खरायोको नाच (बालकविता)

– रमेशचन्द्र घिमिरे
यता आऊ मेरा बाबु यता आऊ नानी
नाच्दैछ रे खरायो त्यो घिच्रो तानी–तानी
खरायोको नाच हेर्न कमिलाको ताँती
आएका छन् हाम्रो गाउँमा तलदेखि माथि

जम्बु स्यालले घिन्ताङ–घिन्ताङ मादल बजाएछ
झुर्ना पिट्दै पुन्टे मुसो साह्रै लजाएछ
खरायोलाई साथ दिन भँगेराले नाच्यो
पौडी खेल्दै हाँसले पनि आफ्नो कम्मर भाँच्यो

चुप्प लाग्न नसकेर भ्यागुताको पालो
ट्यार्र–ट्यार्र धोद्रो स्वरमा गीत गाउन थाल्यो
मुजुरले मुजुरा त्यो बजाएको सुनी
कोइलीले गीत गायो नयाँ भाका चुनी

नाचौँ–नाचौँ लाग्यो होला हाम्रो डाँफेलाई
उफ्रूँ-उफ्रूँ भएको छ मुसो आफैलाई
आज साह्रै रमाइलो नाच देख्न पाएँ
यिनको मिल्ती देखेर नै यति लेख्न पाएँ ।
– भोर्लेटार, लमजुङ


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *