आयआर्जन गर्न मनाङका कैदीबन्दीलाई सीप सिकाइँदै

बेलिना थापा
बेसीश्हर, चैत ३ गते ।
हिमाली जिल्ला मनाङको कारागारमा रहेका कैदीबन्दीको सीप विकास गरी आयआर्जन गर्न हस्तकला तालिम सञ्चालन गरिएको छ ।
तालिम सञ्चालनसंगै कारागारमा बस्दै आएका कैदीबन्दी खेर गएको समयको सदुपयोग गर्दैै सीप विकासतर्फ लागेका छन् । उनीहरुले बास तथा निगालोबाट निर्माण गरिने सामाग्री बनाउन सिक्दैछन् । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, चामे गाउँपालिका र कारागार कार्यालयको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो । घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका प्रमुख प्रदिप न्यौपानेले कैदीबन्दीको सीप विकास गरी आयआर्जनतर्फ अघि बढाउन तालिम सञ्चालन गरेको बताए ।
उहाँले भन्नुभयो–‘कारागारमा बसेका कैदीबन्दीको समय खेर गइरहेको छ । यो समयमा उनीहरुलाई सीप दिन सक्यौं भने आम्दानी गर्छ सक्छन् । नराम्रा कुरा सोच्दैनन् । उनीहरुको आचरण सुधार हुँदै जान्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले हस्तकला तालिमले कैदीबन्दीलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए । उनले भने– ‘यहाँ धेरै होटल छन् । पर्यटक आउँछन् । बनाएका सामाग्री पर्यटकलाई बेच्न सकिन्छ । कतिले होटलमा सजावटको रुपमा राख्छन् । यसबाट रकम आर्जन हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले कैदीबन्दीले सीपमूलक तालिम लिएर आयआर्जनतर्फ लाग्नुपर्ने बताउनुभयो । ‘फुर्सदको समयमा सीप सिक्नुपर्छ । हातमा सीप भयो भने कारागार भित्रै पैसा कमाउन सकिन्छ’ उनले भने । ‘यसका लागि तालिम सञ्चालन भएको छ । तालिमबाट सिकेर व्यवहारमा उतार्न आवश्यक छ ।’
मनाङ कारागारका जेलर शैलेन्द्रकुमार चौधरीका अनुसार ४५ दिने बासको हस्तकला सम्बन्धी तालिममा कैदीबन्दीले बाँसबाट मुढा, सजावटका सामान, ¥याक निर्माण गर्न सिक्नेछन् । यस्तै निगालोबाट कुर्सी, टेबललगाय बनाउन सिक्नेछन् । तालिममा १५ जना कैदीबन्दी सहभागि छन् ।
बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कैदीबन्दीले हस्तकलाका सामाग्री बनाउन सिक्दैछन् । यसबाट आयआर्जन र रोजगारको अवसर सिर्जना हुने जेलर चौधरीले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *