यातायात मजदुर र सरकारबीच सहमति, गाडी चल्ने

काठमाडौं, असाेज ५ गते ।

हालै जारी भएकाे नयाँ मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच अाज सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुरहरू गाडी चलाउन तयार भएका छन् ।

सरकारले नयाँ ऐनमा संशोधन गर्न तयार भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन् । सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाइने भएको छ ।

वार्तामा सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ ।

वार्तामा भएकाे अर्काे बुँदामा ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था सहमतिमा उल्लेख छ ।

वार्तामा  ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका विषयमा पनि छलफल भएकाे छ । यसका लागि  गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई रिहा गर्ने लगायतका सहमति भएको छ ।सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ । चालकहरुले पनि गाडी चलाउन थालेका छन् ।

तीन दिनदेखि चालकहरुले गाडी नचलाउँदा जनजीवन प्रभावित भएकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *