फाेहाेर उठाउन सिडिअाे नै नालीमा पसेपछि…….

बेसीशहर, असाेज २ गते ।

गमक्क परेकाे खाइलाग्दाे ज्यान । पुट्ट निस्केकाे भुँडी । अग्लाे र गर्विलाे ब्यक्तित्व । हातमा सेता पन्जा, खुट्टामा गमबुट लगाएर एक हुल मान्छेकाे अघिअघि नेतृत्वदायी भूमिकामा छन उनी। अघिपछि सेना र प्रहरी पनि छन् । उही मान्छे जता जान्छ ती पनि त्यतै त्यतै । मानाैं उ माहुरीकाे रानाे हाे । रानु जता जान्छ माहुरी त्यतै झुम्मिएजस्ताे  ।

त्यही मान्छे कहिले बजारका नालीमा पस्छ, हातभरी फाेहर निकालेर अरूलाइ पुग्न दिन्छ । कहिले नालीकाे छेउका झार उक्काउँछ । उसकाे सिकाे गर्दै हुलका अरू पनि नालीकाे छेउछाउ, सडकमा फालिएका फाेहर उठाउँछन् ।

कसैका हातमा कुचाे पनि छ, कसैका हातमा थैला, काेही डाेकाेमा फाेहर उठाउँदै छन् । तीनकाे बीचमा त्यही माेटाे मान्छे वरपर रमिता हेरीरहेका मान्छेहरूलाइ अाफ्नाे घरवरपर सफासुग्घर राख्न, दिनमा एकपटक कम्तीमा ५ मिनेट घरवरपर सरसफाइ गर्नुहाेस् है भन्दै हिँडेका देखिन्थे ।

सरसफाइ अभियानमा सहभागीहरू

 

हेर्दा कुनै कार्यालयकाे हाकिम जस्ताे देखिने ब्यक्तित्व भए पनि सडकका नाली नाली पस्दै फाेहाेर  उठाउँदै गर्दा हाकिम हाे भनेर कसैले पत्याएन । न निम्नस्तरकाे कर्मचारी हाे नै भन्न कसैले सके ।

साेमबार बिहान बेसीशहरकाे करपुरेश्वर चाेकमा उभिरहँदा सुन्दरबजार नगरपालिका वडा नं. २ पुर्काङका तीर्थराज सेढाइँलाइ यस्तै जिज्ञासा भयाे । नजिकै उभिएका पूर्व शिक्षक विष्णु अधिकारीसंग जिज्ञासा राखे । बेसीशहर नगर विकास समितिका पूर्व अध्यक्ष भुपाल दनाइले फाेहाेर उठाउने त्याे माेटाे मान्छे सिडिअाे हुन् भनेपछि सेढाइँ तीनछक परे ।

नालीबाट फाेहाेर निकाल्दै प्रजिअ ढकाल

“सिडिअाे जस्ताे मान्छे पनि सडक सडक, नाली नाली फाेहाेर टिप्दै हिँडेकाे मैले अहिलेसम्म देखेकाे थिइन” उनले भने । सामान्य मान्छे पनि सडककाे दुर्घन्धित नालीमा नाक छाेपेर हिँडेकाे देखेका उनलाइ नालीमै पसेर फाेहाेर टिप्ने मान्छे सिडिअाे हाे भन्दा शुरूमा पत्याउनै मुश्किल पर्याे ।

उनले भने “यस्ताे ठूलाबडा मान्छेले अाफ्नाे घर अगाडि अाएर फाेहाेर टिपेकाे देख्दा लाज मानेर अबदेखि अाफै फाेहाेर उठाएर फाल्ने गरे त ठीकै हाे, तर यहाँका मान्छे अहिले अाएझैं फेरि अर्काे दिन पनि यसरी नै फाेहाेर उठाउन अाइहाल्छन् नि भनेर कुरेर बस्लान् जस्ता छन् ।”

संविधान दिवस जिल्ला समाराेह समिति लमजुङको अायाेजनामा बेसीशहर  बजार क्षेत्रमा मंगलबार चलाइएकाे सरसफाइ अभियानकाे कुरा हाे याे । यस अभियानमा सहभागी सबैले नाली, सडक तथा सडकपेटीबाट उठाइएका फाेहर बाेरा, डाेकामा हालेर  त्यही ट्याक्टरमा फालेका थिए ।

फाेहर व्यवस्थापनकाे सन्दर्भमा जथाभावी फाेहर नफालाैं , ताेकिएकाे स्थानमा मात्र फाेहर व्यवस्थापन गराै, सडक र पैददयात्री हिड्ने मार्गमा जथाभावी निर्माण सामग्री, ठेलागाढा नराखाैं सहितका जनचेतना फैलाउने काम गरिएकाे थियाे ।

मंगलबार बिहान ७ बजेदेखि शेरा बजार, विदाई चाैतारी हुँदै फुलवारी मञ्च सम्म सरसफाइ कार्यक्रम सञ्चालन भएकाे हाे । कार्यक्रममा जिल्ला समन्वय समितका संयाेजक लाेकराज पाण्डे,  प्रमुख जिल्ला अधिकारी  झंकनाथ ढकाल, प्रनाउ यादव ढकालसहित राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि, स्थानीय ब्यापारी, संघसंस्थाका प्रतिनिधि, अामा समूहका प्रतिनिधि तथा सुरक्षाकर्मी, बेशीशहर नगर क्षेत्रका युवा क्लव, टाेल सुधार समितिका सदस्यहरू, निजी क्षेत्रका बैक, वित्तिय क्षेत्रसहित अन्य निजी क्षेत्रका प्रतिष्ठानहरू, सहकारी संस्थाहरू सहभागी थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *