अागामी ५ बर्षमा प्रदेशकाे गरिबी १४ बाट ७ प्रतिशत झार्ने मुख्यमन्त्रीकाे प्रतिबद्धता

बेसीशहर, मंसिर २१ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई समृद्ध बनाउन अनेकौ सम्भावना रहेको बताएका छन् ।
लमजुङ विद्युत उपभोक्ता संस्थाको १९ औं साधारण सभाको शुक्रबार बेसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कृषि, जलस्रोत, जडिबुटी र पर्यटनका माध्यमले प्रदेशलाई समृद्ध बनाउन सकिने बताए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा २५ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको भन्दै ५ बर्ष्भित्र ३ हजार मेगावाट उत्पादन गर्न सकिने बताए ।
विजुली उत्पादनपछि प्रदेशमा विद्युतीय सवारी, विद्युतबाटै खाना पकाउने कार्य गर्न सकिने भन्दै उनले यसबाट एल पि ग्यास, डिजेल पेट्रोललगायतका ईन्धन आयात गर्न नपर्ने र यसबाट अर्थतन्त्र मजबुत हुने पनि दावी गरे । विद्युत उत्पादन गरी भारतबाट ल्याइने इन्धन खपत स्वतः घटाउने योजना उनले सुनाए । विद्युतको विकास हुन सक्यो भने ठाउँ ठाउँमा रिचार्ज स्टेशन बनाउने र खाना पकाउन पनि इलेक्ट्रिक ओभन लगायतको ब्यवस्था मिलाउने उनले बताए ।
राष्ट्रिय विद्युत नीति बनाउन माग गर्दै गाउपालिकालाई ५, नगरपालिकालाई १० र प्रदेशलाई २५० मेगावाट सम्ममका जलविद्युत आयोजना बनाउने अधिकार दिनुपर्ने माग राखे ।
मुख्यमन्त्रीले गण्डकी प्रदेशले राष्ट्रिय विद्युत उत्पादनमा ५० प्रतिशत योगदान दिएको भए पनि यो क्षेत्रले न्यायोचित रोयल्टी नपाएको गुनासो गरे ।

उनले राजस्व बाँडफाडमा केन्द्र सरकार अनुदार भएको भन्दैै असन्तुष्टि पोखे । राजस्व बाँडफाँड सरकार नबन्दै गर्नुपथ्र्याे भन्दै उनले घरको ठूलो अंशियारले अंश लगाउँदा आफूलाई धेरै राखे जस्तैै केन्द्र सरकारले आफैलाई धेरै बजेट राखेको भन्दै असन्तुष्टि राखेका हुन् ।

मुख्यमन्त्रीले आगामी ५ बर्षमा प्रदेशको गरिबी १४ बाट ७ प्रतिशतमा झार्ने प्रतिबद्धता मात्र जनाएनन्, उपचारकै लागि काठमाण्डौं, चितवन तथा छिमेकी राष्ट्र भारत जानुपर्ने बाध्यता अब प्रदेश सरकारले हटाउने घोषणा गरे । पोखरामा रोग पहिचान गर्न सक्ने सुविधासम्पन्न प्रयोगशालाका साथमा क्यान्सर, मृगौला, मुटुरोगको उपचार हुने सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि मुख्यमन्त्रीले गरे । प्रदेशको विकासका क्रममा ठुला ठूला उद्योगधन्दा पनि खोलिने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सांसद मायानाथ अधिकारी, मधु अधिकारी, संविधानसभाका सदस्य जमीन्द्रमान घले, पूर्व सांसद हिमकुमारी विक, राष्ट्रिय विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवाली, नेकपाका नेता कृष्णप्रसाद अधिकारी, कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, जिल्ला समन्वय समितिका संयोजक लोकराज पाण्डे, बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्याल, राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा, प्रमुख जिल्ला अधिकारी झंकनाथ पौडेललगायतले सामुदायिक विद्युतका विविध पक्षका बारेमा मन्तब्य राख्दै सामुदायिक विद्युतीकरणका समस्या र समाधानका उपायबारे सुझाव दिएका थिए ।
कार्यक्रम लमजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *