मर्स्याङदी गाउँपालिकाका गतिविधि अब माेबाइल एप्समा

बेसीशहर, २० कात्तिक । लमजुङको मर्स्याङदी गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मोवाइल एप्स सार्वजनिक गरिएको छ । एण्ड्रोइड मोवाइलको गुगल प्ले स्टोर्समा गएर एप्स डाउनलोड गरेपछि मोबाइलबाटै कतिपय सुविधा पाउन सकिने र गाउँपालिकाका गतिविधि थाहा पाउन सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारिएको छ । खुला सरकारको अवधारणा अनुरुप आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन लञ्च गरिएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

मोबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका नागरिकहरुले गाउँपालिकाबाट प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने गुरुङले बताए । ‘कुनैपनि योजनाको कार्यान्वयनको अवस्था के कस्तो छ भनेर मोबाइलबाटै बुझ्न सकिन्छ । उक्त योजनाहरुसंग सम्बन्धित गुनासा पनि एप्लिकेशन मार्फत नै गर्न सकिन्छ’ गुरुङले भने, ‘गाउँपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई मोबाइल एप्सबाट हेर्न सकिने बनाएका छौँ ।’

एप्समा गाउँपालिकाको सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्थाका बारे जानकारी समेत दिइएको छ । एप्समा उपलब्ध गराइएको नक्साबाटै गाउँपालिकाले कुन स्थानमा कस्तो काम गरिरहेको छ, कति बजेट छुट्याइएको छ भन्ने विषयमा जानकारी लिन सकिने उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताए । गाउँपालिकाको आम्दानी र खर्च विवरण, प्रोफाइललगायतका सामाग्री मोबाइल एप्समा सजिलै हेर्न सकिने उनले बताए ।

मोवाइल एप्स मार्फत नै सेवा प्रदान गर्नको लागि प्राप्त निवेदनहरूको विषयमा काम कारवाही अघि बढाउन वडा अध्यक्ष र सचिवहरूको लागि तालिम दिएपश्चात मोवाइलबाटै सेवा लिन सकिने पनि गाउँपालिकाले जनाएको छ । मोबाइल एप्स मार्फत गाउँपालिकाका बारे कुनै गुनासा, जिज्ञाशा तथा प्रतिक्रिया दिन सकिने र एप्स मार्फत नै गाउँपालिकाका तर्फबाट जिज्ञासा समाधान गरिने प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाले बताए ।

जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, गाउँपालिकाका योजनागत कार्यक्रम, गाउँपालिकाका प्रगति विवरण, गाउँपालिकाका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटर एप्स बनाइएकाले जनता र नगरपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी हुनेमा विश्वस्त रहेको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाको वेवसाइडसँग एप्सको लिङ्क गरिएको उनले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *