सङ्घीय शासनमा धर्म र राजनीति किन हुँदैछ बदनाम ?

डा.लक्ष्मीकान्त पाैडेल

सङ्घीयता कस्तो व्यवस्था हो त ? एक उत्तर हुन्छ– व्यवहारको र अर्को हुन्छ– सिद्धान्तको । सङ्घीयता वा एकात्मकता कुनै पनि प्रणाली आफैँमा नराम्रा होइनन् । यद्यपि सङ्घीयताको विकल्प एकात्मकता बन्न सकेको छैन । एकात्मक राजनीतिक प्रणालीको विकल्प सङ्घीयता बनेको छ र सङ्घीयता हुँदै देशहरू टुक्रेका पनि छन् । एकात्मक राज्य व्यवस्था अपेक्षाकृत शान्त पनि देखिएको छ । यद्यपि अन्यायपूर्ण दमनको आधारमा भएका कतिपय शान्तिलाई वास्तविक शान्ति भन्न सकिँदैन र होइन ।

तैपनि यी फरक राजनीतिक प्रणाली आफैँमा लक्ष्य होइनन् । यिनको माध्यमबाट जनतालाई सेवा र सुविधा दिने हो । कतिपय सङ्घीय प्रणालीमा भन्दा एकात्मक प्रणालीमा जनताका धेरै अधिकार बढी विकेन्द्रित भएका पनि हुन्छन् । भारतमा सङ्घीयता छ, तर एकात्मक प्रणाली भएका जापान र बेलायतमा धेरै विषयमा भारतका प्रान्तहरूलाई भन्दा स्थानीय निकायहरूलाई बढी अधिकार दिइएको छ ।

प्रणाली त माध्यम मात्र हो, एक बच्चालाई दूध खुवाउने कामदारजस्तो । त्यो कामदारले राम्रोसँग दूध खुवाएमा राम्रो हुन्छ र कम खुवाएमा कमै राम्रो हुन्छ, तर दूधको सट्टामा विष खुवाए बच्चा मर्दछ । प्रणाली पनि त्यस्तै हो । यसलाई चलाउनेहरूले गलत गरेमा देश नै टुक्रन सक्ने नै भयो । प्रणालीमाथि अनास्था पनि आउनु स्वाभाविक नै हुन जान्छ ।

नेपालमा अहिले सङ्घीयतालाई राम्रोसँग सदुपयोग गर्न सकिएको छैन । सदुपयोग गरिन नसकिएका कारणमा आर्थिक व्यभार बढ्नु, कर बढी लाग्नु तथा सङ्घीयतामा आफ्नो दोष अरूलाई लगाउनु प्रमुख रूपमा रहेका छन् । जनताले सोचेजस्तो विकास नपाउनु पनि अर्को सत्य हो । राज्यको लक्ष्य के हो त ?
महाभारतको युद्ध सकिएपछि भगवान् कृष्णलाई पाण्डहरूले अब कलियुग आउँदै छ र त्यो कलियुग कस्तो हुनेछ भनेर सोधेछन् । भगवान्ले पाँचै भाइलाई बाहिर घुमेर आउनु । के देखिन्छ, त्यो सुनाउनु त्यसपछि कलियुग कस्तो हुन्छ भन्ने उत्तर दिन्छु भनेछन् । युधिष्ठिर बाहिर घुमेर आएछन् र भनेछन् कि भगवान् मैले त अचम्म नै देखँे । एउटा हात्तीका दुईवटा सुँड थिए, दुवै सुँडले त्यो हात्ती खाएको खायै गरिरहेको थियो ।

सरकार दुई सुँड भएको हात्तीजस्तो हुन्छ । उ एउटा सुँडले आफूले खान पाउने खान्छ र अर्को सुँडले जनताले खानेकुरा पनि आफैँ खान्छ । जनताले अब चारवटा सुँड भएका हात्तीको पीडा नभोगून् ।

अहिले सिंहदरबार, प्रान्त तथा स्थानीय निकाय हुँदै गाउँगाउँ र बस्तीबस्तीमा आएको छ । तर, सोचेकोभन्दा फरक किसिमले आएकोले जनताले कति सुविधा पाए भन्दा पनि जनताले अहिले कर त चार तहमा लाग्न थाल्यो भन्दै छ । केन्द्रीय कर, प्रान्तीय कर, स्थानीय निकायमा कर र तिनका वडामा बुझाउनुपर्ने करहरू लाग्न थालेका छन् । केन्द्रीय नेताहरूले लिने सुविधा प्रान्त, स्थानीय निकाय र वडाहरूसमेतका नेताले व्यापक रूपमा लिन थाले भन्ने जनगुनासो छ । चार तहले उठाएको कर सबैजसो नेताहरू र उनीहरूका मानिसका लागि नै खर्च भएको छ । सिंहदरबार जनताको सेवाभन्दा पनि जनतासँग पहिला मन्त्री आदिले लिने सुविधा स्थानीय नेताहरूलाई दिलाउन आएको रहेछ भन्ने भ्रम धेरै ठाउँमा गएको छ । वा यो सत्य नै हो । अब एउटाले लिने कर र खाने सुविधा तीनवटा वा चारवटा तहले खाएका छन् भन्ने सन्देश जनताले पाएका छन् । सङ्घीयता भनेको जनताको करको फाइदा जनतालाई नै सबैभन्दा प्राथमिकताका साथ भन्ने तथ्य व्यवहारमा देखिन आवश्यक छ ।

अर्कोतर्फ सकिने काम पनि नगर्ने र स्थानीय निकायले त्यसको दोष प्रदेशलाई र प्रदेशले केन्द्रीय सरकारलाई दिने प्रवृत्ति बढिरहेको छ । यो विकास सापेक्ष नहुने आरोप वा दोष पनि सङ्घीयताको सफलताको बाधक नै हो । प्रान्तका मुख्य मन्त्रीहरूले केन्द्रले सहयोग नगरेको गुनासा गर्न थालेका छन् । तर, यसमा पूर्ण सत्यता नहुन सक्दछ किनभने केन्द्रले प्रान्तलाई आर्थिक सहयोग नगरेको पैसा अन्यत्र गर्न आवश्यक नभएको स्थानमा गरेको हुनुपर्छ । त्यस्तो देखिँदैन । यो वाक्युद्धजस्तो अवस्था जनतालाई भ्रममा पार्ने र असन्तुष्टि बढाउँदै देशमा अस्तव्यस्तता ल्याउने कारण बन्न सक्छ । देश र जनताका लागि दीर्घकालीन सोच नबनाई सस्तो लोकप्रियताको कार्य गर्नेहरूले देश र जनतालाई ठग्ने कार्य गर्दछन् । केन्द्र, प्रान्त र स्थानीय निकायले करसमेतका राजस्व कति उठाउने वा उठाएको र त्यसको कति प्रतिशत विकास र सामाजिक हितमा प्रत्यक्ष लगाउने हो जनतामा त्यसको श्वेतपत्र जारी गर्नुपर्छ ।

सङ्घीयता केन्द्रीकृत शासन अन्त्य गर्न र जनतालाई नजिकमा सेवा दिन आवश्यक थियो र छ । सङ्घीयताले नागरिकलाई अधिकार र कर्तव्यप्रति सचेत गराउँछ । आफ्नो अधिकार आफैँ लिने र आफ्नो काम पनि आफैँ गर्ने भन्ने मान्यता जनताले बुझ्ने र बुझ्नुपर्ने परिपाटी सङ्घीयता हो ।

भगवान् कृष्णले कलियुगका बारेमा भनेछन् कि सरकार दुई सुँड भएको हात्तीजस्तो हुन्छ । उ एउटा सुँडले आफूले खान पाउने खान्छ र अर्को सुँडले जनताले खानेकुरा पनि आफैँ खान्छ । जनताले अब चारवटा सुँड भएका हात्तीको पीडा नभोगून् ।

अर्को चलेको विवाद र प्रसङ्ग धर्मको पनि छ । कृष्ण भगवान्कै प्रसङ्गमा अर्जुन बाहिर घुमेर आएपछि भनेछन् कि भगवान् एउटा राम्रो चरा थियो । उसका हरेक प्वाँखहरूमा धर्मग्रन्थका ऋचाहरू लेखिएका थिए । त्यो चरा सीधै मरेको सिनु खाइरहेको थियो ।

धर्म पनि धर्मगुरुहरूले मोजमस्ती गर्ने र भक्तहरूलाई लठ्ठ पारेर उनीहरूबाट पैसा र सम्पत्ति लिने माध्यम बनेका छन् । बालबालिकाहरू र युवतीहरूको यौनशोषण गर्ने मात्र होइन उनीहरूको कुकृत्यको विरोध गरेमा ज्यानै लिनसमेत तयार भएका घटना देखिएका छन् ।

भगवानले भनेछन् कि कलियुगमा धर्मलाई गलत काममा प्रयोग गरिन्छ । अहिले चर्चमा पादरीहरूले यौन हिंसा गरेका घटना युरोपमा मात्र होइन, भारतमा समेम सुनिन थालेका छन् । मदरसामा पनि यौन शोषणका घटना सुनिएका छन् । रामबहादुर बम्जनले एकजना बुद्धमार्गी आनीलाई यौनशोषण गर्दै आएको बताएकी छिन् । यौनशोषणको आरोपमा रामरहिम गुरु र आशाराम जेलमा नै छन् । धर्मलाई धर्मका ठेकेदारहरू हौँ भन्नेहरूले कुरूप बनाएका छन् र दुरुपयोग पनि गरेका छन् । अझै अविकसित देशहरूमा त धर्मको नाममा जनता बढी नै प्रताडित छन् ।

धर्म पनि धर्मगुरुहरूले मोजमस्ती गर्ने र भक्तहरूलाई लठ्ठ पारेर उनीहरूबाट पैसा र सम्पत्ति लिने माध्यम बनेका छन् । बालबालिकाहरू र युवतीहरूको यौनशोषण गर्ने मात्र होइन उनीहरूको कुकृत्यको विरोध गरेमा ज्यानै लिनसमेत तयार भएका घटना देखिएका छन् ।

हुन त यो संयोग मात्र हो, तर सङ्घीयताको आगमनपछि नेपालमा यौन हिंसा र विशेषतः बालिका बलात्कारका घटना बढेका छन् । मानिसहरू बच्चालाई बाहिर पठाउन डराउन थालेका छन् । अपहरणका घटनासमेत बढिरहेका छन् । अहिलेको संयन्त्रलाई उपयोग गरेर कमसेकम आपराधिक कार्यहरू रोक्न सक्नुपर्ने थियो । सुन तस्करीदेखि युवती र बालिकामाथिको बलात्कार तथा विभिन्न अपहरणमा पनि सञ्जाल हुन्छ र सुरक्षाकर्मीहरू र विभिन्न निकायका पदाधिकारीहरूको यसमा हात हुन्छ भन्ने आशङ्का छ । अहिले त अपराधीहरू प्रहरीले पक्रनासाथ राजनीतिक दलका नेता र कार्यकर्ताहरूले प्रहरीलाई घेरेर छुटाउन प्रयास गर्ने त सामान्य नै भएको छ ।

के हामीले चाहेको राजनीतिक प्रणाली र सामाजिक अवस्था यस्तै परिणाम दिने होस् भन्ने हो त ? अवश्य होइन । तर, हामी सजग भएर जनताको निष्पक्ष समूह टोल–टोलमा बनाएर गलत कार्यहरूको जानकारी जनतालाई दिने र राजनीति गर्नेहरूभन्दा बाहिर रहन सक्ने क्षमता राख्न आवश्यक छ । गल्ती आफूहरूले गर्ने र दोष अरूलाई दिनेहरूप्रति सजग हुन आवश्यक छ । जहिले पनि सबै राजनीतिक दलहरूका नेताहरूले अरूलाई मात्र दोष दिन्छन् । जनता भ्रममा पर्दछन् । त्यो भ्रम चिर्न आवश्यक छ । अन्यथा धर्मको नाममा अपराध गरेजस्तै राजनीतिको नाममा भएको अपराधको हामी पनि मतियार बनिरहेका हुन्छौँ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *