उपमन्यु गोत्रीय दैनी (दनै) बन्धुहरुको बंशावली तयार गर्न समिति गठन

बेसीशहर, मंसिर ४ ।
उपमन्यु गोत्रीय दैनी (दनै तथा दनाई) बन्धुहरु बंशावली तयार गर्ने अभियानमा जुटेका छन् । लमजुङ मुल थलो भइ हाल लमजुङसहित धादिङ, चितवन, मकवानपुर, उदयपुर लगायतका जिल्लाहरुमा बसोबास गर्दै आएका दनै बन्धुहरु आफ्ना पुर्खाहरुको खोजीमा लागेका हुन् ।
शुरुमा दैनी भए पनि हाल कतै दनै र कहीँ दनाई थर लेख्ने गरेका उनीहरुको मुख्य बसोबास हाल लमजुङको बेसीशहर नगरपालिकाको वडा नं. ३ र ८ र धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं. ७ चैनपुरबेसीमा रहेको छ । दुवै जिल्यलामा गरी एकसय बढी दनैहरूकाे घर रहेकाे छ । यस बाहेक चितवन, मकवानपुर, उदयपुर लगायतका जिल्लाहरुमा पनि उनीहरुको बसोबास रहेको धादिङ चैनपुरबेसीका चिरञ्जीवि  दनैले जानकारी दिए ।
बाइसे चौविसे कालमा लमजुङ चौविसे राज्यमध्ये शक्तिशाली राज्यमा गनिन्थ्यो । कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रह्म शाह लमजुङको राजा भए पछि उनको दरबारमा विश्वनाथ उपाध्याद दैनीले राजगुरुको रुपमा काम गरेको र उनलाई राजाले जग्गा विर्ता दिएको इतिहास छ । उनले विर्ता पाएको लालमोहर सहितको कागजात २०१६ सालसम्म रहेको दनै अगुवाहरु बताउँछन । २०१६ सालमा विर्ता उन्मुलन भए पछि सो लालमोहरसहितका कागजात मालपोत कार्यालयमा बुझाइएको दनाइ समाज लमजुङका अध्यक्षा भुपाल दनाइले बताए ।
जनसंख्याको हिसाबले दनैहरुको संख्या यति नै छ भन्ने यकीन छैन । जनसंख्या यकीन नभएको बसोबास पनि कहाँ कहाँ छ स्पष्ट नभएकाले आफ्ना भाइ बन्धुहरुको खोजी शुरु गरिएको हो । पुर्खाहरु कहाँबाट आए, कसरी बसे, कहाँ कहाँ फैलिए, भन्ने स्पष्ट जानकारी नभएकाले यस सम्बन्धी खोजी गर्न र दनै बन्धुहरुबीच एकता र भातृत्व विकास गर्न केही बर्षअघि बेसीशहरमा दनाई कल्याणकारी समाजको स्थापना गरिएको थियो । सोही समाजको अगुवाइमा बेसीशहरका दनाई बन्धुहरुले धादिङका दनैबन्धुहरुसंग भेटघाट गरेका हुन् । सो भेटघाटका क्रममा दनैहरुको बसोबास नेपाल बाहेक भारतको अल्मोडा, गढवालमासमेत रहेकोले सम्बन्ध स्थापनाका लागि त्यहाँसम्म पुग्ने सहमति बनेको छ ।
भेटघाटका क्रममा पुस्तौलीको खोजी र कुलायन देवता, पूजाविधिका साथमा अन्य विविध विषयमा छलफल भएकाे र पुस्ताैली नभेटिए पनि कुलायन पूजाकाे विधिमा समानता रहेकाे पाइएकाे धादिङ चैनपुरबेसीका यमनाथ दनैले जानकारी दिए ।

छलफलपछि भेटघाटलाई तीव्रता दिने र बंशावली तयार गर्ने लगायतका विषयमा काम गर्न भुपाल दनाइको संयोजकत्वमा चार सदस्यीय एक समिति गठन गरिएको छ ।
सो भेटघाट र छलफलका क्रममा आगामी पुस महिनामा बेसीशहरमा दनैहरुको बृहत भेला बोलाउने निर्णय भएको समाजका सचिव करुणनिधि दनाइले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *