राष्ट्रकवि माधवप्रसाद घिमिरे अाजबाट सय बर्षमा

लमजुङ, असाेज ६ गते ।

लमजुङे माटाेका उपज, राष्ट्रकवि माधवप्रसाद घिमिरे अाजबाट सय बर्षमा टेकेका छन् ।बाहुनडाँडा पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तानकाे रूपमा उनकाे जन्म भएकाे हाे ।

घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे पनि असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दै छिन् । राष्ट्रकविको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उनको परिवारले आइतबार लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरेकाे छ ।

उनी जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

नेपाली साहित्यमा उनकाे ठूलाे याेगदान  छ । बाहुनडाँडा पुस्तुनमा अाजभन्दा १ सय बर्ष अघि उनी जन्मेका हुन् । गाउँशहरस्थित लमजुङ अाधारस्कूल हालकाे लमजुङ माविका संस्थापक हुन उनी । पढाउन छाेडेर काठमाण्डाै हान्निएका उनले साहित्य सिर्जनामा अब्बल बने ।

नेपाली हामी रहाैंला कहाँ, नेपालै नरहे, उचाइ हाम्राे चुलिन्छ कहाँ हिमालै नरहे, गाउँछ गीत नेपाली, याे नेपाली शीर उचाली जस्ता लाेकप्रिय र राष्ट्रिय भाव झल्कने गीत उनैले लेखेका हुन् । अहिले एकसय बर्ष पुग्दा पनि उनी साहित्य साधनामा तल्लीन छन् । पत्नीबियाेगमा उनले लेखेकाे गाैरी उनकाे सर्वाधिक मन पराइएकाे काब्य हाे । गाैरी उनकी जेठी श्रीमतिकाे नाम हाे । २००४ सालमा उनकी जेठी पत्नीकाे निधनपछि उनले याे शाेककाब्य लेखेका हुन् ।

अहिले एकसय बर्षकाे हुँदा पनि उनी साहित्य साधनामा तल्लीन छन् । यतिबेला उनी अाफ्नाे महाकाब्य महाकाव्य ऋतम्भराकाे अन्तिम तयारी गरीरहेका छन् ।

नेपाली साहित्यमा उनकाे याेगदानकाे कदरस्वरूप उनकाे याेगदानलाइ अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष जन्म शताब्दी वर्ष मनाउने तयारी गरेिएकाे छ ।

राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन् । ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ उनका चर्चित रचना हुन् ।

मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । असोज २१ गते काठमाडौंमा उनकाे जन्मशताब्दी भब्यताका साथ सम्पन्न गर्न  नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन भएकाे छ ।

राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गर्ने कार्यक्रम छ । त्यस्तै उनको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीशहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले बताए ।

राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहेका प्रतिष्ठानले  हिमालचुली हिमाललाइ राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौँ वा लमजुङमा उहाँको प्रतिमा स्थापना गर्न माग गरेकाे छ । त्यसाे त लमजुङमा रहेकाे हिमालचुली हिमालकाे नाम उनकाे नाममा राख्न धेरै पहिले देखि माग भएकाे हाे । साहित्यकार नवीनचन्द्र घिमिरे राष्ट्रकविकाे कवि हृदय हिमालचुलीकै वरदान हाे भन्दै धेरै अघिदेखि याे हिमालकाे नाम उनकाे नाममा राख्न माग गर्दै अाएका छन् ।

सरकारले पनि राष्ट्रकविकाे सम्मानमा खासै केही नगरेकाे गुनासाे छ । यद्यपी प्रतिष्ठानले भने पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न,घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ ।

स्वच्छन्दतावादी, प्रकृतिवादी कविकाे छवि बनाएका घिमिरे नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय  मानिन्छ ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्  उनी। बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै अाएका बहुमुखी प्रतिभा हुन । प्रकृतिका अनेकन बिबिध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् । उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए ।

१४ वर्षको उमेरमा ज्ञानपुषप शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे । घिमिरे २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *