मनाङमा पुनः भारी हिमपात, जनजीवन प्रभावित, लमजुङमा पनि बर्षा

चामे, माघ २४ गते ।
पश्चिमी बायुको प्रभावका कारण अघिल्लो साता परेको हिउँ पग्न नपाउँदै हिमाल पारीको जिल्ला मनाङमा फेरी बाक्लो हिउँ परेको छ ।
सोही बायुको प्रभावका कारण गएरातीदेखि मनाङमा हिउँ पर्न थालेको हो । आज दिउसोसम्म झण्डै दुई फिट हिउँ जमिसकेको छ । मनाङ सदरमुकाम चामे लगायतका स्थानमा लगातार हिउँ परीरहेकाले जनजीवन निकै कष्टकर भएको छ ।


मनाङमा हिउँ परेपछि जाडो पनि निकै बढेको छ । जाडोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । घरभित्र आगो तापेर बस्नुको विकल्प छैन ।
गएराती करीब ४ बजेदेखि मनाङमा लगातार हिउँ पर्न थालेकोमा रोकिने छाँट देखिएको छैन । मौसम विभागले काठमाण्डौं उपत्यका लगायत देशभर लगातार पानी पर्ने र हिमाली जिल्लाहरुमा हिमपात हुने प्रक्षेपण गरेको थियो ।

मनाङकाे चामेमा रहेकाे लाेकप्रिय माविमा जमेकाे हिउँ। सबै तस्वीरहरू–जीतबहादुर काेइराला

लगातारको हिमपातका कारण मनाङ सदरमुकाम चामेमा रहेको लोकप्रिय माविको पठन पाठन प्रभावित भएको छ । हिमपातका कारण विद्यालयमा हाजिर गरी विदा दिइएको शिक्षक जीतबहादुर कोइरालाले जानकारी दिए ।
सडक, खेतवारी सबैतिर हिउँ जमेपछि बाहिर निस्कन सक्ने अवस्थै छैन, कोइरालाले भने– “यातायात चल्ने अवस्था छैन, हिँडडुल गर्न पनि समस्या भएकाले जनजिवन अस्तब्यस्तै छ ।”


लमजुङमा पनि गएरातीदेखि लगातार बर्षा भइरहेको छ । सदरमुकाम बेसीशहर लगायत जिल्लाका सबै ठाउँमा पानी परिरहेकाले केही घटेको जाडो फेरि बढेको छ । बर्षाका कारण मानिसहरु राम्ररी घरबाहिर निस्केका छैनन् ।
बर्षाका कारण सदरमुकाम बेसीशहरमा चहलपहल छैन । सवारी साधनहरु पनि कम चलेका छन् भने जिल्ला प्रशासन कार्यालय, नगरपालिका, मालपोत लगायत नागरिकको चाप बढी हुने कार्यालयहरुमा पनि सेवाग्राही खासै आएका छैनन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *