स्वास्थ्यमा प्रतिकूल असर गर्ने खाद्य वस्तु बजारमा निर्वाध विक्री

बेसीशहर, ४ असाेज ।
गुणस्तरहीन र जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने खाद्य वस्तुहरु पनि बजारमा निर्वाध रुपमा विक्री वितरण हुने गरेको रहस्य खुलेको छ ।
बेसीशहरमा गरिएको एक अुगमनमा गुणस्तरहीन र जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने ठहर गरी उत्पादन बन्द गराइएको उत्तम ब्राण्डको तोरीको तेल सहजै विक्री वितरणका लागि राखिएको भेटिए पछि यस्तो पुष्टी भएको हो ।
केही समय अघि सुन्दरबजार नगरपालिकाको एक पसलमा सोही ब्राण्डको तोरीको तेल यस्तै हालतमा भेटिए पछि परीक्षणका लागि खाद्य प्रवधि तथा गुण नियन्बण विभागमा पठाइएको थियो । विभागले सो तेल खान योग्य नरहेको प्रमाणित गरेकोमा केही दिन अघि बेसीशहरमा गरीएको बजार अनुगमनका क्रममा सोही ब्राण्डको खाने तेलको पोकामा पुन ः अखाद्य लेदो भेटिएको हो ।
बेसीशहरको मनाङे चौतारामा रहेको दिनेश ट्रेडर्सले सो तेल मनाङमा पठाउन लागेकाे थियाे । पठाउन नपाउँदै अनुगमनमा फेला परेपछि सो पसलबाट ४९ कार्टुन १६ पोका तेल अनुगमन टोलीले जफत गरीएकाे थियाे । तर सिलबन्दी तेल बेच्नु ब्यापारीको गल्ती भन्दा पनि उत्पादक र वितरककाे गल्ती हुने  भएकाले एक पटकका लागि साे तेल तेल उत्पादकलाई नै फर्काउन लगाइएको बुझिएकाे छ ।

अनुगमनका क्रममा भेटिएकाे उत्तम ताेरीकाे तेलबाट निस्केकाे लेदाे । तस्वीर निरज अधिकारी

अनुगमनको नेतृत्व गरेका लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले उत्तम ब्राण्डको तोरीको तेल सुशील वनस्पति प्रालि पर्साको उत्पादन रहेको तर सो कम्पनीले उत्तम ब्राण्डको उत्पादन बन्द गरीसकेको जानकारी अनुसन्धान पछि खुलेको बताए ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उत्तम ब्राण्डको तोरीको तेल गुणस्तरहीन भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले उत्पादन बन्द गराउन लगाएको बताउँछन् । गुणस्तरीय नभएकाले उत्पादन बन्द हुने तर बजारमा छ्याप्छ्याप्ती पाइनुलाई स्वभाविक ढंगले हेर्न नसकिने उनले बताए । उनले लमजुङ उद्योग बाणिज्य संघ मार्फत ब्यापारीहरुलाई उत्तम ब्राण्डको तेल विक्री वितरण नगर्न समेत आह्वान गरेका छन् ।
प्रजिअ ढकालले तेलको विक्रेता, डिलर, डिष्टिब्युटर र कम्पनीलाई समेत अब बजारमा पुन यस्ता अखाद्य तेल भेटीए हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारी यस्ता गुणस्तरहीन र अखाद्य वस्तु बजारमा पाइनुलाई स्वभाविक रुपले लिन नहुने र दोषीलाई कडा कारबाही गर्नु पर्ने बताउँछन् । बेसीशहरका २–४ वटा पसलमा मात्र अनुगमन गर्दा पनि यतिधेरै मात्रामा अखाद्य तेल भेटिनुले जिल्लाका सबै ठाउँमा यो तेल निर्वाध विक्री वितरण भएको पुष्टी हुने उनको भनाई छ ।
गुणस्तरहीन र अखाद्य वस्तु उत्पादन गर्ने उत्पादक वा कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, काला बजारी ऐन र खाद्य ऐन अन्तर्गत कारबाही गर्न सकिने भए पनि कानुनको कार्यान्वयन नहुँदा यस्ता अखाद्य वस्तुको खुलेआम विक्री वितरण भइरहेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *