जमेको झरनामा ‘आइस क्लाइम्बिङ फेस्टिवल’

बेलिना थापा

लमजुङ, फागुन ६ गते ।

हिमाली जिल्ला मनाङको हुम्डेमा नेपालमै पहिलो पटक ‘आइस क्लाम्बिङ फेस्टिवल’ आयोजना गरिएको छ ।

हिमालबाट झर्दै गरेको पानी अत्याधिक चिसोका कारण जमेको ठाउँमा थप हिमपात भइरहँदा ‘आइस क्लाम्बिङ फेस्टिवल’ आयोजना गरिएको थियो । अत्याधिक चिसो मौसममा पर्यटन प्रवद्र्धन गर्न नेपाल क्लाम्बिङ टीमले फेस्टिवल आयोजना गरेको नेपाल क्लाम्बिङ टीमका अध्यक्ष विनायक जय मल्लले बताए । उनका अनुसार माइनस १० देखि १५ डिग्री सेल्सियस तापक्रम हुँदा समुद्री सतहदेखि ३ हजार २ सय मिटर उचाईको बरफ जम्ने झरनामा आइस क्लाम्बिङ गरिएको हो ।

फेब्रअरी २ देखि ११ सम्म फेस्टिवल आयोजना हो । काठमाडौंमा समापन कार्यक्रम गरी प्रमाणपत्र वितरण गरिएको अध्यक्ष मल्लले बताए। उनका अनुुसार अन्नपूर्ण हिमश्रृंखलाबाट बगेर आउने १५ वटा झरना छन् । त्यही झरनामा बरफ जमेको र सहभागिले जमेको बरफमा टेकेर माथि उक्लिएको उनले बताए । उक्त फेस्टिवलमा २ महिलासहित २० जना क्लाइम्बर सहभागि थिए । यसमा अमेरिकाका एक र नेपाली एक महिलाले सहभागिता जनाएका थिए ।

अन्तराष्ट्रिय पथ प्रदर्शक पर्वतारोहण प्रशिक्षक प्रेम गुरुङका अनुसार फेष्टिवलमा आइस क्लाइम्बिङ कोर्स, एडभेन्चर फिल्म प्रदर्शनी, फोटोग्राफी, स्थानीय संस्कृति प्रदर्शन गरिएका थिए । सहभागिले हिउँमाथि स्की खेलेका थिए । सहभागि र स्थानीयले तीर हानेका थिए । उहाँका अनुसार ५ सयदेखि १ हजारमिटर सम्मको उचाईको ६० देखि १ सय डिग्री उचाईसम्मका झरनामा क्लाइम्बिङ गरिएको थियो ।

क्याइम्बरहरुका अनुसार झरना जमेर बरफ बनेको अवस्थामा क्लाइम्बिङको लागि उपयुक्त हुन्छ । आइस क्लाम्बिङ गर्न हिउँ बन्चरो, हेलमेट, जुत्ता, क्रम्पन, डोरीको सहयोग लिनुपर्छ । लिड, मल्टिपिच, मिक्स, टपरोप गरी ४ प्रकारले क्लाइम्बिङ गर्न सकिने उनीहरु बताउँछन् । हुम्डेलाई आइस क्लाइम्बिङ स्पोट्र्स स्थलको रुपमा विकास गरिने क्लाम्बिङ टीमका अध्यक्ष मल्लले बताए । साहसिक खेलको विकास, यसप्रति आकर्षण बढाउन, आइस क्लाइम्बिङको प्रशिक्षण गराउँदै देश विदेशमा प्रतियोगितामा प्रतिपस्पर्धा गराउने उनले बताए ।

सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला हिउँदमा पनि पर्यटन प्रवद्र्धन गर्न सकिने र पर्यटक भित्र्याउन सकिने भन्दै फेस्टिवल आयोजना गरिएको अध्यक्ष मल्ले बताए । उनले भने–‘सरकारको लक्ष्य भेटाउन हामीले सहयोग गरेका हौं । हामी साहसिक पर्यटनबाट बढी मात्रामा पर्यटक भित्र्याउन चाहन्छौं ।’ नेपालकै सोलखुम्बु, दोलखालगायत जिल्लाका हिमाली भेगमा आइस क्लाम्बिङ गर्न सकिने क्लाइम्बरहरुले बताएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *