स्थानिय सुरेन्द्र गुरुङले बताए ।
“नेपालमा बर्खा सकिएर हिउँद लाग्ने बेला पर्यटक आउने सिजन हो । यही सिजनको बेलामा पहिरोले बाटो अवरुद्ध भई यातयत सुचारु हुन नसक्दा मनाङका पर्यटन व्यावसायीलाई मात्र होइन, सिगै देशले नोक्सानी बेहोर्नु परेको पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्षसमेत रहेका होटल यति मनाङका सञ्चालक विनोद गुरुङको भनाई छ । उनी भन्छन् ”पहिलो गासमै ढुंगा भनेझै सिजनको शुरुवतमै पर्यटक घटेका छन् । पर्यटक खचाखच हुने बेला आवश्यक खाद्यान्न लगायतका सामानहरु भित्राउन सकिएको छैन । पर्यटकहरु बाटो बाटै पर्कन थलेका छन् ।“

जाेखिमपूर्णा पदयात्रामा पर्यटकहरू । तस्वीर निरज अधिकारी ।

सडकको असुविधाले मनाङका होटल व्यवसाय, सर्वसाधारण र कर्मचारी पर्यटकलाई प्रत्यक्ष प्रभाव पारेको छ । पनी पर्न अझै कम नभएकाले सडक खुल्ने कहिले हो अन्योलमा रहेको छ ।
पानी पर्न नरोकीएकाले सडक मर्मतमा कठीनाइ आएको लमजुङका प्रहरी नायब उपरीक्षक यादब ढकालले बताए । उनका अनुसार यातयत सुचारु हुन अझै एक हप्ता लाग्न सक्छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *