सुन्दरबजारमा पनि म्याद गुज्रिएका सामान छ्याप्छ्याप्ती, फेरी भेटियाे उत्तम तेल, ३ ट्रक पनि नियन्त्रणमा

बेसीशहर, ११ असाेज ।

उत्तम ब्राण्डको तोरीको तेल अखाद्य भएको पुष्टी भइसकेको छ । सिलवन्दी पाउचभित्र रहेको तेल फोडेर हेर्दा तेल लेदो मिसिएको अवस्थामा भेटीन्छ ।
पर्साको सुशिल बनस्पति उद्योगले यो तेलको उत्पादन गरेको हो । बजारमा विक्रीका लागि राखिने खाद्य वस्तुहरु खान योग्य छन छैनन भनि जाँच्ने सरकार नियन्त्रित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो तेल खानका लागि अयोग्य भनि सकेको छ । तर अझै पनि यो तेल बजारमा छ्याप्छ्याप्ती भेटिन्छ ।
केही दिन अघि बेसीशहरमा प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा बेसीशहरको मनाङे चौताराबाट झण्डै ५० कार्टुन उत्तम ब्राण्डको तोरीको तेल फेला प¥यो । प्रशासनले जफत गरेर ल्यायो तर सो तेल नष्ट गरिएन । उद्योग बाणिज्य संघका प्रतिनिधिले ब्यापारीको दोष नभएको र जफत गर्दा उसलाई घाटा पर्ने भन्दै फिर्ता गर्न आग्रह गरे पछि फिर्ता गरियो ।
प्रशासनले उद्योग बाणिज्य संघ मार्फत लमजुङ जिल्लाका ब्यापारीहरुलाई उत्तम तेल विक्री वितरण नगर्न आग्रह पनि गरेको थियो । तर असोज १० गते सुन्दरबजार नगरपालिकाको विभिन्न भागमा गरिएको बजार अनुगमनमा फेरि सोही ब्राण्डको सोही तोरीको तेल बजारमा विक्रीका लागि राखिएको पाइएको छ । सो क्रममा ९ कार्टुन सोही तोरीको तेल जफत गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भोटेओडारको सन्देश किराना पसलमा आधा लिटरको सो तेल ९ कार्टुन भेटिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

सिउंडीबार र पाउंदी बजारका ४० वटा पसलहरुमा बुधवार बजार अनुगमन गरिएको थियो । अनुगमनमा थापा किराना पसल सिउँडीबारबाट म्याद गुज्रिएका जुस ७ प्याकेट, ओम किराना पसल सिउँडीबारबाट तीन प्याकेट पाउडर दूध, २ प्याकेट कुकिज, दालमोठ र विस्कुट दुई दुई प्याकेट बरामद भएको छ । त्यस्तै श्रेष्ठ किराना पसलबाट सिउँडीबारबाट ४९ प्याकेट टाइगर विस्कुट र ३ बोत्तल जुस म्याद गुज्रिएका भेटिएका छन् । म्याद गुज्रिएका भेटिएका सबै सामान जफत गरीएको छ ।
अनुगमनका क्रममा आजभन्दा ४ बर्ष अगावै म्याद सकिएका वस्तुहरु पनि विक्रीका लागि राखिएको पाइएको छ । जिल्ला प्रशासनले पाउँदी बजारको साहरा किराना पसलबाट २०१३ मा बनेको र एक बर्षभित्र प्रयोग गरिसक्नु पर्ने लेखिएको पूजा गोल्ड चियापत्ती ३४ वटा फेला परेको जनाएको छ । प्रशासनले उत्तम तोरीको तेल बाहेकका अन्य सामग्री सम्बद्व निकायका पदाधिकारीहरूको उपस्थितिमा नष्ट गराएको छ ।
सो क्रममा बजारमा सामान विक्री गर्न आएका सवारी साधनहरूमा समेत अनुगमन गरिएको थियो । अनुगमन टोलीले मूल्य अभिवृद्वि कर बिजक विना नै मालसामान विक्री वितरण गरेको अवस्थामा ३ वटा मिनि ट्रक नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा आवश्यक छानविन गर्न आन्तरिक राजश्व कार्यालय पोखरालाइ पत्राचार गरिएको प्रजिअ झंकनाथ ढकालले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *