लाैह पुरूष स्व. गणेशमान सिंहकाे १०२ अाैं स्मृति दिवस मनाइदै

अाज स्व. गणेशमान सिंहकाे १०२ अाैं स्मृति दिवस । नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलन का सर्वोच्च कमान्डर स्व. सिंहकाे स्मृति दिवस देशभर विभन्न कार्यक्रम गरी मनाइदैछ ।

१९७२ साल कार्तिक २४ गते काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंह नेपाली राजनीतिका सर्वमान्य नेता र लौह पुरुष मानिन्छन । पिता ज्ञानमान सिंह र माता सुभद्राकुमारी सिंहका जेठा सुपुत्र गणेशमान सिंहको पारिवारिक नाम हिराकाजी थियाे । पिता ज्ञानमान र बाजे हिरामानको अल्पायुमै निधन भएकाले उनको पालनपोषण सरदार रत्नमान सिंहबाट भयो। सरदार रत्नमान सिंह राणाकालका प्रभावशाली भारदार भएकाले गणेशमान सिंहको बाल्यकाल र युवावस्था सम्पन्नतामा बितेकाले सुखद थियाे ।

सिंहको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा कक्षा ६ सम्म भएको थियो। राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा स्कुलबाट उनी निष्काशित हुनुपर्याे । उनले म्याटि्रक शिक्षा सन् १९३९ मा कोलकत्तामा र ईश्वरचन्द्र विद्यासागर कलेजमा विज्ञानमा आईएसम्मको अध्ययन गरेका थिए ।  केही समय सरकारी सेवामा बहिदारको पदमा नोकरीसमेत गरेका सिंहको विवाह मंगलादेवी सिंहसँग वि.संं. १९९७ साल असारमा भएको थियो।

उनले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको मानिन्छ ।

नेपालको राजनीतिक इतिहासमा गणेशमान सिंहको विशिष्ट पहिचान छ। उनले आफ्नो राजनीतिको प्रारम्भ प्रजापरिषद्सँग आबद्ध रहेर गरेका थिए । उनकाे प्रथम गिरफ्तारी वि.सं १९९७ साल कात्तिकमा भएको हो। तत्कालीन प्रधान मन्त्री जुद्धशमशेरले सर्वस्वहरणसहित आजीवन काराबासको सजाय सुनाएक थिए । गणेशमान सिंहसँगै गिरफ्तार भएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ साल माघको दोस्रो हप्तामा काठमाडौँका विभिन्न स्थानमा फाँसी दिइएको थियो। सिंह भने कैदमा परे ।
सिंह २००१ साल असार ७ गते भद्रगोल जेलको पर्खाल नाघेर कैदमुक्त हुन सफल भए। यदि जेलबाट भाग्न सफल नभएको भए शायद राणा सरकारले उनलाई पनि फाँसी दिने थियो। गणेशमान सिंह जेलबाट भागेपश्चात कृष्णबहादुर प्रधानको छद्म नाम राखी दार्जिलिङ, सिक्किम, कालिङपोङ, कोलकत्ता, वनारस आदि स्थानमा पुगेका थिए ।

यसक्रममा उनको कोलकातामा वि.पी. कोइरालासँग २००१ सालमा सम्पर्क भयो। विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अपि्रल)मा नेपाली काँग्रेस बन्यो। उनी नेपाली काँग्रेसको संस्थापक नेता बने।

वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ‘बैरगनिया सम्मेलन’ मा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई. सिंह, मातृकाप्रसाद कोइराला, बि.पि. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । ‘बैरगनिया सम्मेलन’ मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ‘डु अर डाई’ (‘गर या मर’) अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।  २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाले।

२००८ सालमा नेपाली काँग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए। वि.पी. कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।

२०१७ साल पुस १ गते (सन् १९६०)को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) सुन्दरीजल जेलमा थुनिए। जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए। मेलमिलापको नीति लिएर वि.पी. कोइरालासँग २०३३ साल (सन् १९७६)मा स्वदेश फर्किएका सिंहलाई विमानस्थलमै गिरफ्तार गरियो। उनमाथि राजकाज मुद्दा चलाईयो र फाँसीको माग गरियो। २०३४ सालमा भारतको पटनामा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित भए। जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा वि.पी. कोइरालासँग मतभेद पनि भएको थियो। २०३९ साल (सन् १९८२)मा वि.पी. कोइरालाको देहावसान पश्चात उनी नेपाली काँग्रेसको सर्वोच्च नेता भए । २०४२ साल (सन् १९८५)मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे। त्यसबखत पनि उनले जेल सजाय भोग्नुपरेको थियो।

२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली काँग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे। २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो । गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौंको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसी’को रूपमा सम्मानित गरियो। जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा बीरेन्द्र आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार -१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ‘ऊ थान्त शान्ति पुरस्कार’ बाट उनी सम्मानित भए।

२०४९ सालमा नेपाली काँग्रेसको झापा जिल्लाको कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद हुन पुग्यो । २०५१ साल भदौमा उनले नेपाली काँग्रेस छाडे। तर कांग्रेसले उनलाई कहिल्यै छाडेन। प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली काँग्रेसको पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको नेपाली काँग्रेसको नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।

२०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी मंगलादेवी सिंहको निधन भयो। उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो। सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो। श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो। स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य हुन्। काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन्। उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ। 

उनलाई आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाई हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो। जनआन्दोलन पश्चात उनले राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए। विश्व राजनीतिमा उनलाइ अाइरन म्यान लौहपुरुष को उपाधी पनि दिइएको थियो।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *