शिवरात्रीका अवसरमा करापुटारमा भब्य धार्मिक तथा सांस्कृतिक मेला, भक्तजनहरूकाे घुइँचाे

भाेर्लेटार, फागुन २० ।
महाशिवरात्रीकाे पावन अवसरमा लमजुङको करापुटारमा भब्य धार्मिक मेला लागेकाे छ । लमजुङकाे मध्यनेपाल नगरपालिका अन्तर्गत वडा नंं ७ को करापुटार फाँटमा रहेकाे इशानेश्वर महादेव मन्दिरमा शिवरात्रीकाे मेला लागेकाे हाे । यस बर्षकाे मेलामा लाखाैं भक्तजन करापुटार अाइपुगेका छन् । यही फागुन १७ देखि यहाँ  महाशिवरात्री मेलाका साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका धर्मगुरुहरुबाट प्रवचन, श्रीमद् भागवत ज्ञान महायज्ञ, रुद्री पुजन, आयोजना गरिएकाे छ ।

इशानेश्वर महादेव मन्दिर र समग्र मध्यनेपाल नगरपालिकालाइ धार्मिक क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले  मध्यनेपाल इशानेश्वर धार्मिक महाेत्सव अायाेजना गरिएकाे मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले जानकारी दिए ।

ईशानेश्वर महादेव गण्डकी प्रदेशकै मुख्य तीर्थस्थलमध्येको एक हो । काठमाण्डौंको पशुपतिनाथ पछि महाशिवरात्रीमा यहाँ भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ । पवित्र माहिन्द्री नदीको तट नजिकै ईशान कोणमा फर्केका देवादीदेव महादेवको दर्शन, पूजा आरधना र दूध चढाउनले सम्पूर्ण पापबाट मुक्त भइ मोक्ष प्राप्त हुने विश्वास अनुरुप सदियाैंदेखि यहाँ हजारौं भक्तजन दर्शन तथा पूजा अर्चनाका लागि आउने गरेकामा यस बर्ष अघिल्लाे बर्षकाे तुलनामा दाेब्बर श्रद्धालु भक्तजनले दर्शन गरेका छन् । अाज शिवरात्रीका दिन यहाँ झण्डै एकलाख भक्तजन अाएकाे अनुमान छ ।

इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रीकाे पावन दिनमा पवित्र भई राातभर जाग्राम बसी ठाडो बत्ती बाल्नाले सन्तान नहुनेलाई सन्तान प्राप्ती हुने धार्मिक विश्वास छ । सन्तान प्रदान गर्ने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव समेत भनिने मध्य नेपाल नगरपालिकाका प्रमुख पाण्डेले बताए । नेपालकै प्रमुख धार्मिकस्थल भएकाले करापुटारको प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखेर धार्मिक महोत्सवको आयोजना गरिएको उनले बताए ।

शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने मात्र हाेइन, पछि सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्नेहरु मेलामा आउने गरेका स्थानीय कुशुमाकर मा.विका शिक्षक बासुबाबु पाण्डेले जानकारी दिए ।

करिब ६ सय वर्ष पहिले स्थानीय शिवदास पोख्रेलले धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पोले शिवलिङ्गस्वरुप शिला जोतिएर शिलाबाट रगत बहन गएको र हल गोरुसहित उनी पनि जलेर भष्म भएके भन्ने किंबदन्ती छ । त्यतिबेला गोरुको भष्म हुन बाँकी रहेको सिङ अझै पनि प्रमाणस्वरुप सुरक्षित रहेको स्थानीयबासी तथा इशानेश्वर महादेव मन्दिर संरक्षण तथा क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताए । उनका अनुसार सोही शिला रहेको स्थानमा ईशानेश्वर महादेव मन्दिर रहेको छ ।

सम्बत १४१४ मा तत्कालीन लमजुङका राजा विरनारायण शाहले यस्तो घटना थाहा पाएपछि सो स्थानमा ईशानेश्वर महादेवको मन्दिर निर्माण गरेको किंवदन्ती छ । ०७२ को विनाशकारी भुकम्पका कारण जीर्ण बनेको यो मन्दिरलाई अहिले पुननिर्माण गरी नयाँ बनाइएको छ । १ करोड २२ लाख ९० हजारको लागतमा मन्दिर पुननिर्माण गरिएको हो । मन्दिरको स्वामित्वमा १४ रोपनी जग्गा छ । मन्दिर वरीपरीकाे जग्गा खरीद गरी मन्दिरकाे विकासका लागि बृहत याेजना बनाउने तयारी गरीएकाे छ ।

स्कन्धपुराण अन्तरगत श्रीस्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार हाल इशानेश्वर महादेव मन्दिर रहेकाे स्थानमा सत्ययुगमा सतीदेवीकाे दाया तिघ्रा पतन भएकाे थियाे । त्यस पावन भूमिमा तारकेश्वर महादेव उत्पति शिवशक्ति स्वरूपले रहे ।  पृथ्वीमण्डलमा महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित भएकाले तारकेश्वर महादेवलाई ईशानेश्वरस्वरुप भनी ईशानेश्वर महादेव नामाकरण गरिएको हो मानिन्छ ।

ईशानेश्वर महादेव मन्दिरकाे बिकासका लागि क्षेत्र विकास समिति क्रियाशिल छ । समितिकै आयोजनामा धार्मिक महोत्सव अायाेजना गरिएकाे हाे । यसमा मध्यनेपाल नगरपालिकाले प्रबद्र्धकको भूमिका निर्वाह गरिरहेकाे छ । फागुन २३ सम्म चल्ने धार्मिक महोत्सवमा प्रसिद्ध भागवत बाचक ईश्वरकृष्णजी महाराजले भागवत बाचन गरिरहेका छन् । महाे्त्सवमा शिवरात्रीकाे दिनसम्म १६ लाख भन्दा बढी दान संकलन भइसकेकाे छ ।

महाशिवरात्रीका अवसरमा अाज बिहानैबाट इशानेश्वर महादेव मन्दिरमा बेलपत्र चढाउने, भजन कीर्तन, ठाडोभाका प्रतियोगिता, ठाडो बत्ति बाल्ने, धार्मिक गन्तव्यहरुको दर्शन तथा अवलोकन लगायतको व्यवस्था मिलाइएकाे थियाे ।  ईशानेश्वर महादेव दर्शन, पूजा आरधना, लक्ष्यदीप तथा ठाडोबत्ती बाल्ने, सामुहिक ब्रतबन्धका साथमा त्यहाँ रहेका गणेश, पार्वती, गौरीशंकर तथा १०८ शिवलिङ्ग र जटेश्वर महादेवको दर्शन गरेर हजाराैं दर्शनार्थीले सन्ताेष मानेका छन् ।

यस धार्मिक महोत्सव मार्फत होमस्टेको प्रवद्र्धन, आर्युवेद, योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ संचालन गर्ने, इशानेश्वरदेखी नागभैरवसम्म केवुलकार संचालन गर्ने लगायतका उद्देश्य राखिएकाे छ । यसै महोत्सवका अवसरमा करापुटारे भाकाले चिनिने लमजुङको प्रख्यात ठाडो भाकाको गायन समावेश गरीएको छ । त्यसैगरि लोपोन्मुख बालन नृत्य र सांस्कृति झाँकीका साथमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकतथा दोहोरीगीतका कार्यक्रमहरु पनि राखिएका छन् ।

महोत्सवमा गण्डकी प्रदेशस्तरीय भजन चुड्का प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान पाउनेले क्रमशः नगद ३०, २०, १० र ५ हजार पुरस्कार पाउने छन् ।

धार्मिक महोत्सवकै अवसरमा करापुटारमा दशौं करापुटार खुल्ला रनिङशिल्ड भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान पाउने टीमले क्रमशः नगद ७० हजार र ४० हजार पुरस्कार पाउने छन् । सेमीफाइनल पुग्ने थप दुई टीमका लागि १०÷१० हजार पुरस्कार राखिएको छ । उत्कृष्ट खेलाडीले रु ५ हजार, उत्कृष्ट स्पाइकरले २ हजार र उत्कृष्ट लिफ्टरले २ हजार नगद पुरस्कार पाउने छन् ।

महोत्सवमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ । छेलोमा प्रथम हुनेलाई १० र द्वितीय हुनेलाई ५ हजार पुरस्कार राखिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *