हात्तीपाइले रोग नियन्त्रणमा आएन, थप तीन बर्ष अभियान चलाइने

बेसीशहर, फागुन ७ गते ।
लमजुङमा ९ बर्षसम्म हात्तीपाइले विरुद्धको अभियान सञ्चालन गर्दा पनि यो रोग नियन्त्रणमा नआए पछि पुनः थप तीन बर्ष यस विरुद्धको अभियान सञ्चालन गर्न लागिएको छ ।
लमजुङमा आर्थिक बर्ष २०६५÷०६६ बाट हात्तीपाइले रोग विरुद्ध अभियानको रुपमा औषधी खुवाउन थालिएको हो । ९ बर्षसम्म यसको औषधी खुवाउँदा समेत यो रोग पूर्ण रुपमा निको नभएका कारण पुन यसको औषधी खुवाउन थालिएको हो ।
यस संबन्धमा सञ्चारकर्मीसंगकाे अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाइँले सर्वेक्षण अनुसार यो रोगको प्रकोप दर लमजुङमा ५.३२ प्रतिशत देखिएको बताए। जबकि समग्र देशको अवस्था १.३ प्रतिशत छ ।
हात्तीपाइलेको अभियान लगातार दुई पटक सञ्चालन गर्दा पनि नियन्त्रणमा नआए पछि अभियानमाथि नै चुनौति देखिएको छ । सन् २०२० सम्म यो रोगलाई नेपालबाट निवारण गर्ने लक्ष्य राखिएको भए पनि यो लक्ष्य हासिल गर्न नसकिने अवस्था सृजना भएको छ । अहिलेको अभियान अनुसार थप ६ बर्ष फेरि अभियान सञ्चालन हुने छ । यो अभियान सकिए पछि रोग निवारण भयो भएन भनि परीक्षण गरिने चापागाइँले बताए ।
अहिलेसम्म हात्तीपाइले रोगको औषधी स्वास्थ्य स्वयंसेविकाद्वारा वितरण गर्दै आइएकोमा अब भने दक्ष स्वास्थ्यकर्मीबाट खुवाइने भएको छ । आगामी फागुन १५ देखि शुरु हुने अभियानमा जिल्लाभरका नगर तथा गाउँपालिकामा ४ सय ७२ जना स्वास्थ्यकर्मी खटाइने चापागाइँले बताए ।
हात्तीपाइलेको औषधीले असर गर्छ भन्ने गलत दुष्प्रचारका कारण यसको औषधी सेवन नगर्ने परिपाटीका कारण पनि यसको निवारण अभियान चुनौतिपूर्ण देखिएको सामुदायिक अस्पतालका मेडिकल अफिसर हिक्मत भण्डारीले बताए । “बुझेका मान्छेले पनि गलत हल्लाका कारण औषधी खाइदिएनन्, वास्तवमा हात्तीपाइलेको औषधीले कुनै वेफाइदा हुँदैन ।” डा. भण्डारीले बताए ।
हात्तीपाइलेको औषधी दुई बर्ष मुनिका बालबालिका, सिकिस्त विरामी, दीर्घरोगी, मुटु, कलेजो, मृगौला र छारे रोगीले भने खान हुँदैन ।
हात्तीपाइले रोग लागेको ९ महिना पछि मात्र यसको लक्षण देखिने र मानिसबाहेक अन्य प्राणीमा यो रोग नलाग्ने पनि बताइन्छ । यो रोग लामखुट्टेले टोकेर मात्र सर्ने र ज्वरो आउने, टाउको दुख्ने, कफ आउने र शरीर कमजोर हुने यो रोगको लक्षण हुन् । यो रोग छिप्पिदैं गएपछि हात खुट्टा सुन्निने, पुरुषको अण्डकोष र महिलाहरुको स्तन, योनी सुन्निदै जाने जस्ता लक्षण देखा पर्ने स्वास्थ्यकर्मी बताउछन् ।
लमजुङमा हाल राइनास नगरपालिकामा यसको प्रकोप देखिए पनि पुरै जिल्ला रोगको जोखिममा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको डिइसी चक्की र अल्बेन्डाजोल औषधी स्वास्थ्यकर्मीको सल्लाहमा ६ बर्षसम्म बर्षको १ पटक खाने गरेमा यो रोग निको हुने र भविष्यमा रोग लाग्ने सम्भावना पनि नरहने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *