जलविद्युत् आयोजना निर्माणमा नीतिगत चुनौती ः इपान उपाध्यक्ष पाण्डे

बेलिना थापा

बेसीशहर, फागुन ३० ।

 

लमजुङको बेंसीसहरमा जलविद्युत् उत्पादनमा कार्यान्वयन मैत्री वातावरण सम्बन्धी कार्याशाला गोष्ठी सञ्चालन गरिएको छ । छैटौं लमजुङ महोत्सवको अवसरमा बुधबार कार्यक्रम सञ्चालन गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष कुमार पाण्डेले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै पाण्डेले जलविद्युत् आयोजना निर्माणमा नीतिगत चुनौती रहेको बताए । आयोजना निर्माण प्रक्रियाको लागि नीतिगत अस्पष्टता भएकाले कार्य प्रगतीमा ढिलाई भएको भन्दै नीतिगत व्यवस्था संसोधन गर्नुपर्ने माग उनले राखे । ‘विद्युत ऐन २०४९ कै छ । अहिलेसम्म संसोधन भएको छैन’ उनले भने ‘नीजि क्षेत्रको लगानी कम हुन्छ भनेर ल्याएको ऐन अव संसोधन हुनुपर्छ । जलविद्युतमा नीजि क्षेत्रको लगानी धेरै अगाडि छ ।’

उपाध्यक्ष पाण्डेले नीतिगत चुनौतीका साथै प्रशासनिक चरणमा निर्णयमा ढिलासुस्ती, पारदर्शी नभएको, अन्तर मन्त्रालयबीचको समन्वय कम भएको गुनासाे गरे । नेपालमा उत्पादित विद्युतमा नेपाल विद्युत प्राधिकरणको एकल अधिकार भएकाले बजार व्यवस्थामा कमजोर रहेको उनकाे ठम्माइ छ । उनले जलविद्युत आयोजना निर्माणका लागि बनेको जग्गा प्राप्ति ऐन अहिले पर्याप्त नभएको भन्दै एउटै कामका लागि बषौं कुनुपर्ने बाध्यता लगानीकर्ताले बेहोर्नुपरेको बताए । नेपालमा प्रसारण लाइन तथा सबस्टेशन पर्यप्त नभएकाे, गुरु योजना अनुसार निर्माण हुन नसकेकाे, प्रसारण लाइन तथा सबस्टेशन निर्माणमा जग्गा प्राप्तिको चरम समस्या, बन विभाग तथा मन्त्रालयको झन्झटिलो ब्यवस्था, स्थानीयको अवरोध, नीजि लगानी लाई प्रसारण लाइन र सबस्टेशन निर्माणमा नसमेटिएका जस्ता समस्या उनकाे कार्यपत्रमा उल्लेख थिए ।

पाण्डेले हाल नेपालमा राष्ट्रियस्तरमा  एक हजार चार मेगावाट क्षमताका ७५ वटा आयोजना सञ्चालनमा रहेका जानकारी दिए । उनका अनुसार निर्माणधीन अवस्थाका गण्डकी प्रदेशमा चारसय ६४ मेगावाटका २४ आयोजना र लमजुङमा एकसय ३८ मेगावाटका ७ आयोजना रहेका पनि बताए । राष्ट्रियस्तरमा अध्ययनमा रहेका १७ हजार ९ सय ७७ मेगावाटका २ सय ९१, गण्डकी प्रदेशमा ३ हजार ७ सय २२ मेवागाटका ९५ आयोजना रहेका जानकारी उनले दिए । उनका अनुसार लमजुङमा १ सय ५५ मेगावाटका १५ आयोजना छन् ।

पुर्वनिर्माण तथा निर्माणमा रहेका राष्ट्रियस्तरमा ६ हजार १ सय ८२ मेगावाटका २ सय २४, गण्डकी प्रदेशमा २ हजार ७० मेगावाटका ३९ र लमजुङमा ८ सय ९१ मेगावाटका ९ आयोजना छन् । यसरी हेर्दा राष्ट्रियस्तरमा २५ हजार १ सय ६३ मेगावाटका ५ सय ९० आयोजना, गण्डकी प्रदेशमा ६ हजार २ सय ५६ मेगावाटका एक सय ५८ र लमजुङमा १ हजार १ सय ८४ मेगावाट क्षमताका ३१ वटा जलविद्युत आयोजना रहेका छन् ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले लमजुङ जिल्लामा जलविद्युतमा लगानी गर्न सुरक्षित रहेको र जिल्लामा लगानीकर्ता भित्र्याउनुपर्ने धारणाा राखे । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले व्यक्तिगत भन्दा पनि सिस्टमा रहेर लगानीकर्ताले काम गर्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, मस्र्याङदी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवीनराज कुइँकेललगायतले साे अवसरमा बाेलेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *