लमजुङ महाेत्सवमा दर्शक बढ्दै, काराेवार पनि बढ्दाे

सरिता थापा घिमिरे
बेसीशहर, फागुन २८ गते ।
गत फागुन १९ गतेबाट शुरु भएको छैटौं लमजुङ महोत्सव बुधवार सम्पन्न हुँदैछ ।
शुरुका दिनमा मौसम लगायतका कारण महोत्सवमा दर्शकको उपस्थिति केही कमी देखिए पनि पछिल्ला दिनहरुमा महोत्सवमा दर्शकहरुको चाप बढ्दै गएको छ । हेलिकोप्टर दुर्घटनाका कारण पर्यटन मन्त्रीको निधनबाट देशै शोकमग्न भएकाले महोत्सव निर्धारित तिथिमा शुरु गर्न नसकिँदा महोत्सवका लागि आमन्त्रण गरिएका गायक तथा कलाकाहरुको समयतालिका नै प्रभावित हुँदा महोत्सवमा दर्शकको चाप केही कम भएको महशुस गरिएकोमा पछिल्ला दिनमा कलाकारहरुको उपस्थितिले महोत्सवमा दर्शकहरुको राम्रै उपस्थिति देखिन थालेको छ ।
महोत्सवमा ख्याति कमाएका शिव परियार, प्रमोद खरेल, खुमन अधिकारी, पुश्कल शर्मा, बिमा कुमारी दुरा, शैलेन्द्र सिम्खडा, मेलिना राई, राज सिग्देल मञ्जु पौडेल, प्रताप दास, टंक बुढाथोकी, बालकलाकार अशोक दर्जी जस्ता कलाकारले दर्शकको भरपुर मनोरञ्जन दिलाएका छन् ।
शुक्रबार गजलकार प्रकट पंगेनी “शिव”, थकित “यात्री” तथा रुपिन्द्र प्रभावी लगायतका गजलले महोत्सव रंगीन बन्यो । गीत संगीतमा रमाइरहेका दर्शकलाई पंगेनी, यात्री र रुपिन्द्रका गजलले थप रोमाञ्चित बनाइदियो ।
महोत्सव शुरु हुँदा स्टल तथा रमाइलो मेलाको तयारी पुरा हुनै सकेको थिएन । त्यसलाई महोत्सवको असफलतासंग पनि जोडिएको पछिल्ला दिनमा दर्शकहरु महोत्सवमा ओइरिँदा त्यसो भन्नेहरु पनि चुप लाग्न बाध्य भएका छन् ।
महोत्सव स्थलमा राखिएका स्टलहरुमा समेत राम्रो ब्यापार भएको सरोकारवालाले बताएका छन् । पोखराबाट तयारी पोशाकको ब्यापार गर्न आएका मेहमुद अन्सारीले राम्रो ब्यापार भइरहेको प्रतिक्रिया दिएका छन् ।“शुरुको दिन त खासै ब्यापार भएन, हावा चल्यो, पानी पनि पर्ला जस्तो भयो, तर पछिका दिनहरुमा ब्यापार राम भइरहेको छ”–उनले भने ।
स्टलमा ब्यापार गर्न आएकाहरुले बताए अनुसार राम्रा कलाकार आएको दिनमा झनै राम्रो ब्यापार हुने गरेको छ । यस अघि शिव परियार, प्रमोद खरेल जस्ता कलाकार आएको दिन स्टलहरुमा राम्रो ब्यापार भएको थियो । मंगलबार पशुपति शर्मा आउँदा झनै राम्रो ब्यापार हुनेमा उनीहरु आशावादी छन् ।
महोत्सव अन्तर्गत फागुन २८ गते ख्यातिप्राप्त गायक पशुपति शर्माका अलवा संजिवसिं राना, शान्ति सुनार, निशा लामा लगायतका कलाकारले आफ्नो प्रस्तुति दिने छन् ।
त्यस्तै कृष्णमान श्रेष्ठले ठाडोभाका लगायतका गीत प्रस्तुत गर्ने छन् ।
त्यस्तै गृहणी नृत्य प्रतियोगिताको अन्तिम राउण्ड पनि मंगलबार हुने भएको छ । मंगलबारको राउण्डमा अलिशा आले, अन्जु गुरुङ, दीपा सुनार र शान्ति तामाङले प्रतिस्पर्धा गर्ने छन् ।
महोत्सवमा यस पटक पनि विभिन्न जनजातिका घरहरु दर्शकको आकर्षणका केन्द्र बनेका छन् । लमजुङमा बसोबास गर्ने गुरुङ, मगर, तामाङ, भुजेल, नेवार, कुमाल, ह्याल्मो र चेपाङ जातिका परम्परागत घरहरु महोत्सवस्थलमा बनाइएका छन् । ती घरहरुमा सम्बन्धित जनजातिका संस्कार संस्कृति झल्कने कुराहरु राखिएकाले दर्शकहरुलाई त्यसतर्फ खिचिरहेको छ । ती परम्परागत घरमा गएर अवलोकन गर्ने र फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।
आयोजक लमजुङ उद्योग बणिज्य संघका पूर्व अध्यक्ष तथा पर्यटन तथा संग्राहलय उपसमितिका संयोजक रामकुमार श्रेष्ठका अनुसार महोत्सव मुल आयोजक समितिले ती जातीय घरहरुमा विभिन्न जातजातिहरुले दैनिक जीवनमा प्रयोगमा ल्याउने सामाग्री तथा संस्कृति झल्काउने खालका सामाग्रीहरु पनि सजाएर राखिएका छन् ।
लमजुङ पर्यटकिय जिल्ला भएकाले विभिन्न जातजातिहरुको कला, संस्कृति, भाषा, संस्कृति अनि भेषभुषाको जगेर्ना गर्न महोत्सवमा कार्यक्रम गरिएको पनि लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजंग गुरुङको भनाई छ । उनले भने यी विषयहरु पर्यटनसँग जोडिएकोले परम्परागत वस्तुहरु पर्यटकलाई देखाएर जिविकोपार्जन गर्न सकिने उनको भनाई छ ।
स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन ः नागरिक समृद्धिका लागि लगानी मैत्री वातावरण’ भन्ने नाराका साथ १९ गतेबाट सुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । महोत्सवको समापनका लागि नेपाली सेनाका प्रधान सेनापति बेसीशहर आउर्ने कार्यक्रम छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *