नयाँ अन्न देवतालाइ चढाएर लमजुङका किसानहरूले न्वागी पर्व मनाए,

बेसीशहर, मंसिर ४ गते ।
लमजुङका अधिकांश स्थानमा आज मंगलबार न्वागी पर्व मनाइएको छ । घरमा नयाँ अन्न भित्र्याए पछि सो अन्नलाई देवतालाई चढाएर मात्र खाने परम्परागत चलन अनुसार आज न्वागी पर्व मनाइएको हो ।
न्वागी पर्व विशेष गरी किसानहरुले धुमधामले मनाउने गर्छन् । नेपालमा धान प्रमुख खाद्यान्न बालीको रुपमा रहेको छ । बर्षभरि खाने धान खेतबाट काटेर दाइँ सम्पन्न गरी भकारीमा थन्काइन्छ । भकारीको धान आफूले खानु अघि आफ्ना कूल देवता र ईष्टदेवतालाई चढाएर मात्र खाने चलन रहदै आएको छ ।
न्वागीमा नयाँ चामललाई दहीमा भिजाएर खाने गरिन्छ । न्वागीको स्वाद बढाउन आवश्यकता अनुसार केरा, चिनी, नरिवल लगायत विभिन्न मरमसला मिसाएर खाने चलन छ । लमजुङको बेसीशहरसहित विभिन्न स्थानमा किसानहरुले आजको दिन न्वागी खाने गर्दछन् । कतिपय स्थानमा हेराएर तथा जुराएर न्वागी खाने चलन छ । लमजुङकै कतिपय स्थानमा जुराएर यस अघि नै न्वागी खाने काम सम्पन्न भए पनि अधिकांश ठाउँमा आजको दिन न्वागी खाने चलन छ । कार्तिक शुक्ल द्वादशीका दिन न्वागी खाँदा हेराउन तथा जुराउन नपर्ने धार्मिक मान्यता अनुसार आफूहरुले आजका दिन न्वागी खाने गरेको बेसीशहरका करुण दनाईले बताए ।
लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार परिसरमा रहेको कालिका भगवती मन्दिरमा पनि न्वागी चढाउने परम्परा छ । तर कालिका भगवतीलाई न्वागी चढाउँदा जुराएर मात्र गर्ने गरिन्छ । मन्दिरमा न्वागी चढाउने पुजारीहरुकोमा जुठो वा सुतक परेको खण्डमा न्वागी चढाउन नहुने भएकाले मन्दिरमा चाहीँ हेराइ जुराइ न्वागी चढाउने परम्परा छ ।
हरिशयनी एकादशीका दिनदेखि हरिबोधनी एकादशीका दिनसम्म चतुर्मास ब्रत बस्ने चलन रहँदै आएको छ । कतिपयले सो अवधिमा निरहार र अल्पहार ब्रत बस्ने गर्दछन् । हरिबोधनी एकादशीका दिन गंगास्नान गरी तुलसी विवाह गरी व्रत समाप्त गरेपछि आफ्ना कूल देवता, ईष्टदेवता तथा अन्नपूर्ण लगायत सम्पूर्ण देवी देवतालाई नयाँ अन्न चढाएपछि नयाँ अन्न आफूले खान योग्य हुने भएकाले न्वागीको परम्परा बसेको कालिका मन्दिरका पुजारी सोमराज बराल बताउछन् ।
न्वागी खाँदा कतिपयले कुलायन मन्दिरमा र कसैले घरैमा होम होमादिसमेत गर्ने चलन छ । विधिपूर्वक कूलदेवता तथा ईष्टदेवताको पूजा गरेपछि अन्नपूर्ण हिमालतर्फ फर्केर न्वागीको टीका लगाइ न्वागी खाने चलन छ । यसरी न्वागी खाँदा आफूहरुले उब्जाएको अन्नबालीले बर्षभरि खान पुगोस् भनि कामना समेत गर्ने चलन छ ।
लमजुङमा दनाई, बराल, घिमिरे, अधिकारी वाग्ले पोखरेल लगायतका बाह्मण तथा क्षत्री समुदायले कार्तिक शुक्ल द्वादशीका दिन न्वागी खाने चलन छ । आफूकहाँ चढाएको न्वागी छरछिमेक ईष्टमित्रकहाँ समेत बाँड्ने चलन रहेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *