पर्यटकीय भुजुङ गाउँ पूर्ण सरसफाई वडा घाेषणा

बेसीशहर, फागुन ३० गते ।

लमजुङकाे क्व्होँलासाैंथर गाउँपालिका वडा नं. ४ भुजुङ पूर्ण सरसफाई वडा घाेषणा भएको छ ।

सरसफाईका ६ वटा सूचक पूरा गरेपछि भुजुङलाई बुधबार धुमधामका साथ पूर्ण सरसफाई गाउँ घोषणा गरिएको हाे । भुजुङकाे ठाँटीमा बुधवार एक भब्य समाराेहबीच वडालाइ पूर्ण सरसफाइ गाउँ घाेषणा गर्दै गर्दा गाउँलेहरू निकै खुशी देखिन्थे । खुशीयालीमा उनीहरूले पुगेका पाहुनाकाे भब्य स्वागत गरे, नाचे गाए । जिल्ला समन्वय समिति लमजुङका संयाेजक लाेकराज पाण्डेले भुजुङ गाउँ पूर्ण सरसफाइ गाउँ भएकाे घाेषणा गरे । उनले पर्यटकी गाउँकाे छवि बनाएकाे भुजुङ पूर्ण सरसफाइ गाउँ भएपछि पर्यटन थप फस्टाउने अाशा गरे । उनले  पाण्डेले सफा गाउँ नै पर्यटनको आधार भएको भन्दै  सफा गाउँ पर्यटकले रुचाउने भएकाले सरसफाईमा सवै एकजुट हुनुपर्ने बताए ।

क्व्होँलासाैंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले सरसफाइमा ध्यान दिए स्वास्थ्य भइने हुनाले सरसफाइकाे महत्व अधिक रहेकाे बताए । शिक्षा, सरसफाई र वातावरणकाे सुधारमा गाउँपालिकाले योजना बनाएर अघि बढेकाे जानकारी दिए

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र अायाेजना एक्यापका केन्द्रीय आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटन प्रवर्द्धनका लागि सरसफाई अत्यन्त अत्यावश्यक रहेको बताउँदै त्यस क्षेत्रकाे सरसफाइकाे क्षेत्रमा एक्यापले चलाएकाे अभियानकाे चर्चा गरे । सरसफाईयुक्त गाउँ बनाएर पर्यटकीय गाउँ बनाउने नागरिकको अभियानमा हाम्रो एक्यापले हरदम सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि रघुनाथ गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाइँ, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङ, युम्बो विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङ लगायतले सरसफाइकाे महत्वका बारेमा प्रकास पारेका थिए । कार्यक्रम वडा नंं ४ का वडाअध्यक्ष तथा वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष खिमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँमा स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले सफा र स्वच्छ घर अभियान संचालन गरिएकाे थियाे ।अभियान अन्तर्गत भुजुङमा रहेका करीब ४ सय घरधुरीमा सरसफाईका सूचक पूरा भएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए । उनका अनुसार सरसफाईका सूचकअनुसार स्थनीयले शौचालयको प्रयोग, सावुनपानीले हात धुने बानी, सरसफाईयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाई र वातावरणीय सरसफाईमा ध्यान दिएका छन् । क्व्होलासोंथर गाउँपालिकाका ९ वडामध्ये भुजुङसहित ३ वडा पूर्ण सरसफाई गाउँ घोषणा भएका छन् ।

खानेपानी तथा सरसफाई इकाई कार्यालय लमजुङका प्रमुख बामदेव पौडेलले जिल्लालाई खुला दिसामुक्त बनाएसंगै सरसफाईको अभियानलाई तीब्र पारिएको जानकारी दिए ।

तस्वीर साैजन्यः अाश गुरूङ

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *