जिप्रका लमजुङको ब्यवस्थापन चुस्त बन्दै, थुनुवा कक्षमा पार्केटिङ र ब्यवस्थित शौचालय

बेसीशहर, माघ १६ गते ।
जिल्ला प्रहरी कार्यालय लमजुङले आफ्ना काम कारबाहीलाई चुस्त र दुरुस्त बनाई कार्यालय तथा प्रहरी चौकीहरुको ब्यवस्थापनमा पनि महत्वपूर्ण कामको शुरुवात गरेको छ ।
लोक कल्याणकारी राज्यको अवधारणा अनुसार नागरिकको जीउधनको सुरक्षा गर्न, अपराध न्युनिकरण गरी शान्ति सुब्यवस्था कायम गर्न, मानव अधिकारीको रक्षा गर्न एवं लोककल्याणकारी सेवाका लागि प्रहरी संगठनको स्थापना भएकोमा यिनै उद्देश्य प्राप्तीका लागि ब्यवस्थापकीय पक्ष समेत मजबुत बनाउनु पर्ने भएकाले कार्यालय ब्यवस्थापनलाई प्राथामिकतामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।

लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकाल ।

उनका अनुसार कार्यालयका विभिन्न पक्षको ब्यवस्थापनमा ध्यान दिइएकोमा केही समययता कार्यालयको बाहिरी र भित्री दुवैतर्फ ब्यवस्थापनको क्षेत्रमा धेरै परिवर्तन आएकाे छ ।
ढकालका अनुसार कार्यालयभित्र साँघुरो र अस्तब्यस्त रहेको थुनुवा कक्षको ब्यवस्थापन देखि कार्यालय परिसरमा रहेको प्रतिक्षालय र प्रहरी चौकीहरुसम्मको ब्यवस्थापनका लागि धेरै सकरात्मक परिवर्तनहरु भएका छन् ।
यादव ढकाल लमजुङमा प्रनाउ भएर आएदेखि कार्यालयले देखिने गरी नै सकरात्मक परिवर्तन भएका छन् । केही समय अघिसम्म प्रहरी कार्यालयमा मुस्किलले ८/१० जनासम्म अट्ने पुरुष थुनुवा कक्ष रहेकोमा ढकालको सक्रियतामा अहिले २५ जनासम्म अट्न नयाँ पुरुष थुनुवा कक्षको ब्यवस्था गरिएको छ ।
त्यस्तै ५/७ जना महिला अट्न सक्ने महिला थुनुवा कक्ष अहिले १५ जनासम्म अट्ने गरी नयाँ निर्माण गरिएको छ । थुनुवा कक्षमा थुनुवाहरुलाई चिसोले नभेटोस् भनि भुइँमा पार्केटिङ गरिएको छ । थुनुवा कक्षमै चौविसै घण्टा पानी आउने गरी धारा र शौचालयको ब्यवस्था मिलाइएको छ । शौचालयलाई मार्वल र टायल लगाइ चिटिक्क पारिएको छ ।
कार्यालयभित्रका काम कारबाहीको अनुगमन गर्न थुनुवा कक्षसहित कार्यालयका महत्वपूर्ण स्थानमा सिसि क्यामरा जडान गरिएको छ । प्रनाउ कक्षबाट नियन्त्रण हुने गरी कार्यालयको भित्र र बाहिर विभिन्न स्थानमा सिसि क्यामरा जडान गरी कार्यालयमा हुने हरेक गतिविधि त्यहीँबाटै निरीक्षण र अनुगमन गर्ने ब्यवस्था मिलाइएको छ ।
प्रहरी कार्यालयभित्र हुने वैठक सेमिनार, तालिमका लागि तालिम हलको अभाव खड्किरहेका बेला अहिले प्रहरी कार्यालयभित्रै झण्डै ५० जनासम्म अट्ने सेमिनार हलको ब्यवस्था गरिएको छ ।
कार्यालयभित्र सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गरी आगन्तुक कक्षको निर्माण गरिएको छ । थुनुवाहरुलाई भेट्न आउने, कार्यालयको कामले आउने सेवाग्राही तथा विभिन्न मुद्दाको सिलसिलामा आउने आगन्तुकहरुलाई बस्नका लागि कार्यालयको प्रवेशद्वार नजिकै आगन्तुक कक्षको ब्यवस्था मिलाइएको छ ।
कार्यालय बाहिरको प्रतिक्षालयमा टेलिभिजनको ब्यवस्था गरी कार्यालयबाट हुने काम कारबाहीबारे आवश्यक जानकारी दिने ब्यवस्था मिलाइएको छ । कार्यालको गतिविधि, सेवा सुविधाबाहेक समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हुने विभिन्न गतिविधिहरु श्रब्यदृष्यमार्फत जानकारी दिने ब्यवस्था पनि मिलाइएको ढकालले जानकारी दिए ।
हार्लै मात्र कार्यालय परिसरमा प्रहरी सेवामा रही कर्तब्य पालनको सिलसिलामा ज्यान गुमाउने प्रहरीहरुको स्मृतिमा अमर प्रहरी स्मारकको निर्माण गरिएको छ । कर्तब्य पालनको सिलसिलामा लमजुङमा कार्यरत रहँदा आफ्नो ज्यान गुमाएका प्रहरीहरुको नाम स्मारकमा राखिएको छ ।
कार्यालयमा सिइजी फोनको ब्यवस्था गरिएको छ । जसबाट हरेक सूचनाहरु सहज ढंगले प्रवाह गर्न र प्राप्त गर्न सहज भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाहेक विभिन्न ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुमा समेत धेरै सकरात्मक कामहरुको शुरुवात गरिएको प्रनाउ ढकालले जानकारी दिए । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन क्वोंलासौथर गाउँपालिकाको मालिङ, सुन्दरबजार नगरपालिकाको पाउँदी ढिकमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा अस्थायी प्रहरी पोष्टको ब्यवस्था मिलाइएको छ । त्यस्तै राइनास नगरपालिकाको धमिलीकुवामा प्रहरी हवल्दारको कमाण्डमा प्रहरी विटको ब्यवस्था मिलाइएको छ ।
प्रहरी चौकीहरुको ब्यवस्थापनमा पनि आफूले काम गरेको ढकालले बताए । यातायातका साधन तथा अन्य श्रोत साधनको अभावमा प्रहरी चौकीहरुको काम कारबाहीमा समस्या आइरहेको सन्दर्भमा हाललाई बाहुनडाँडा चौकीमा मोटरसाइकलको ब्यवस्था मिलाइएको र अन्य प्रहरी चौकीहरुमा पनि सम्भव भएसम्म सवारी साधनको ब्यवस्था मिलाउन आफू लागि परेको प्रनाउ ढकालले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *