लमजुङमा बालबिबाह रोक्न प्रहरीकाे सक्रियता

बेलिना थापा

बेसीशहर, फागुन २२ गते ।

लमजुङको बेंसीसहर नगरपालिका ३ की १३ बर्षीया किशोरी र ६ का २२ बर्षीय युवकबीच माघ २४ गते बिवाह तय भयो ।

वालबिवाह हुन लागेको भन्दै किशोरीका छिमेकीले २३ गते प्रहरीलाई खबर ग¥यो । प्रहरीले किशोरीसहित अभिभावकलाई बोलाएर वालबिवाह नगर्न र गरेमा कानुन लाग्ने बताएपछि बिवाह रोकियो । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका केन्द्र प्रमुख प्रहरी सहायक निरीक्षक नन्दकुमारी अधिकारीले भन्नुभयो–‘बिवाह गर्न लागेकी किशोरी र अभिभावकलाई बोलायौं । सम्झाई बुझाई गरेपछि विवाह रोकियो ।’

माघ दोस्रो साता बेंसीसहर नगरपालिका ११ की १८ बर्षीया किशोरी र अर्का साँढे १८ बर्षकी किशोरीको बिवाह पनि प्रहरीले रोक्यो । बाल हेल्पलाइन काठमाडौंबाट विवाह हुन लागेको जानकारी आएपछि प्रहरीले घरमै पुगेर बिवाह रोकेको प्रसनि अधिकारीले बताउनुभयो । उहाँका अनुसार यसअघि मंङ्सिरमा बेंसीसहर नगरपालिका ७ की १८ बर्षीया किशोरीको बिवाह हुन जानकारी स्थानीयले गरेपछि प्रहरीले किशोरी र अभिभावकलाई झिकाई सम्झाई बुझाई गरेपछि उक्त बिवाह पनि रोकियो ।

लमजुङमा वालबिवाह हुँदै गरेको जानकारी पछिल्लो समय प्रहरीमा आउन थालेको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रहरी सम्बन्धितका घर पुग्नुका साथै व्यक्ति र अभिभावकलाई झिकाएर सम्झाउने गरिएको छ । त्यसपछि हुन लागेको वालबिवाह रोकिएको उहाँले बताउनुभयो । ‘माघ महिनामा मात्र तीनवटा यस्ता बिवाह रोक्यौं, जसले उमेर नपुगी बिवाह गर्दै थिए’ उहाँले भन्नुभयो, ‘उमेर ढाँट्नेदेखि लिएर ठाउँ ढाँट्ने, यथार्थ नभन्ने गरेका थिए । सम्झाएपछि बिवाह गर्न किशोरी र अभिभावक पछि हटे ।’

वालबिवाह रोक्न प्रहरीले स्थानीय आमा समूह, युवा क्लब, बाल क्लब, जनप्रतिनिधिलगायतसंग समन्वय गर्दै आएको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार वालबिवाह गर्न लागेको जानकारी आउनुले पनि वालबिवाह गर्नेको संख्या अझ धेरै हुन सक्ने अनुमान गर्न सकिन्छ । विशेष गरी जनजाति र दलित समुदायमा वालबिवाह रहेपनि पछिल्लो समय ब्राह्मण–क्षेत्री समुदायमा समेत वालबिवाह हुने गरेको अनौपचारिक जानकारीमा आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘वालबिवाहका घटना धेरै हुन सक्छन् । केहि शिक्षित ठाउँ र सहरबजार नजिकबाट जानकारी आएको छ । गाउँबाट यस्ता जानकारी आएको छैन । ग्रामीण भेगमा वालबिवाह भएको छैन भनेर भन्न सकिँदैन ।’

नेपालको कानुनले २० बर्षभन्दा मुनी बिवाह गर्न पाइँदैन । यसअघि १८ बर्षभन्दा मुनी कसैले बिवाह गर्न पाइँदैनथ्यो । तर, गाउँघरमा मागेर, भागेर र करकापमा वालबिवाह हुँदै आएको थियो । प्रनाउ ढकालका अनुसार कानुनी सचेतना, स्वास्थ्य सम्बन्धि ज्ञान अभाव, लहैलहै, जबर्जस्तीलगायत कारण वालबिवाह हुने गरेको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक साथै मोबाइल फोनलगायतले वालबिवाह बढाएको आँकलन गर्न सकिन्छ ।

प्रहरी कार्यालयका अनुुसार चालु आर्थिक बर्षमा मात्रै ४ वटा वालबिवाह रोकिएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा एउटा वालविवाहको मुद्दा परेको थियो । तर, वालबिवाह सम्बन्धि अन्य जानकारी नआएको प्रहरीले बताएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा वालबिवाह सम्बन्धि मुद्दा परेन । आर्थिक बर्ष ०७२÷०७३ मा भने एउटा मुद्दा परेको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *