अाज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीकाे पूजा अारधना गरीँदै

लमजुङ, माघ २७ ।

अाज श्रीपञ्चमी अर्थात विद्याकी देवी सरस्वतीकाे पूजा अारधना गरी मनाइने चाड ।  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि र विवेक बढ्ने विश्वास गरीन्छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालु भक्तजनकाे भीड लागेकाे छ ।

अाजकै दिन स साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि छ । श्रीपञ्चमीमा अक्षरारम्भ गराए बालबालिकाकाे तीक्ष्ण बुद्धि हुने विश्वास गरीन्छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीकाे पहिलाे  नाम भारती हाे । उनकाे दाेस्राे नाम सरस्वती हाे । शारदादेवी, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि उनकाे पूजा अर्चना हुने गर्दछ ।

सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी अाजकाे दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी, गायक, संगीतकारहरू आ–आफ्ना विद्या तथा कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सूर्य मकर राशीमा लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख गरीएकाे छ ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । अाजकै दिन बालबालिकालाई नाक–कान छेडिदिने गरिन्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *