महाशिवरात्रीकाे अबसरमा ईशानेश्वरमा भब्य धार्मिक महोत्सव हुने, तयारी तीब्र

रमेशचन्द्र घिमिरे

भाेर्लेटार, माघ १६ ।
लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गत वडा नंं ७ को करापुटारमा आगामी महाशिवरात्रीको अबसरमा आयोजित बृहत धार्मिक महोत्सवको तयारी तीब्र पारीएको छ । आउँदो फागुन १६ देखि २२ गतेसम्म आयोजना गरिएको महोत्सवमा महाशिवरात्री मेलाका साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका धर्मगुरुहरुबाट प्रवचन, श्रीमद् भागवत ज्ञान महायज्ञ, रुद्री पुजन, आयोजना गरिने छ ।
ईशानेश्वर महादेव गण्डकी प्रदेशकै मुख्य तीर्थस्थलमध्येको एक हो । काठमाण्डौंको पशुपतिनाथ पछि महाशिवरात्रीमा यहाँ भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ । पवित्र माहिन्द्री नदीको तट नजिकै ईशानकोणमा फर्केका देवादीदेव महादेवको दर्शन, पूजा आरधना र दूध चढाउनले सम्पूर्ण पापबाट मुक्त भइ मोक्ष प्राप्त हुने विश्वास अनुरुप यहाँ हजारौं भक्तजन दर्शन तथा पूजा अर्चनाका लागि आउने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताए ।
त्यस्तै महाशिवरात्रीमा पवित्र भई राातभर जाग्राम बसी ठाडो बत्ती बाल्नाले सन्तान नहुनेलाई सन्तान प्राप्ती हुने धार्मिक विश्वास छ । सन्तान प्रदान गर्ने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव समेत भनिने मध्य नेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले बताए ।
नेपालकै प्रमुख धार्मिकस्थल भएकाले करापुटारको प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखेर धार्मिक महोत्सवको आयोजना गरिएको उनले बताए ।
करिब ६ सय वर्ष पहिले स्थानीय शिवदास पोख्रेलले धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पोले शिवलिङ्गस्वरुप शिला जोतिएर शिलाबाट रगत बहन गएको र हल गोरुसहित उनी पनि जलेर भष्म भएके भन्ने किंबदन्ती छ । त्यतिबेला गोरुको भष्म हुन बाँकी रहेको सिङ अझै पनि प्रमाणस्वरुप सुरक्षित रहेको स्थानीय बताउँछन् । सोही शिला रहेको स्थानमा ईशानेश्वर महादेव मन्दिर रहेको छ ।
सम्बत १४१४ मा तत्कालीन लमजुङका राजा विरनारायण शाहले यस्तो घटना थाहा पाएपछि सो स्थानमा ईशानेश्वर महादेवको मन्दिर निर्माण गरेको किंवदन्ती छ । ०७२ को विनाशकारी भुकम्पका कारण जीर्ण बनेको यो मन्दिरलाई अहिले पुननिर्माण गरी नयाँ बनाइएको छ । १ करोड २२ लाख ९० हजारको लागतमा मन्दिर पुननिर्माण गरिएको हो । मन्दिरको स्वामित्वमा १४ रोपनी जग्गा छ ।

करापुटारमा नवनिर्मित इशानेश्वर महादेव मन्दिर । तस्वीर– रामजी राना

ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको आयोजनामा हुने धार्मिक महोत्सवमा मध्यनेपाल नगरपालिकाले प्रबद्र्धकको भूमिका निर्वाह गर्दैछ । एकसातासम्म चल्ने धार्मिक महोत्सवमा प्रसिद्ध भागवत बाचक ईश्वरकृष्णजी महाराजले भागवत बाचन गर्ने कार्यक्रम छ ।
शिवरात्रीमा बेलपत्र चढाउने, भजन कीर्तन, ठाडोभाका प्रतियोगिता, ठाडो बत्ति बाल्ने, धार्मिक गन्तव्यहरुको दर्शन तथा अवलोकन लगायतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम अन्तर्गत ईशानेश्वर महादेव दर्शन, पूजा आरधना, लक्ष्यदीप तथा ठाडोबत्ती बाल्ने, सामुहिक ब्रतबन्धका साथमा त्यहाँ रहेका गणेश, पार्वती, गौरीशंकर तथा १०८ शिवलिङ्ग र जटेश्वर महादेवको दर्शन गर्न पाइने छ ।
महोत्सव मार्फत होमस्टेको प्रवद्र्धन, आर्युवेद, योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ संचालन गर्ने, इशानेश्वरदेखी नागभैरवसम्म केवुलकार संचालन गर्ने लगायतका उद्देश्य धार्मिक महोत्सवले राखेको छ ।
महोत्सवका अवसरमा करापुटारे भाकाले चिनिने लमजुङको प्रख्यात ठाडो भाकाको गायन समावेश गरीएको छ । त्यसैगरि लोपोन्मुख बालन नृत्य र सांस्कृति झाँकीका साथमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकतथा दोहोरीगीतका कार्यक्रमहरु पनि महोत्सवमा राखिएका छन् ।
महोत्सवमा गण्डकी प्रदेशस्तरीय भजन चुड्का प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान पाउनेले क्रमशः नगद ३०, २०, १० र ५ हजार पुरस्कार पाउने छन् ।
धार्मिक महोत्सवकै अवसरमा करापुटारमा दशौं करापुटार खुल्ला रनिङशिल्ड भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान पाउने टीमले क्रमशः नगद ७० हजार र ४० हजार पुरस्कार पाउने छन् । सेमीफाइनल पुग्ने थप दुई टीमका लागि १०÷१० हजार पुरस्कार राखिएको छ । उत्कृष्ट खेलाडीले रु ५ हजार, उत्कृष्ट स्पाइकरले २ हजार र उत्कृष्ट लिफ्टरले २ हजार नगद पुरस्कार पाउने छन् ।
महोत्सवमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ । छेलोमा प्रथम हुनेलाई १० र द्वितीय हुनेलाई ५ हजार पुरस्कार राखिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *