बेराेजगार बढाउने शिक्षा नीति बदल्नुपर्दछ ःमुख्यमन्त्री गुरुङ

शान्ता कमली
बेसीशहर, फागुन २६ गते ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान शिक्षा नीतिका कारण देशमा शैक्षिक बेरोजगारी बढ्दै गएकाले बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा नीति बदल्नु पर्नेमा जोड दिएका छन् ।
लमजुङको सदरमुकाम बेसीशहरस्थित अर्थली प्याराडाइज आवसिय माविको रजत महोत्सव उद्घाटन गदै मुख्यमन्त्री गुरुङले भने – “हाम्रो व्यवहार, आवश्कताहरू बदलिए तर, यो सबै बदलिएपछि हाम्रो शिक्षा नीति पनि बदल्नुपर्छ । ‘गण्डकी प्रदेशमा अहिले भएको शिक्षा नीतिको सट्टा रोजगार मुलक शिक्षा अबलम्बन गर्ने बेला आएको छ ।’ ‘त्यसैले हामीले प्रदेशकै क्षेत्रभित्र रहनेगरी त्यस्तै महाविद्यालय, प्राविधिक विश्व विद्यालय खोलौँ भनेका छौँ ।”– उनले भने ।
गुरुङले सीपविनाको शिक्षाको औचित्य नभएको बताए । उनले भने प्राविधिक शिक्षाविना कुनै पनि व्यक्ति सक्षम हुन सक्दैन । पाँच वर्षमा हरेक पालिकामा सीपसहितको शिक्षा सुरु गर्ने प्रदेश सरकारको लक्ष्य बताउँदै मुख्यमन्त्री गुरुङले सरकारले जागिर दिन नसके पनि त्यही सीपमूलक शिक्षाले नागरिकहरुले आफ्नो जीविकोपार्जन गर्न सक्ने शिक्षा आजको समयमा अपरिहार्य हुने उनको ठम्याइ थियो  ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली बेरोजगार बस्नुपरेको स्मरण गर्दै शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । उनले नैतिक शिक्षाको टडकारो खाँचो रहेको बताउँदै रोजगारमूलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले ,नेपाली काग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *