३० मेगावाटको न्यादी जलविद्युत् आयोजना ५० प्रतिशत सकियाे, छिटै पुरा हुने संकेत

बेसीशहर, मंसिर ११ गते ।
जलश्रोतको धनी लमजुङ जिल्लामा अर्को ठूलो जलविद्युत आयोजना पनि छिटै निर्माण सम्पन्न हुने संकेत देखिएको छ ।

मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ६ बाहुनडाँडा र ७ को भुलभुले बीच भइ बहने ङादी खोलामा निर्माणको चरणमा रहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना पनि छिटै पुरा हुने संकेत देखिएको हो । आयोजनाको हेडरेस टनेलको केही दिन अघि “ब्रेक थ्रु” भएपछि र अबका दिन पनि यस्तै सहज बनिरहे यो आयोजना पनि छिटै सम्पन्न हुने अनुमान गरिएको छ ।
केही दिन अघि मात्र सो आयोजनाको ३ हजार ८ सय ४० मिटर लम्बाइको मुख्य सुरुङ छेड्ने काम सकिएको छ । न्यादी हाइड्रोपावर कम्पनीले चिनीया कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन  कम्पनीलाई ठेक्का दिएको यो आयोजनाले सोचे भन्दा बढी प्रगति गरेको हो । सो आयोजनाका प्रोजेक्ट म्यानेजर उत्तम अमात्यले मुख्य सुरुङ निर्माणको काम सकिएको र अब छिटै ७ सय २५ मिटर पेनस्टक पाइप राखिने जानकारी दिए । पेनस्टक पाइप राख्ने क्रम शुरु भएको भन्दै उनले आयोजनाको अडिट टनेल र डाईभर्सन टनेलको काम पनि करीब सकिएको जानकारी दिए ।
आयोजनाको विद्युतगृहको फाउण्डेसनको काम पनि सकिएको छ । सो विद्युत गृहमा २ वटा टर्वाइन राखि विद्युत उत्पादन गरीने छ । आयोजनाको सर्ज ट्यांकको निर्माण कार्य पुरा भएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको झण्डै २० प्रतिशत काम पुरा भैसकेको छ । आयोजनाको बाँधमा ढलान गर्ने काम भइरहेको छ ।
२०७३ चैत्र ३० देखि काम शुरु भएको यो आयोजना रन अफ दि रिभर आधारित छ । यसको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । आयोजनाको सम्पूर्ण निर्माण कार्य सन् २०२० अप्रिल ५ अर्थात आगामी २०७६ चैत्र २३ सम्ममा सक्ने गरी द्रुत ढंगले काम भइरहेको म्यानेजर अमात्यले जनाए । हामी चौविसै घण्टा काम गरिरहेका छौंं, अमात्यले भने –“कामको गति तीब्र भएकाले पनि हामी काम निर्धारित समयमै सक्छौं ।”
न्यादीबाट उत्पादन हुने विद्युत राष्ट्रिय ग्रीडमा जोडनका लागि खुदीको टारीकुनामा २२० केभीएको सबस्टेशन निर्माण गरिने छ । नेपाल विद्युत प्राधिकरणसंग हिउँदमा ८ रुपैया ४० पैसा र बर्षातमा ४ रुपैयाँ ८० पैसाको दरमा विद्युत खरिद विक्री सम्झौता आयोजना गरेको छ ।
अनुमानित ६ अर्बको लागतमा निर्माण हुने यो आयोजनामा वुटवल पावर कम्पनीको मुख्य लगानी छ । उसको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको २ दशमलव ७८ प्रतिशत लगानी यो आयोजनामा छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *